ad ad

ग्लोबल


मान्छे भाग्यले धनी बन्छ कि प्रतिभाले?

अर्बपतिको अस्तित्व समाजका लागि फाइदाजनक कि हानिकारक?
मान्छे भाग्यले धनी बन्छ कि प्रतिभाले?

बिल गेट्स र वारेन बफेट


साइमन ज्याक
साउन १४, २०८१ सोमबार २०:१०,

इटलीकी एक कम्युनिस्ट तथा मूक अभिनयकी विद्यार्थी, बलप्रति आकर्षित हुने एक बच्चा र एक कमेडियनबीच के समानता छ?

यी सबै पछि गएर विश्वको एउटा निकै विशिष्ट क्लबका सदस्य भए। ती हुन् : म्युसिया प्रदा, टाइगर वुड्स र जेरी साइनफेल्ड। यी तीनै जना संसारका ती करिब २८ सय मानिसमा पर्छन्, जसलाई डलर अर्बपति भनेर चिन्ने गरिन्छ।

भन्दा डलर अर्बपति भनिए पनि यिनीहरू विश्वभर छन्। 

फोर्ब्सका अनुसार अमेरिकामा ८१३ अर्बपति छन्। चीन (हङकङसहित) दोस्रो स्थानमा छ, जहाँ ४७३ जना अर्बपति छन् भने तेस्रो स्थानमा रहेको भारतमा २ सय जना।

उनीहरूको सम्पत्ति कति छ भनेर ठिकसँग अनुमान लाउन कठिन हुनसक्छ। एक अर्ब निकै ठूलो संख्या हो। यसको परिमाणलाई आकलन गर्न सजिलोका लागि यो उदाहरण हेरौँ– दस लाख सेकेन्ड भनेको मात्र ११ दिन हो। तर, एक अर्ब सेकेन्ड भनेको ३२ वर्ष हो।

र, कतिपय मानिस त अर्बपतिहरूको अस्तित्वलाई नै अश्लीलता मान्छन्। हुन पनि विश्वका सबैभन्दा धनी ८१ जना, अर्थात् एक बस मानिससँग सबैभन्दा गरिब ४ अर्ब मानिसको भन्दा ज्यादा सम्पत्ति छ। 

टेलर स्विफ्ट

२०२३ को अक्सफामको रिपोर्टमा भनिएको छ, ‘प्रत्येक अर्बपति नीतिगत गल्तीको नतिजा हो। अर्बपतिहरूले कीर्तिमानी मुनाफा कमाइरहँदा अधिकांश मानिसले बढ्दो गरिबी र हातमुख जोर्नै संकट झेलिरहेका छन्। यो अर्थव्यवस्थाले मानवताका लागि काम गर्न नसकेको प्रमाण हो।’

यही असमानताका कारण कतिपय मुलुकमा आम्दानीमा होइन, सम्पत्तिमाथि नै कर लगाउनुपर्ने माग हुन थालेको छ। अमेरिकामा डेमोक्र्याटिक पार्टीकी सिनेटर एलिजावेथ वारेनले ५ करोड डलरभन्दा माथिको सम्पत्तिमा २ प्रतिशत र १ अर्बभन्दा माथिको सम्पत्तिमा ३ प्रतिशत कर लगाउन प्रस्ताव गरेकी छन्।

तर, अर्काथरीको तर्क छ, अत्यधिक धनले सिर्जना र नवप्रवर्तनलाई प्रेरित गर्छ। जसले कराडौँ मानिसको जीवन सुधार्छ।

अमेरिकी अर्थशास्त्री माइकल स्ट्रेन अर्बपतिको संख्या कम होइन, अझ ज्यादा हुनुपर्ने तर्क गर्छन्। नोबेल पुरस्कार विजेता विलियम नर्डहाउसलाई उधृत गर्दै उनी भन्छन्, प्रविधिमा भएको नवप्रवर्तनबाट सिर्जित सम्पत्तिमध्ये २ प्रतिशत मात्रै कम्पनीका संस्थापक र आविष्कारकको हातमा पुग्छ, बाँकी समाजमा जान्छ।

एलिजावेथ वारेन

अर्बपतिहरूलाई उनी ‘हाम्रो जीवनशैली बदलिदिने स्वनिर्मित नवप्रर्वतक’ भन्छन्। उनी बिल गेट्स र स्टिभ बालमरको उदाहरण दिन्छन्, जसले कम्प्युटर क्रान्ति गरे। त्यस्तै, दिग्गज लगानीकर्ता वारेन बफेट, खुद्रा व्यापारलाई सदाका लागि बदलिदिएका जेफ बेजोस् र अटो उद्योग तथा अन्तरिक्ष वाणिज्यमा क्रान्ति गरेका इलोन मस्कको नाम लिन्छन्।

‘यीमध्ये कोही पनि नीतिगत असफलताको नतिजा होइनन्,’ उनको निष्कर्ष छ, ‘तिनको अस्तित्व नै नरहोस् भनेर कामना गर्ने होइन, उनीहरूको उपस्थितिमा हामी रोमाञ्चित हुनुपर्छ।’

कयौँ अर्बपतिहरूले ठूलो रकम दान दिने घोषणा गरेका छन्। गेट्स र बफेटले आफ्नो जीवनकालमै आधाभन्दा बढी सम्पत्ति दान गर्ने बताउँदै ‘द गिभिङ प्लेज’ घोषणा गरेका छन्।

र्‍यापर तथा अर्बपति जे–जीले दान गर्ने त्यस्तो वाचा त गरेका छैनन् तर उनले यसो भनेर आफ्नो सम्पत्तिको प्रतिरक्षा गरेका छन्, ‘म आफैँ गरिब भएँ भने उनीहरूलाई सहयोग गर्न सक्दिनँ। त्यसैले म धनी भएँ र उनीहरूलाई सहयोग गरेँ। मेरा लागि यसमा दुवै पक्षको जित छ।’

अर्बपतिहरू शून्यमा धनी भएका हुँदैनन्। उनीहरूको सफलताले हाम्रो बारेमा पनि केही कुरा बताउँछ।

म्युसिया प्रदा

मानिसहरूलाई अति आवश्यक परेको, उनीहरूले चाहेको वा उनीहरूले मनोरञ्जन लिने चिज जबसम्म तपाईं दिनुहुन्न, तबसम्म तपाईं अति धनी बन्न कठिन छ।

प्रदाको अल्प शैली होस् या स्टार वार फिल्म वा टिकटक, अर्बपतिहरूले थोरबहुत दुनियाँ बदलेका छन्। र, यो काम उनीहरूले कसरी गरे, त्यो पनि रोचक छ।

उदाहरणका लागि गुगलका संस्थापकहरूले आफ्नो सर्च इन्जिनको सुरुवाती भर्जनलाई जम्मा १० लाख डलरमा बेच्न खोजेका थिए। तर, किन्ने कोही भएन। आज गुगलको मूल्य २.३ ट्रिलियन छ। यसका सहसंस्थापक सेर्गेइ ब्रिनको सम्पत्ति १३५ अर्ब डलर छ, जुन करिबकरिब मोरक्कोको जीडीपीजति नै हो।

मरिया बियान्सी १९६० को दशकमा कार्डहोल्डर कम्युनिस्ट थिइन्। जतिबेला थिएटर स्कुलमा उनी मूकअभिनय अध्ययन गरिरहेकी थिइन्। त्यसपछि उनले आफ्नो नाम बदलेर म्युसिया प्रदा राखिन्।

भारतकी प्रथम स्वनिर्मित अर्बपति महिला किरण मजुमदार शले औषधि उत्पादनमा हात हाल्नुअघि बियर उत्पादनको काम थालेकी थिइन्। उनी अहिले एसियाको सबैभन्दा ठूलो इन्सुलिन उत्पादक हुन्।

कमेडियन जेरी साइनफेल्डका दुवै अभिभावक अनाथ थिए। उनका बुवाले उनलाई कहिल्यै अंकमाल गरेनन्। सम्भवतः सोही कारण हुनुपर्छ, पछि उनले आफ्नो हिट कमेडी सो साइनफिल्डको चरित्रका लागि पनि ‘अंकमाल नगर्ने र नसिक्ने’ नियम बनाएका थिए।

अर्बपतिहरूको व्यक्तिगत सफलताले प्रायः ऐतिहासिक, राजनीतिक र प्रविधिसम्बन्धी बदलिँदो प्रवृत्तिबारे पनि बताउँछ। 

अलिबाबाका संस्थापक प्रविधि उद्यमी ज्याक मालाई दुईवटा शक्तिशाली परिवर्तन एकैपटक हुँदा फाइदा भयो। ती दुई परिवर्तन थिए– अनलाइन व्यापारको जन्म र आर्थिक शक्ति तथा उपभोक्ता शक्तिका रूपमा चीनको उदय।

ड्युटी फ्री किनमेलका सुरुवातकर्ता चक फिनीले दोस्रो विश्वयुद्धपछि विदेश घुम्न निस्केका जापानी पर्यटकको लहरबाट फाइदा लिए।

केही कहानी यस्ता पनि छन्, जहाँ भाग्यको भूमिका ठूलो देखिन्छ। 

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले १९६० को दशकमा त्यस्तो दुर्लभ स्कुलमा पढ्न पाए, जहाँ कम्प्युटर थियो। गायिका रिहान्नाले संयोगले एक संगीत उत्पादकलाई अडिसन दिन पाइन्, जो छुट्टी मनाउन बार्बाडोस पुगेका थिए।

टेलर स्विफ्टको सम्पूर्ण परिवार उनको करिअर अगाडि बढाउन भनेरै पेन्सलभेनियाबाट नासभिल बसाइँ सर्‍यो। माइकल जोर्डनले एडिडास वा कन्भर्ससँग सम्झौतामा हस्ताक्षर गर्नुअघि नै उनकी आमाले नाइकीको प्रस्ताव सुन्न आग्रह गरिन्। नभन्दै उनले नाइकीसँग खेलकुद इतिहासकै लाभदायक सम्झौता गरे।

ज्याक मा

यी कथाहरूलाई नियाल्दा त्यस्ता क्षणहरूलाई देख्न सकिन्छ, जसले यी अर्बपतिहरूको जीवन र भाग्य बदलिदिए।

र, जब मौकाको ढोका खुल्यो, तब ती असीमित ऊर्जा, प्रेरणा र प्रतिबद्धताका साथ आआफ्नो क्षेत्रमा अघि बढिरहे। जहाँ अरु भए पछि हट्न सक्थे।

म जिङ सेङसँग मिलेर गुड ब्याड बिलेनियर नामक पडकास्ट चलाउँछु। हामी प्रायः मजाक गरिरहन्छौँ, एक करोड डलर कमाएको दिन हामी यहाँबाट चम्पट ठोक्नेछौँ। यहाँ मात्र दुई खाली कुर्सी रहनेछन्। ती कुसी म माछा मार्न र जिङ अर्को संगीत महोत्सवमा गएको प्रमाण हुनेछन्।

मलाई लाग्छ, हामीजस्ता मान्छेले कहिल्यै ठूलो धन कमाउने छैनौँ। तर, जो मानिस अर्बपति भए, तीबाट हामी पालैपालो, मोहित, मन्त्रमुग्ध, क्रुद्ध र भयभीत भएका छौँ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .