बेलायतमा कोरोना संक्रमणले भयावह रुप लिएसँगै नेपालीको मृत्युको संख्या दिनदिनै बढिरहेको छ। आइतबारसम्म कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या आठ पुगेको छ भने गत हप्ता मृत्यु भएका दश जना पूर्व गोरखाको कारण खुल्न बाँकी छ।
लन्डनको सडवरी टाउन बस्ने ३९ वर्षीया पुष्पा घलेको कोरोनाकै कारण शनिबार मृत्यु भएको छ। उनी बेलायतमा कोरोनाबाट ज्यान गुमाउने आठौं नेपाली हुन् र, अहिलेसम्म पुष्टि भएकामध्ये पहिलो महिला हुन्।
पुर्ख्यौली घर कास्की पोखरा भएकी घलेको स्वास्थ्य स्थिति खराब भएसँगै शनिबार अचानक श्वासप्रश्वासमा पनि गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना गरिएको थियो।
अस्पताल पुर्याएको करिब ४ घण्टामा घलेको मृत्यु भएको हो। एक केयर होममा काम गर्दै आएकी घले श्रीमानसँग १० वर्षदेखि लन्डनमा बस्दै आएकी थिइन्। उनीहरूका एक छोरा छन्।
घलेको मृत्यु भएपछि परिवारका सबै जना आइसोलेसनमा बसेका छन्।
घलेसँगै बेलायतमा पूर्व गोरखा र अन्य सहित आठ जना नेपालीको मृत्यु कोरोना संक्रमणले भएको पुष्टि भएको छ। नेपालखबरले प्राप्त गरेको अर्को एक सूचीमा एक हप्ताभित्र बेलायतमा मृत्यु भएका थप १० जना पूर्व गोरखा सैनिकको नाम छ। तर उनीहरूको मृत्यु कोरोना संक्रमणले भएको हो वा अन्य कारणले पनि हो भन्ने पुष्टि भइसकेको छैन।
बेलायतमा कारोना संक्रमणबाट आइतबार एकै दिन ७ सय ३७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट बेलायतलमा हालसम्म १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ भने ८४ हजारभन्दा बढी यो संक्रमित भएका छन्।
प्रतिक्रिया