ad ad

ग्लोबल


खालिदा जिया : बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री, हसिनाको कट्टर शत्रु

जसले हसिना लखेटिएपछि मात्र मुक्तिको सास फेर्न पाइन्
खालिदा जिया : बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री, हसिनाको कट्टर शत्रु

नेपालखबर
साउन २२, २०८१ मंगलबार १९:११,

आफ्नो राजनीतिक दुस्मनलाई कसरी हराउने र सत्तामा कब्जा कसरी जमाउने? यो प्रश्नको जवाफ खोज्न संसारका कति राजनीतिकर्मीहरूले म्याकियाभेलीको सहारा लिए होलान्, कतिले सुन सुको रणनीति सिको गरे होलान्।

तर, बंगलादेशका दुई ‘झगडिया बेगम’सँग सिकेको भए उनीहरूले निश्चय नै सफलता पाउँथे होलान्।

हुन पनि ३० वर्षदेखि बंगलादेशको राजनीति यी दुई बेगमकै वरिपरि, अझ भन्दा यी दुईको झगडाकै वरिपरि घुमिरहेको छ। उनीहरू हुन् : शेख हसिना र बेगम खालिदा जिया।

उनीहरूको दुस्मनी सधैँ यस्तो थिएन। खासमा सैन्य तानाशाह जर्नेल इर्सादलाई सत्ताबाट हटाउन उनीहरूले आपसमा मिलेर आन्दोलन गरेका थिए।

त्यसमाथि दुवै स्वतन्त्रता सेनानीका सुपुत्री थिए। र, दुवैलाई भयानक त्रासदीले राजनीतिमा तानेर ल्याएको थियो।

बंगलादेशका राष्ट्रपति शेख मुजिबुर रहमानको सन् १९७५ मा हत्या भयो। परिवारका अधिकांश मारिए। विदेशमा भएकाले उनकी छोरी हसिना बाँचिन् र राजनीतिमा आइन्।

खालिदा जियाका पति जियाउर रहमानले बीएनपी पार्टी गठन गरेका थिए। जो १९७७ मा राष्ट्रपति बने। उनको पनि १९८१ मा हत्या भयो।

तर, यत्रो समानताका बाबजुद यी दुई बेगमबीच निकै तिक्ततापूर्ण शत्रुता कायम रह्यो। र, दुईमध्ये एक सत्तामा हुँदा अर्कोले सरकारी ताडना खेप्नुपर्ने स्थिति बनिरह्यो। र, यसले बंगलादेशको राजनीतिमा हिंसालाई निम्त्याइरह्यो।

यी दुईको दुस्मनी यस्तो छ कि एउटाको दुर्भाग्य सुरु हुँदा अर्कोको भाग्य खुल्ने गर्छ। यसपटक पनि शेख हसिना मुलुकबाटै लखेटिँदा बेगम खालिदा जिया कैदबाट मुक्त हुन पाइन्। जुन उनको ७९ औँ जन्मदिनअघिको उपहार बन्न पुगेको छ।

राष्ट्रपति मोहम्मद शाहबुद्दिनले उनलाई तुरुन्त रिहा गर्न आदेश दिएपछि उनी मुक्त भएकी हुन्।

जिया १५ अगस्ट १९४५ मा जन्मिएकी हुन्। उनी कलेजो रोग, मधुमेह र मुटुको समस्याबाट पीडित छिन्। कयौँ वर्षयता उनी राजनीतिभन्दा टाढा छिन्।

कूप्रयासमा पतिको हत्या हुनुअघिसम्म उनलाई लजालु व्यक्तिका रूपमा चित्रित गरिन्थ्यो। उनी दुई छोरा हुर्काउन लागिपरेकी थिइन्। 

पतिको हत्याको तीन वर्षपछि उनी बीएनपीको प्रमुख भइन् र ‘बंगलादेशलाई गरिबी र आर्थिक पछौटेपनबाट मुक्त गर्ने’ पतिको सपना पूरा गर्ने कसम खाइन्। 

त्यसपछि हसिनासँग उनले हातेमालो गरिन् र आन्दोलन सुरु गरिन्। जसले १९९० मा जर्नेल इर्सादको शासन ढाल्यो।

अर्को वर्ष बंगलादेशमा पहिलोचोटि निष्पक्ष चुनाव भयो। चुनावमा खालिदाले आश्चर्यजनक जित हात पारिन्। उनलाई इस्लामिक समूहहरूले समर्थन गरे। हसिनाको हार भयो।

र, खालिदा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनिन्। उनले राष्ट्रपतीय प्रणाली बदलेर संसदीय व्यवस्था स्थापित गरिन्। जसमा शक्ति प्रधानमन्त्रीमा हुन्थ्यो। उनले विदेशी लगानीमा प्रतिबन्ध हटाइन्, प्राथमिक शिक्षा अनिवार्य र निशुल्क गरिन्।

१९९६ मा चुनाव भयो। उनले चुनाव जितिन् पनि। तर, त्यो चुनाव हसिनाको अवामी लिगसहित प्रमुख विपक्षी दलले बहिष्कार गरेका थिए। प्रधानमन्त्रीमा उनको दोस्रो कार्यकाल १२ दिन मात्र टिक्यो। त्यसपछि चुनाव गराउन कामचलाउ सरकार गठन गरियो। र, त्यसपछिको चुनाव भने हसिनाले जितिन्।

पाँच वर्षपछि खालिदा फेरि चुनाव जितेर सत्तामा फर्किइन्। तर, उनको यो कार्यकालमा इस्लामिक समूहहरूको उदय र भ्रष्टाचार आरोपका कारण भद्रगोल रह्यो।

२००४ मा हसिनाले सम्बोधन गरिरहेको एक सभामा ग्रिनेड आक्रमण भयो। हसिना त बाँचिन् तर २० जनाको ज्यान गयो भने ५ सय घाइते भए। 

सो घटनाका लागि खालिदाको सरकार र उनका इस्लामिक सहयोगीहरूलाई दोष दिन थालियो। २०१८ मा खालिदाका जेठा छोरामाथि मुद्दा चलाइयो र सो आक्रमणमा दोषी ठहर गर्दै जन्मकैदको सजाय दिइयो। तर, उनी बेलायतमा बस्छन्।

पछि खालिदाले इस्लामिक समूहहरूमाथि दमन गरे पनि उनको प्रधानमन्त्रित्व हिंसा र अस्थिरताका बीच २००६ मा अन्त्य भयो। र, अन्तरिम सरकार गठन गरियो।

अन्तरिम सरकारले खालिदा र हसिना दुवैलाई जेलमा कोच्यो, भ्रष्टाचार र अख्तियार दुरूपयोगको आरोपमा। २००८ को आमचुनावअघि दुवैलाई छाडियो।

२००८ को सो चुनाव खालिदाको बीएनपीले बहिष्कार गर्‍यो। त्यसपछि उनी सत्तामा कहिल्यै आइनन्। तर, हसिनासँगको दुस्मनी चलिरह्यो।

यी दुई पार्टीबीचको तनावले आम हड्ताल, हिंसा र कयौँको मृत्यु गरायो। 

२००९ पछि हसिनाले सत्तामा पकड मजबुत बनाइन्। २०१८ मा खालिदा र उनका जेठा छोरालाई एक अनाथलयलाई प्राप्त अढाई लाख डलर रकम चोरेको आरोपमा दोषी ठहर गरियो। 

खालिदालाई जेलमा हालियो। तर, स्वास्थ्य कमजोर बन्दै गएकाले मार्च २०२० मा उनलाई रिहा गरियो। त्यसयता उनी घरमै नजरबन्दमा थिइन्। 

बंगलादेशको भविष्यबारे अनिश्चय त कायम छ। तर, हसिना शासनको अन्त्यसँगै खालिदाले भने वृद्धावस्थामा स्वतन्त्रताको सास फेर्न पाएकी छन्। 

हसिनाका छोराले अब आमा राजनीतिमा नफर्किने बताएका छन्। सायद यो दुई बेगमको झगडाको अन्त्य पनि हुनसक्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .