टेलर स्विफ्ट विश्वका प्रभावशाली स्टारमा पर्छिन्। त्यसैले नै टाइम म्यागजिनले उनलाई सन् २०२३ को वर्ष व्यक्ति समेत घोषणा गरेको थियो।
अहिले स्विफ्टको प्रभाव अन्तर्राष्ट्रिय सम्बन्धमा पनि परेको छ। त्यो पनि दक्षिणपूर्वी एसियामा।
स्विफ्टको शोलाई लिएर आसियान सदस्यहरु सिंगापुर र थाइल्यान्डबीच मनोमालिन्य देखिएको छ।
खासमा स्विफ्टले आसियानमा सिंगापुरबाहेक अन्य मुलुकमा कन्सर्ट आयोजना नगर्ने सम्झौता सिंगापुरले गरेको भन्दै थाइल्यान्डका प्रधानमन्त्रीले तितो पोखेका हुन्।
प्रधानमन्त्री श्रेत्था थाविसिनले आफूलाई एईजी नामक कम्पनीले स्विफ्टले सिंगापुरबाहेक आसियानमा अन्यत्र जारी द इराज् टुर नगर्ने जानकारी दिएको बताएका हुन्।
सिंगापुर सरकारले त्यसका लागि प्रतिशो २० देखि ३० लाख डलर रकम प्रस्ताव गरेको पनि जानकारी आफूले पाएको उनले बताए।
स्विफ्टले मार्चमा सिंगापुरको ५५ हजार सिट क्षमताको नेसनल स्टडियममा ६ वटा शो गर्दैछिन्। सबै शोको टिकट बिक्री भइसकेको छ।
‘सिंगापुर सरकार चलाख छ,’ थाइ प्रधानमन्त्रीले भने, ‘यदि उनी थाइल्यान्ड आउँथिन् भने यहाँ शो आयोजना गर्न सस्तो पर्ने थियो। र, उनले ज्यादा प्रायोजक र थाइल्यान्डमा ज्यादा पर्यटक आकर्षित गर्ने थिइन्।’
‘मलाई थाहा भएको भए म उनको शो थाइल्यान्ड ल्याउँथे,’ उनले भनेका छन्। एजेन्सी
Shares
प्रतिक्रिया