बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या दैनिक बढिरहेको छ। करिब डेढ महिनामा कोरोनाका कारण बेलायतमा ६० जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले सोमबार पुष्टि गरेको छ।
विदेशमा कोरोनाबाट नेपालीको मृत्यु भएको यो नै सबैभन्दा धेरै संख्या हो।
दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बेलायतमा आजसम्म ६० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए।
‘हामीकहाँ आएको रेकर्डअनुसार कोरोनाबाट बेलायतमा अहिलेसम्म ६० जना नेपालीको मृत्यु भइसकेको छ, दिनहुँ नेपालीको मृत्युको खबरले हामी सबैलाई दुखी बनाएको छ,' उनले नेपालखबरसँग भने, ‘सबै मृतकका परिवारप्रति दूतावासको तर्फबाट समवेदना प्रकट गर्दछौं।'
कोरोनाबाट मृत्यु भएका नेपालीमध्ये गोरखा भूतपूर्व सैनिकहरुको संख्या बढी छ। दूतावासका अनुसार मृतक ६० मध्ये ४९ जना गोरखा भूतपूर्व सैनिक र तिनका परिवारका छन्। त्यस्तै मृत्यु भएकामध्ये ५० जना पुरुष र १० जना महिला छन्।
कोरोनाबाट मृत्यु हुनेमा नेपालीमा सबैभन्दा बढी उमेर ९५ वर्ष र कम उमेर ३२ वर्ष छ।
प्रतिक्रिया