जापानको हनेडा एयरपोर्टमा मंगलबार साँझ दुई जहाज ठोक्किन पुग्दा कम्तीमा ५ जनाको ज्यान गएको छ।
ज्यान गुमाउने मानिसहरूमा पाँचैजना कोस्टगार्ड जहाजमा सवार अधिकारी थिए। उनीहरू भूकम्पप्रभावित क्षेत्रमा राहत लैजान उड्ने तयारीमा थिए।
जुन जहाजसँग कोस्ट गार्डको जहाज ठोक्किन पुग्यो, त्यो एयरबस ए-३५० थियो। यस जहाजमा ३७९ यात्रु थिए। जब यो विमान अवतरण भयो तब यसलाई आगोको लप्काले लपेट्यो।
जलिरहेको जहाजको सुरुवाती तस्बिर हेर्दा यात्रुको चिन्ता बढेको थियो। तर यात्रुलाई पनि केही भएको आशंकाबीच सबै ३७९ जनालाई नै सकुशल निकालियो।
कसरी भयो सम्भव?
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यतिधेरै यात्रुको उद्धारका क्रममा कुनै किसिमको अवरोध भएन। अर्कातिर उद्धारको विधिले पनि प्रभावकारी काम गर्यो।
कोस्टगार्डको जहाजमा सवार ६ अधिकारी सोमबार आएको भूकम्पप्रभावितहरूका लागि राहतका लागि जाँदै थिए। तर ६ मध्ये ५ लाई उनीहरूको भाग्यले साथ दिएन।
यात्रुवाहक जहाजमा १७ वर्षीय स्विडे एन्टनले भनेका छन्, ‘जसै जहाज रनवे मा आइपुग्यो, त्यसको मिनेट नबित्दै जहाजभित्र धुवाँ भरिन पुग्यो। क्याबिनमा भरिएको धुवाँले श्वास फेर्न मुस्किल भएको थियो। हामी विमानको प्यासेजमा सुत्यौँ। त्यही बेला आपतकालीन ढोका खुलेर बाहिरतिर दौडिएर गयौँ।’
उनले अचानक आपत् आइ लागेपछि कहाँ भाग्ने सोच्न पनि नपाएको बताए। ‘हामीलाई थाहा थिएन, कहाँ जाने तर हामी दौडिरह्यौँ। त्यसबेलाको अवस्था अस्तव्यस्त थियो, सबैले ज्यान जोगाउनेबाहेक अरु सोचेका थिएनन्।’
अर्का यात्रु सातोषी यमाकेले रनवेमा आएको केहीबेरमै जहाज एकातर्फ झुकिसकेको महसुस आफूहरूले गरेको सुनाए।
एक महिला यात्रुले रनवेमा झर्नेबित्तिकै विमानमा धुवाँले अँधेरो भएको सुनाइन्। धुवाँले गुम्सिँदा जहाजको क्याबिन धेरै तातो भइसकेको थियो। उनले आफूले ज्यानको माया नै मारिसकेको अनुभव सुनाइन्।
जहाजमा सवार एक यात्रुले धुवाँ भरिएको अवस्थामा बाहिर निस्किन एकदमै कठिनाई भएको सुनाए। उनका अनुसार जहाजका क्याबिन क्रुले जहाजको पछिल्लो र बीचको ढोका खुल्न नसकेको बताएपछि तनाव भएको थियो। उनीहरूसँग अगाडिको मात्रै ढोकाबाट बाहिर निस्किने विकल्प थियो।
तस्बिर र भिडिओमा देखिएअनुसार जहाजबाट आपतकालीन उद्धारका क्रममा यात्रुलाई उतार्नका लागि चिप्लिएर बाहिर निस्किने भर्याङ राखिएको थियो। जुनबाट सबै यात्रु दौडिएर बाहिर निस्किन सम्भव भयो।
जहाजबाट बाहिर निस्किएका कुनै पनि यात्रुसँग आफ्नो सामान थिएन। सामान नबोकेकै कारण सबै यात्रुलाई जहाजबाट केही मिनेटभित्र बाहिर निकाल्न सम्भव भएको हो। खाली हात यात्रुले सजिलै दौडिन सक्दा जहाज केही मिनेटमै खाली भएको थियो।
हवाई उडान विज्ञ एल्याक्सले बीबीसीलाई बताएअनुसार जहाजका कर्मचारीले उद्धार नियम राम्ररी पालना गर्न सकेकाले सबै यात्रु बाँच्न सफल भएका हुन्। त्यो पनि सुरुको केही मिनेटमै यो सम्भव भएको हो।
जहाजका चालक दलका सदस्यहरूले समयमै आगोको लप्काबाट तत्काल जल्न नसक्ने ढोकाको पहिचान गर्न सकेकाले कसैको ज्यान नगएको उनले बताए।
एक यात्रीले भनेका छन्-पाँच मिनेटमै सबै यात्रु बाहिर निस्किए। त्यसको १० देखि १५ मिनेटभित्र जहाजभित्रको पूरै भागमा आगो फैलिएर ध्वस्त भयो।
जहाजका अर्का यात्री त्सुबासाले भने- यो केबल एक चमत्कार हो, नत्र हामी सबै यात्रुको ज्यान जाने थियो।
Shares
प्रतिक्रिया