ad ad

ग्लोबल


अयोध्यालाई ‘हिन्दूहरूको भ्याटिकन’ बनाइँदै, पूर्वाधारमा अर्बौं डलर लगानी

अयोध्यालाई ‘हिन्दूहरूको भ्याटिकन’ बनाइँदै, पूर्वाधारमा अर्बौं डलर लगानी

नेपालखबर
माघ २, २०८० मंगलबार १६:५१,

निर्माण कार्य चलिरहेको छ। निर्माण सामग्रीको चर्कोचर्को आवाज सुनिन्छ। अर्कोतिर भक्तजनको घुइँचो लागेको छ। यही होहाल्लाको बीचमा भारतकै ठूलो हिन्दू मन्दिरले विस्तारै विस्तारै आकार लिइरहेको छ।

अयोध्या सहरमा निर्माणाधीन राम मन्दिर आधा मात्रै बनेको छ। ४९ मिटर अग्ला स्तम्भ उभिएका छन्। ठुल्ठूला द्वार तयार हुँदैछन्। यसबाट बन्ने अन्तिम आकृति तयार हुन अझै धेरै बाँकी छ। बाहिरी मान्छेहरुलाई रोक्न निर्माण क्षेत्रमा अग्ला बार लगाइएका छन्। 

आधाअधुरो भए पनि यो मन्दिरले अहिले सम्पूर्ण भारतको ध्यान खिचेको छ। अर्कोसाता जनवरी २२ का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले यो मन्दिरको उद्घाटन गर्नेछन्। मन्दिरभित्र रामको मूर्ति राखिनेछ।

‘यो हाम्रो भ्याटिकन सिटी बन्नेछ। विश्वभरका हिन्दूहरुका लागि यो पवित्रतम स्थान हुनेछ,’ विश्व हिन्दू परिषदका प्रवक्ता शरद शर्मा भन्छन्, ‘५ सय वर्षको वनबासपछि भगवान श्रीराम अन्ततः अयोध्या फर्किनुहुनेछ।’

हिन्दूहरु राम यही ठाउँमा जन्मेको विश्वास गर्छन्। १९९२ अघि यहाँ बाबरी मस्जिद थियो। जसलाई भिडले भत्काइदिएको थियो। त्यसपछि दंगामा झण्डै दुई हजारको ज्यान गएको थियो। 

२०१९ मा भारतको सर्वोच्च अदालतले यो ठाउँ हिन्दूहरुको भएको फैसला ग¥यो। मुस्लिमहरुलाई मस्जिद निर्माणका लागि अर्को जमिन दिइयो। 

त्यसपछि यहाँ २१ करोड ७० लाख डलर लागतमा यो मन्दिर निर्माण हुँदैछ। हिन्दूहरुको धाममा परिणत गर्न अर्बाैं डलर खर्चेर सहरको ठूलो हिस्सामा डोजर चलाइएको छ।

जतिजति निर्माण हुँदैछ, त्यतित्यति यो मन्दिर विशाल देखिँदै गएको छ। ७.२ एकड क्षेत्रफलको मन्दिर तीन तले छ। मोदीले २२ जनवरीमा भुइँतला मात्र उद्घाटन गर्दैछन्। 

कतिपयले निर्माणसम्पन्न नभई मोदीले मन्दिर उद्घाटनमा गरेको हतारप्रति प्रश्न उठाएका छन्। यही वर्ष भारतमा चुनाव हुँदैछ। मोदी लगातार तेस्रो कार्यकालका लागि चुनावमा होमिँदैछन्। मन्दिर उद्घाटनलाई धेरैले उनको चुनावी अभियानको उद्घाटनका रुपमा हेरेका छन्।

रेलवे स्टेसन

ठिहिर्याउँदो चिसोमा मन्दिरबाट फर्केका योगेन्द्र गुरु ट्राफिकमा अलमलिएका देखिए। उनी करिब दुई दर्जन आफन्तसँगै मध्यप्रदेशबाट १४ घण्टा बस चढेर अयोध्या आएका हुन्।

‘अन्ततः नयाँ मन्दिर बन्न लागेको छ। म हर्षित छु। हिन्दूहरु ब्युँझिएको देखिन्छ। मलाई लाग्छ, विगतमा हामीलाई दबाइएको थियो,’ उनले भने।

अयोध्यालाई हिन्दूहरुको तीर्थस्थलका रुपमा विकास गर्न सरकारले निकै ठूलो जोडबल लगाइरहेको छ। वर्षको अन्त्यसम्ममा यहाँ प्रतिदिन डेढ लाख पर्यटक आउने आकलन गरिएको छ। जुन अहिलेभन्दा सात गुणा ज्यादा हो।

गंगा नदीको सहायक नदी सरयुको किनारमा अवस्थित शान्त अयोध्यालाई भक्तजन तथा तीर्थयात्री आउने विश्वस्तरीय सहर बनाउने अभियानमा छन् केन्द्र र प्रदेश सरकार। त्यसका लागि ३.८५ अर्ब डलर खर्च गरेर पूर्वाधार बनाइँदैछ। ती पूर्वाधारमा नयाँ विमानस्थल, विशाल रेल स्टेसन र कार पार्क निर्माण गर्न थालिएको छ।

विमानस्थल र रेल स्टेसन त प्रधानमन्त्री मोदीले उद्घाटन नै गरिसकेका छन्। महर्षि वाल्मिकी अन्तर्राष्ट्रिय विमानस्थल नाम दिइएको यो विमानस्थल गत डिसेम्बर अन्तिममा उद्घाटन गरिएको हो। जुन १७.५ करोड डलरमा बनेको थियो। दुई वर्षभन्दा कम समयमा निर्मित यो विमानस्थलले वार्षिक १० लाख यात्रु धान्ने बताइएको छ।

सडक विस्तारका लागि अयोध्यामा ३ हजारभन्दा बढी घर, पसल र संरचना आंशिक या पूर्ण रुपमा भत्काइएको थियो। मन्दिरसम्म जाने यो १३ किलोमिटर लामो सडकलाई राम पथ नाम दिइएको छ।

वरिपरिका सबै घरहरुलाई फिका पहेँलो रङले रंग्याइएको छ। जसले गर्दा सबैतिर एकैखालको दृश्य देखिन्छ। र्‍याडिसन र ताजजस्ता होटल चेनहरुले नयाँ शाखा खोल्दैछन्। करिब ५० वटाजति नयाँ होटल र होमस्टे निर्माणको योजना तयार भएका छन्। 

भनिरहनु परेन, जमिनको भाउ तेब्बर भएको छ।

‘यो ठाउँ तपाईं चिन्नै सक्नुहुन्न। यति धेरै बदलिएको छ। अलिअलि आश्चर्य र विस्मयको स्थिति छ,’ अयोध्याः सिटी अफ फेथ, सिटी अफ डिस्कर्डका लेखक वलय सिंह भन्छन्।

नयाँ मन्दिरवरिपरि थप आकर्षणका केन्द्रहरु बनाइँदैछ। सरयु नदीको टापुमा रामको जीवनकथा भन्ने १६२ वटा मूर्ति स्थापना गरिँदैछ। जसले ‘वैदिक सभ्याता’ कस्तो थियो भनेर बताउनेछ।

‘हामी संसारकै सुन्दर सहर बनाउँदैछौँ,’ अयोध्याका वरिष्ठतम सरकारी अधिकारी गौरव दयाल भन्छन्।

नयाँ मन्दिर खुलेपछि दसौँ लाख भक्तजन र पर्यटकले अयोध्या भ्रमण गर्ने अपेक्षा गरिएको छ। तर, सडक विस्तार परियोजनाका कारण विस्थापित भएकाहरु खुसी छैनन्। स्थानीय पसलेहरुको समूहको नेतृत्व गरिरहेका आनन्दकुमार गुप्ता १६ सय व्यक्ति विस्थापित भएको र तिनका लागि जाने ठाउँ कहीँ नभएको बताउँछन्।

उनीहरुलाई घर मर्मतका लागि औसतमा एक लाख भारु प्रतिपसल दिइएको उनको भनाइ छ।

मन्दिर उद्घाटनलाई सत्तारुढ भारतीय जनता पार्टीले ठूलो पर्वका रुपमा चित्रित गर्दै आएको छ। सो समारोहमा करिब ८ हजार जना मानिसलाई आधिकारिक रुपमा निमन्त्रणा पठाइएको छ। तर, त्यो दिन अयोध्यामा एक लाखभन्दा बढी मानिस जम्मा हुने अपेक्षा गरिएको छ। देशभर सो समारोहको प्रत्यक्ष प्रसारण गरिनेछ। विश्वभरका भारतीय दूतावासमा पनि सो समारोह देखाइनेछ भने न्युयोर्कको टाइम्स स्क्वायरमा समेत यसको प्रसारण गरिनेछ।

तर, सो समारोहमा केही शंकराचार्य सहभागी नहुने भएका छन्। अपूरो मन्दिर उद्घाटन गर्न लागिएकोमा उनीहरुको विमति छ।

त्यस्तै, विपक्षी दल कंग्रेस सहभागी नहुने भएको छ।

मन्दिरका लागि झण्डै ५० अर्ब डलर चन्दा उठाइएको छ। नेपालसहित अन्यत्रबाट उपहारहरु पठाइएको छ।

उत्तर प्रदेशका अस्पतालका चिकित्सकहरुका कारण दर्जनौँ गर्भवतीहरुले जनवरी २२ का दिन बच्चा जन्माउन शल्यक्रियाका लागि आग्रह गरेका छन्। एजेन्सीहरूकाे सहयाेगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .