अभूतपूर्व खडेरीका कारण चारो अभाव भएपछि जिम्बावेले २ सयवटा हात्ती मार्न आदेश दिएको छ। यसले सो जनावरको बढ्दो जनसंख्या रोक्न सहयोग गर्ने वन्यजन्तु हेर्ने निकायले बताएको छ।
‘जिम्बावेमा चाहिनेभन्दा ज्यादा हात्ती छन्,’ मुलुकका वातावरणमन्त्रीले बुधबार संसदमा भनेका थिए।
सोहीकारण २ सय हात्तीलाई मार्ने प्रक्रिया अघि बढाउन जिम्बावे पार्क्स एन्ड वाइल्डलाइफ अथोरिटीलाई निर्देशन दिइएको उनले बताए।
जहाँ हात्ती र मानिसबीच द्वन्द्व बढी हुन्छ, ती क्षेत्रमा हात्ती मारिने अथोरिटीका महानिर्देशक फुल्टन माङवान्याले बताएका छन्।
जिम्बावेमा करिब एक लाख हात्ती रहेको अनुमान छ। जुन बोत्स्वानापछिको दोस्रो ठूलो जनसंख्या हो।
जिम्बावेको ह्वाङ्गे राष्ट्रिय निकुन्जमा मात्र ६५ हजारभन्दा बढी हात्ती छन्। जुन सो निकुन्जको क्षमताभन्दा चार गुणा बढी हो।
यसअघि जिम्बावेले अन्तिमपटक १९८८ मा हात्ती मारेको थियो।
छिमेकी नामिबियाले पनि यसैसाल १६० वटा वन्यजन्तु मारिसकेको छ। ८३ हात्तीसहित ७ सयभन्दा बढी जन्तु मार्ने योजना रहेको सो मुलुकले जनाएको छ।
अफ्रिकाको दक्षिणी क्षेत्रका यी मुलुकहरुले खडेरीका कारण संकटकाल नै घोषणा गरेका छन्।
जिम्बावेका ४२ प्रतिशत मानिस गरिबीमा बाँचिरहेको राष्ट्रसंघको आकलन छ। एजेन्सी
Shares
प्रतिक्रिया