बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना भएकी छन्।
उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनका अनुसार जिया बिरामी भएकाले मेडिकल बोर्डको सल्लाहमा उनलाई बुधबार राति अस्पताल भर्ना गरिएको हो।
राति केही चेकजाँचपछि बिहान पनि खालिदा जियाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए।
बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष ७९ वर्षीय पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि मधुमेह, कलेजोको सिरोसिस, मुटुसम्बन्धी रोग, फोक्सो र मृगौला र जोर्नीशोथ जस्ता धेरै रोगबाट पीडित छन्।
हालै बंगलादेशमा चलिरहेको सत्ताविरोधी आन्दोलन र राजनीतिक उथलपुथलका बीच शेख हसिनाले प्रधानमन्त्री पद त्याग्दै भारत भागेपछि गठित अन्तरिम सरकारले खालिदा जियालाई जेलबाट रिहा गर्न आदेश दिएको थियो।
जेलबाट छुटेपछि उनी स्वास्थ्यलाभका लागि अस्पताल भर्ना भएर धेरै दिनपछि डिस्चार्ज भएकी थिइन्।
खालिदा जियालाई शेख हसिनाको कट्टर प्रतिद्वन्द्वी मानिन्छ। उनी सन् २०१८ देखि भ्रष्टाचार अभियोगमा जेलमा थिइन्।
Shares
प्रतिक्रिया