यस हप्ता बेलायतमा धेरै मानिसका लागि स्कुल फेरि खोलिएका छन्।
तर अर्कातर्फ अफगानिस्तान छ, जहाँ तालिबानले महिलालाई स्कुल जान प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका धेरैजसो सार्वजनिक स्थानमा पनि महिलालाई निषेध गरिएको छ।
२२ वर्षीया माह सन् २०२१ अगस्टमा अफगानिस्तानको राजधानी काबुलमा तालिबान प्रवेश गरेपछि देश छाडेर भागेकी थिइन्।
हाल उनी बेलायतमा पढ्दैछिन्। माहले यसै हप्ता अंग्रेजीमा जीसीएसई (जनरल सर्टिफिकेट अफ सेकेन्डरी एजुकेसन) अध्ययन थालेकी छन्।
उनले बीबीसी न्युजबिटसँग भनिन्, ‘म खुसी छु, सुरक्षित छु। मलाई स्वतन्त्रता छ, म स्वतन्त्र छु।’
उनले थपिन्, ‘तर अहिले अफगानिस्तानमा रहेका मेरा साथीहरूले केही गर्न पाउँदैनन्।’
प्रतिबन्धमा अफगान महिला
तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको झन्डै ३ वर्ष भइसकेको छ र यस अवधिमा महिलाको जीवनमा प्रतिबन्धका सूची बढेको छ।
१२ वर्षभन्दा माथिका महिला तथा बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाइएको छ। उनीहरूलाई अधिकांश विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुनबाट वञ्चित गरिएको छ।
महिलाहरूलाई बाहिर काम गर्न प्रतिबन्ध लगाइएको छ। सौन्दर्य सैलुन बन्द गराइएका छन्। अनि महिलालाई पार्क, जिम र खेलकुद क्लबमा जान पनि रोक लगाइएको छ।
‘जब म खुसी हुन्छु, साथीहरूसँग घुम्न निस्कन्छु वा स्कुल जान्छु, आफ्ना तस्बिर (ह्वाट्सएप वा इन्स्टाग्राममा) पोस्ट गर्दिनँ’, माह भन्छिन्, ‘किनभने म मेरा साथीहरू (जो अफगानिस्तानमा छन्) लाई ‘ऊ पो बेलायतमा छे, स्वतन्त्र भएकी छे भन्ने खिन्नता महसुस गराउन चाहन्नँ।’
कार्डिफमा बस्ने माहलाई अंग्रेजीमा जीसीएसई हासिल गर्न सके वेल्समा मिडवाइफ बन्न सजिलो हुने आशा छ।
उनी भन्छिन्, ‘म यहाँ कलेज जान सक्छु, काम गर्न जान सक्छु। तर यति नै बेला आफ्नो देश (अफगानिस्तान) मा रहेका मेरै उमेरका मेरा साथी, घरबाहिर निस्कन पनि पाउँदैनन्।’
तालिबानले धार्मिक मुद्दाका कारण प्रतिबन्ध लगाएको दाबी गरिरहेको छ। तालिबानले बारम्बार के वाचा गरेको छ भने सबै समस्या समाधान भएपछि महिलाहरूलाई पुनः स्कुल/कलेज भर्ना गरिनेछ र पाठ्यक्रम इस्लामिक हुनेछ।
तर त्यसयता प्रतिबन्धको विषयमा कुनै प्रगति भएको छैन र अफगानिस्तान मात्र एउटा यस्तो देश हो, जहाँ महिलालाई त्यस्तो प्रतिबन्ध लगाइएको छ।
सजिलो थिएन माहको यात्रा
आफ्नो देश छाडेर बेलायत आउनु र त्यसपछि कार्डिफमा अध्ययन गर्नु, माहको यात्रा त्यति सजिलो थिएन।
तालिबानको कब्जामा रहँदा उनी पहिले हेलमान्ड प्रान्तमा गइन्, त्यहाँबाट कान्दाहार पुगिन् र त्यसपछि काबुल आइन्।
त्यहाँ पुगेको तीन दिनपछि उनले काबुलका सडक तालिबानको कब्जामा रहेको देखिन्।
उनी भन्छिन्, ‘यदि म अफगानिस्तानमा भएको भए सायद उनीहरूले मलाई मार्ने थिए वा मेरो बिहे गराइदिन्थे। मैले आमालाई फोन गरेर भनेँ- आमा म जाँदै छु। उहाँले सोध्नुभयो– कहाँ? मैले भनेँ– मलाई नै थाहा छैन।’
माह अन्ततः अन्य शरणार्थीसँग बेलायत पुगिन्, जहाँ उनको स्वागत गरियो।
उनी भन्छिन्, ‘हामी सबै खाली हात आएका थियौँ। मैले आमासँग राम्ररी बिदा पनि माग्न पाइनँ। मैले उहाँलाई अँगालो पनि हाल्न पाइनँ। म त्यो क्षण कहिल्यै भुल्न सक्दिनँ।’
उनी थप्छिन्, ‘त्यो ठाउँ अब सुरक्षित छैन, तर अफगानिस्तान त्यही स्थान हो, जहाँ म बढेँ, पढेँ। म देशलाई भुल्न सक्दिनँ, म ती सबै एक-एक कुरा धेरै सम्झन्छु।’
कार्डिफमा यस्तै मामिलामा सहयोग गर्ने ठूला युवा संगठनमध्ये एक ‘उर्द’बाट माहले मद्दत पाइन्।
उर्दका प्रमुख कार्यकारी शान लुइसका अनुसार जो जति भागेर वेल्स पुगे र अध्ययन गरे, ती व्यक्ति अहिले दोभाषे भएका छन्।
उनी भन्छिन्, ‘सुरुमा उनीहरूले यहाँ उर्दूमा अध्ययन गरे र त्यसपछि तिनीहरूमध्ये धेरै जना वेल्सका विभिन्न स्थानमा बस्न गए। यसले उनीहरूका लागि धेरै ढोका खोलिदिएको छ।’
जतिेला माह बेलायत पुगेकी थिइन्, त्यतिबेला उनलाई अंग्रेजी बोल्न आउँदैनथ्यो।
उनी सुनाउँछिन्, ‘त्यो समय निकै गाह्रो थियो, कसैलाई चिन्दिनँथेँ, मेरा लागि सबै कुरा नयाँ थिए।’
तर तीन वर्षपछि माहले बीबीसी न्युजबिटलाई अंग्रेजीमा अन्तर्वार्ता दिएकी छन्, जुन पूरा २० मिनेटसम्म चलेको थियो। र, अहिले उनी वेल्स सिक्दै छिन्।
उनी भन्छिन्, ‘यहाँका मानिसहरूले हरेक दिन भगवान्लाई धन्यवाद दिनुपर्छ। यहाँ महिलालाई अधिकार छ, यहाँ जनताले जे चाहन्छन् त्यो गर्न खुला छ, उनीहरू सुरक्षित छन्। उनीहरू खुसी हुनुपर्छ। उनीहरू धेरै भाग्यमानी छन्।’
अकदासले पनि छाडिन् देश
१७ वर्षीया अकदास पनि अफगानिस्तान छाडेर अर्को देशमा आएकी छन्। अकदास आफ्नो जन्मभूमिबाट करिब १२ हजार माइल टाढा अमेरिकामा बस्छिन्।
उनले न्यु मेक्सिकोको एक कलेजबाट पूर्ण अनुदान प्राप्त छात्रवृत्ति प्राप्त गरेकी छन्।
तालिबानले काबुल कब्जा गरेको दिन सम्झँदै उनी भन्छिन्, ‘मैले केही बुझ्नै सकिरहेको थिइनँ, के गर्र्ने? अब तिनीहरूले मेरो अधिकार खोस्छन्? मैले पनि अब २० वर्षअघि मेरी आमालेझै हिंसा भोग्नुपर्ने हो?’
उनी अगाडि भन्छिन्, ‘मैले मेरी आमा रोइरहेको देखेँ, उहाँ मेरो काँधमा हात राखेर तालिबानका कारण अब मैले आफ्नो पढाइलाई अगाडि बढाउन नसक्ने बताइरहनुभएको थियो।’
तर अकदासकी आमाले उनलाई यो पनि भनिन्, ‘तालिबान वा कुनै पनि कुनै पनि समस्यालाई आफ्नो जीवनको कथा लेख्न दिन हुँदैन।’
यसपछि अकदासले हेरात अनलाइन स्कुलको सहयोगमा गोप्य रूपमा आफ्नो अनलाइन अध्ययन जारी राखिन्।
उनी भन्छिन्, ‘मैले कहिले पनि पढाइ छाडिनँ। चाहे त्यो अनलाइन होस् वा अन्य कुनै तरिकाले।’
यी अकदासको जीवनका केही कठिन र अशान्त क्षण थिए।
जब उनले अमेरिकाका लागि छात्रवृत्ति पाइन्, तब भिसाको आवश्यकता पर्यो, तर तर अफगानिस्तानको दूतावास बन्द थियो।
उनका अनुसार त्यसपछि उनी बुबासँग मेडिकल भिसामा पाकिस्तान पुगिन्, किनभने महिलालाई एक्लै देश छाड्ने अनुमति थिएन। त्यसपछि उनी अमेरिका गइन्। अहिले उनले आफ्नो कक्षा सुरु गरिसकेकी छन्।
उनी भन्छिन्, ‘धेरैलाई लाग्छ- अफगानिस्तानमा महिलालाई पढ्न मात्रै समस्या हो। तर त्यहाँ अन्य पनि धेरै समस्या छन्, जस्तो: मानसिक स्वास्थ्य।’
अकदास थप्छिन्, ‘अफगानिस्तानका केटीहरू दिनहुँ डिप्रेसन र एन्जाइटीबाट गुज्रिरहेका छन्, तर तिनलाई कुनै सहयोग छैन।’
बीबीसी न्युजबिटसँग कुरा गर्दै बेलायती सरकारले पनि विश्वविद्यालय र विद्यालयमा महिलालाई लगाइएको प्रतिबन्धको कडा निन्दा गरेको छ र तालिबानलाई यी निर्णय फिर्ता लिन र अफगान महिलाहरूको अधिकार रक्षा गर्न आह्वान गरेको छ।
बीबीसी न्युजबिटले महिलालाई शिक्षामा लगाइएको प्रतिबन्धबारे प्रतिक्रिया लिन तालिबान सरकारसँग सम्पर्क गरेको थियो, तर जवाफ प्राप्त भएन।
Shares
प्रतिक्रिया