ad ad

ग्लोबल


म्यानमारबाट भागेर ३०० सैनिक भारतमा

म्यानमारबाट भागेर ३०० सैनिक भारतमा

रासस/एएफपी
माघ ५, २०८० शुक्रबार २१:४०, गुवाहटी

म्यानमारको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब ३०० सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले शुक्रबार एएफपीलाई जानकारी गराएका छन्। 

गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यानमारको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो। 

यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख सहर पालेतवा र छवटा सैन्य अखडा कब्जा गरेको बताएको थियो। 

आसाम राइफल्स अर्धसैनिक बलका अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, ‘हतियार र गोलाबारुदसहित कूल २७६ सैनिक बोन्डुकबाङ्सोरा गाउँमा आइपुगेका छन्।’

‘हामीले उनीहरूलाई हाम्रो क्याम्पमा आश्रय दिएका छौं’, उनले भने, ‘आउने सैनिकलाई आवश्यक पर्ने सबै सहयोग दिइएको छ।’

अधिकारीका अनुसार भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक डाटा सङ्कलन गरिरहेको छ र उनीहरूलाई म्यानमार फिर्ता गर्न नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयसँग अनुमति मागेको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार गत नोभेम्बरमा युद्धविराम अन्त्य भएयता म्यानमाका अन्य सयौँ सैनिक युद्धबाट बच्न भारततर्फ भागेका छन्।

द्वन्द्वबाट पछि हटेका सैनिकलाई लिन र स्वदेश फर्काउन म्यानमारका दुई सैनिक विमान मिजोरमको राजधानी आइजोल आइपुगेका छन्। 

गत अक्टोबरमा एए र अन्य दुई जातीय अल्पसङ्ख्यक सशस्त्र समूहको गठबन्धनले म्यानमारको उत्तरी शान राज्यमा संयुक्त आक्रमण गर्दै सहरहरू कब्जा गरेको थियो र चीनको सीमामा रहेका महत्त्वपूर्ण व्यापारिक केन्द्रहरू कब्जा गरेको थियो।

गत हप्ता गठबन्धनले शान राज्यमा चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ। तर, यो सम्झौता भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागू नहुने बताइएको छ। ती क्षेत्रमा यो साता पनि सेना र विद्रोहीहरूबीच लडाइँ चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .