ad ad

ग्लोबल


इमरानलाई तह लाउने सेनाको सबै तिकडम असफल, अब के हुन्छ?

इमरानलाई तह लाउने सेनाको सबै तिकडम असफल, अब के हुन्छ?

नेपालखबर
माघ २६, २०८० शुक्रबार २०:१७,

उनलाई गोली हानियो, जेलमा हालियो र उनको राजनीतिक दललाई व्यावहारिक रुपमा प्रतिबन्धै लगाइयो। अनि मूलधारका मिडियामा उनको नाम आउन पनि दिइएन। तर, इमरान खानलाई त्यसरी दबाउन सकिन्न।

बिहीबारको चुनावको आंशिक नतिजा आइरहँदा खानको तहरिक ए इन्साफ (पीटीआई) पार्टीसँग आबद्ध स्वतन्त्र उम्मेदवारहरुले बहुमत हासिल गर्नसक्ने सम्भावना देखिएको छ। जबकि यस्तो नतिजा आउन नदिन चुनावको दिनसम्म पनि अनेकौँ हथकण्डा गरिएका थिए।

पीटीआईको चुनाव चिह्न ब्याट यसअघि नै प्रतिबन्धित थियो। बिहीबार मोबाइल फोनको नेटवर्क पनि बन्द गरियो। जसले सो पार्टीका नेताहरुले हरेक निर्वाचन क्षेत्रका मतदातालाई आफ्ना स्वतन्त्र उम्मेदवार को हुन् भनेर जानकारी दिन पाएनन्। अदालतले अवैध भन्दाभन्दै सुरक्षा कारणले नेटवर्क बन्द गरिएको सरकारको भनाइ छ। 

त्यसमाथि, एक्जिट पोलमा प्रतिबन्ध लगाइयो। पीटीआईले आफ्ना एजेन्टहरुलाई मतदान केन्द्रमा जान नदिइएको गुनासो गरेको छ। 

‘धाँधलीको मात्रा देखेर हाँसो उठ्छ,’ इमरान खानको सरकारमा राज्यमन्त्री रहेका जुल्फी बुखारीले भने।

तैपनि चुनावको नतिजा जब आउन थाल्यो, तब पीटीआईले नवाज सरिफ नेतृत्वको पीएमएल–एनसँग कडा प्रतिस्पर्धा गरिरहेको छ। बिलावल भुट्टो जर्दारीको पीपीपी तेस्रो स्थानमा छ। जबकि सामान्यभन्दा १० घण्टा ढिला नतिजा आउन थालेको थियो। यो आफैँमा शंकास्पद रहेको विश्लेषकहरुको भनाइ छ।

पाकिस्तानको शक्तिशाली सेनाले रुचाएको उम्मेदवार हुन् सरिफ। विगतमा सेनाले उनलाई तीनपटक सत्ताच्यूत गर्न सघाए पनि ७४ वर्षीय यी नेतालाई अहिले बेलायतबाट स्वदेश फर्किन अनुमति दिएको छ। भ्रष्टाचारी ठहर गरेर उनलाई जीवनभरका लागि राजनीतिबाट प्रतिबन्ध लगाइएको थियो। ती सबै मुद्दा उल्ट्याइएको छ। जुन गतिमा राजनीतिमा सरिफको पुनर्स्थापना भयो, त्यही गतिमा इमरान खान र पीटीआईविरुद्ध दमन गरियो।

‘पाकिस्तानमा सेनाको समर्थनबिना कसैले पनि शासन चलाउन सक्दैन,’ अक्सफोर्ड युनिभर्सिटीकी माया ट्युडर भन्छिन्, ‘यसपटकको फरक के भने सेना खुलेआम पीटीआईलाई निसाना बनाइरहेको छ। किनभने सो पार्टीको ग्रासरुटसम्म समर्थन छ र उनीहरु प्राविधिक हिसाबले पनि टाठा छन्।’

तर, यस्ता अवरोध पार गरेर पीटीआईले संसदमा बहुमत पाए पनि सरकार गठनका लागि अन्य कयौँ बाधा बाँकी नै छन्।

यो पार्टीका सांसदहरु स्वतन्त्र भएकाले पार्टीको निर्देशनअनुसार मतदान गर्नुपर्ने बाध्यतामा उनीहरु छैनन्। यसले जबर्जस्ती उनीहरुलाई अन्यत्र मत दिन बाध्य पार्नसक्ने खतरा पनि छ।

त्यसमाथि महिला र अल्पसंख्यकका लागि आरक्षित तल्लो सदनका ७० वटा सिटमा पीटीआईले हिस्सा पाउने छैन। ती सिट पार्टीले प्राप्त गरेको समग्र मतका आधारमा बाँडफाँट हुन्छ।

उसो त ७१ वर्षीय इमरान खान आफैँ जेलमा छन्। उनी चुनावमा उठ्न पनि पाएनन्। मतदानअघि नै पीएमएल–एन र पीपीपीबीच सत्ता साझेदारी हुने चर्चा थियो। सरिफ प्रधानमन्त्री बन्ने र जर्दारी राष्ट्रपति बन्ने सम्झौता भएको बताइएको थियो। त्यसै हुने सम्भावना सबैभन्दा बढी छ।

तैपनि पीटीआईले पाकिस्तानको सेनालाई जोडदार चोट दिएको छ। सेनाले २०१८ को चुनावमा इमरान खानको विजयलाई समर्थन गरेको थियो। तर, यी क्रिकेट टोलीका पूर्वकप्तानसँग जर्नेलहरुको मतभेद भयो। जसले अप्रिल २०२२ मा उनलाई अविश्वासको प्रस्तावमार्फत सत्ताच्यूत गर्ने योजना बुने।

त्यसयता इमरान खान एक पटक हत्या प्रयासबाट बच्न सफल भएका छन् भने उनले १८० वटा मुद्दाको पनि पनि सहेका छन्। हालै मात्र उनलाई भ्रष्टाचार, गोपनीयता भंग र गैरइस्लामिक विवाहका लागि जम्मा ३१ वर्षको सजाय सुनाइएको छ।

तर, चुनावसम्म आइपुग्दा उनको लोकप्रियता कायम रह्यो। खासगरी युवा पाकिस्तानीमाझ। करिब १३ करोड मतदातामध्ये ४५ प्रतिशत १८–३५ वर्षबीचका छन्।

‘स्पष्ट छ– सेना त्रसित् थियो। अहिले पीटीआईले अपेक्षाभन्दा ज्यादा मत ल्याउनु सेनाका लागि निकै ठूलो धक्का हो,’ विल्सन सेन्टरको साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यान भन्छन्।

निस्सन्देहः पाकिस्तानी जनता र राजनीतिक वर्ग पूर्ण नतिजा कुरिरहेका छन्। अब सांसद खरिदबिक्री हुनेछ। २४ करोड जनसंख्या भएको आणविक हतियार सम्पन्न यो मुलुक शक्ति शून्यताको अवस्था झेल्न सक्दैन। जो प्रधानमन्त्री बन्छ, उसलाई संकटहरुको कुनै कमी हुने छैन।

पाकिस्तान अहिले एसियाकै उच्च मुद्रास्फितिबाट पीडित छ। जुन डिसेम्बरमा २९.७ प्रतिशत पुगेको थियो। गत बर्खामा पाकिस्तान झण्डै ऋण तिर्न नसक्ने अवस्थामा पुगेको थियो। अन्तर्राष्ट्रिय मुद्राकोषले ३ अर्ब डलर दिएर उसको उद्धार गरेको थियो। आर्थिक पतन रोक्न अर्को महिना नयाँ सम्झौता गर्नैपर्ने अवस्थामा छ पाकिस्तान।

सीमामा पनि पाकिस्तानले कठिन सुरक्षा चुनौती बेहोरिरहेको छ। पुरानो सम्बन्ध भए पनि अफगानिस्तानका तालिबानसँग सीमापार आतंकवाद र शरणार्थी निकालाका कारण उसको सम्बन्ध बिग्रेको छ। गत महिना पाकिस्तान र इरानले एकअर्काको मुलुकमा हवाई आक्रमण पनि गरे। भर्खरै आफ्नो भूमिमा भारतले हत्या अभियान चलाएको आरोप पाकिस्तानले लगाएको छ। 

यदि पाकिस्तानको सेनाले पीटीआईलाई सत्ताबाहिर राख्ने प्रयासलाई निरन्तरता दिने हो भने प्रश्न उब्जिन्छ– पीटीआईका समर्थकले कसरी जवाफ देलान्? 

गत मे महिनामा पीटीआईका कार्यकर्ताले इमरान खानको गिरफ्तारीको विरोधमा सैन्य अधिकारीहरुको आवास तोडफोड गरेका थिए। इमरान खान हाललाई जेलमै रहन सक्छन् तर उनको राजनीतिक शक्ति तत्काल समाप्त हुने देखिँदैन।

‘सेना चाहन्छ, अब बन्ने सरकारले आर्थिक उद्धारमा ध्यान केन्द्रित गरोस््। इमरान खानलाई केही वर्ष जेलमा राखेर ठेगान लगाउने आशामा सेना थियो,’ कुगलम्यान भन्छन्, ‘तर, उसको चुनौती अझै बढ्दै जानेछ किनभने पीटीआईका समर्थक झन् दुःखी हुनेछन्।’ टाइमबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .