गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा आरके शर्माले आधिकारिकताको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता गरेका छन्।
उनले सोमबार पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो।
रिट निवेदकमा केशव पौडेल, ठाकुरप्रसाद ढुंगानासमेत छन् ।
गत अक्टोबरमा सम्पन्न ११ औँ महाधिवेशनबाट आफू विधिवत् निर्वाचित भएको जिकिर गर्दै शर्माले दायर गरेको रिटमा बद्री केसी धाँधली गरेर निर्वाचित भएको जिकिर गरेका छन्।
‘प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पठाएर गैरआवासीय नेपाली संघको विवादको स्थायी समाधानका लागि ११ औँ महाधिवेशनबाट विधिवत् रुपमा निर्वाचित हामी निवेदकहरूलाई काम गर्न दिनु दिलाउनु भनी प्रत्यर्थी परराष्ट्र मन्त्रालय र प्रत्यर्थी गैरआवासीय नेपाली संघको कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ’, रिटमा भनिएको छ।
यसैगरी बद्री केसीलगायतले अदालतलाई गुमराहमा राखेको आरोप पनि रिटमा लगाइएको छ।
साथै निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई अध्यक्षको हैसियतमा काम कारबाही गर्न दिन अन्तरिम आदेशको पनि माग पनि शर्माले गरेका छन्।
गत अक्टोबरमा सम्पन्न निर्वाचनमा बद्री केसी अध्यक्ष पदमा निर्वाचित भएका थिए। तर, त्यतिबेला अध्यक्षका प्रत्यासीहरू शर्मा र महेश श्रेष्ठले धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गरी बेग्लै समिति घोषणा गरेका थिए।
त्यसयता एनआरएनएमा विवाद चर्किएकै बेला सर्वोच्च अदालतले गत २०८० चैत २१ मा १०औँ महाधिवेशनलाई अवैध ठहर गरी एकताको महाधिवेशन गर्न आदेश दिएको थियो।
त्यसपछि परराष्ट्र मन्त्रालयले केसीलाई काम कारबाही गर्न रोक लगाएपछि उनी अदालत गएका थिए। सो मुद्दामा साउनमा २२ मा अदालतले परराष्ट्रको पत्र अवैध ठहर गर्दै केसीलाइ काम गर्न बाटो खुलाइदिएको थियो।
Shares
प्रतिक्रिया