कोरोनाको प्रकोपबाट बच्नका लागि सिक्किमले बिहीबारदेखि सबै इनरलाइन परमिट रद्द गरेको छ। यसको अर्थ आजदेखि सिक्किम आउने विदेशीहरूको प्रवेशमा पूर्ण रूपले रोक लगाइएको छ।
यसका साथै नेपालसँग जोड़िएको सिक्किमको सीमा क्षेत्र चिवाभञ्ज्याङलगायत राज्यका सबै नाकामा चौबिसै घण्टा निगरानी टिम खटाइएको छ। बुधबार राज्यको सचिवालय टाशिलिङमा बसेको उच्चस्तरीय बैठकमा यस्तो निर्णय गरिएको हो। बैठकमा मुख्यसचिव लगायत अन्य उच्चाधिकारी उपस्थित थिए।
कोरोनाको प्रकोपबाट सिक्किमलाई सुरक्षित राख्न लागि उच्च सतर्कता अपनाइने निर्णयअनुरूप इनरलाइन परमिट रद्द गर्नका साथै राज्यका सबै नाकामा चौबिसै घण्टा निगरानी टिम तैनाथ गरिने भएको हो। बैठकमा विशेषगरी भारतमा कोरोनाको बढ़्दो सङ्क्रमणबारे चिन्ता व्यक्त गर्दै सम्भावित खतराबाट सिक्किमलाई जोगाउनका लागि उचित र प्रभावकारी कार्ययोजना र सतर्कता अत्यावश्यक रहेको ठहर गरिएको थियो।
बैठकमा विद्यालय-विद्यालयमा कोरोना भाइरसबारे सचेतना फैलाउने, राज्यका सबै प्रमुख अस्पतालमा आइसोलेशन र क्वारेन्टाइन वार्ड स्थापना गर्ने निर्देश दिएको छ। यसका साथै विदेश भ्रमणमा नजाने सिक्किमवासीलाई अपील गरिएको छ।
यसैगरी सिक्किमका स्वास्थ्य मन्त्री डा. एमके शर्माले हिजै आपत्कालीन पत्रकार सम्मेलन आयोजन गरी राज्यको स्वास्थ्य विभागले कोरोना भाइरसलाई सिक्किम छिर्न नदिनका लागि अघिबाटै सुरक्षा उपाय अपनाएको बताए। स्वास्थ्य मन्त्री शर्माले राज्यवासीलाई कोरोना भाइरसलाई लिएर सचेतना अपनाउने आह्वान गर्दै उच्च सतर्कताको खाँचो रहेको बताएका छन्।
Shares
प्रतिक्रिया