हमास नेता इस्माइल हनियाको हत्याको बदलामा इरानले आक्रमण गर्न लागेको भन्दै इजरायलले हारगुहार गरेपछि अमेरिकाले मध्यपूर्वमा सैन्य तैनाथी बढाउने भएको छ।
अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले गाइडेड क्षेप्यास्त्र प्रहार गर्ने पन्डुब्बी जहाज तैनाथ गर्न आदेश दिएका छन्।
त्यस्तै लोइडले यूएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुपलाई पनि चाँडो मध्यपूर्व पठाउन आदेश दिएको पेन्टागनले जनाएको छ। सो विमानवाहक युद्धपोत एफ–३५ लडाकु विमानले सुसज्जित छ।
हानियाको हत्यापछि तनाव चर्किरहेको बेला अमेरिकाले यी युद्धपोत सो क्षेत्रमा खटाउन लागेको हो। इरानले सो हत्याको बदला लिने बताएको छ।
आइतबार इजरायली रक्षामन्त्री योहाव गलान्टले अस्टिनसँग कुरा गर्दै इरानले सैन्य तयारी बढाएको बताएका थिए। उनले इजरायलमाथि ठूलो आक्रमण गर्न लागेको संकेत देखिएको भन्दै सहयोगका लागि आग्रह गरेका थिए।
हमासले भने अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको युद्धविराम सम्झौता लागू गर्न माग गरेको छ। मध्यस्थकर्ताहरुले इजरायल र हमासलाई नयाँ चरणको वार्तामा बोलाएपछि हमासले यस्तो जवाफ दिएको हो। एजेन्सी
Shares
प्रतिक्रिया