सिक्किममा घुम्न आउने अब पर्यटकहरूले कोविड जाँच गरेको आरटीपीसीआरको नेगिटिभ रिपोर्ट ल्याउन अनिवार्य छ। कोभिड जाँच ७२ घण्टाभित्र गरिएको हुनपर्नेछ।
आज कोभिड नियन्त्रणसम्बन्धी राज्यको गृह विभागले जारी गरेको आदेशमा यसबारे जानकारी गराइएको छ। आदेशका अनुसार यो नियम अप्रेल ७ देखि लागू हुनेछ।
यदि पर्यटकहरूले कोभिड जाँच गरेको आरटीपीसीआरको नेगिटिभ रिपोर्ट नल्याएको खण्डमा सम्बन्धित ट्राभल्स एजेन्ट, होटल र होम स्टे मालिकहरूले ती पर्यटकहरूको आरटीपीसीआररट्रु नेट टेस्ट राज्यका निर्दिष्ट जाँच केन्द्रहरूमा गराउनुपर्नेछ।
अर्कोतिर, कोरोना नियन्त्रणलाई ध्यानमा राखेर अब राज्य सरकारी कार्यालयहरू शनिबार र आइतबार बन्द रहनेछन्।
साथै आवश्यकीय यातायात सेवाहरूलाई छोड़ेर अन्य सवारी साधनहरू राति १०ः३० बजेदेखि बिहानको ६ बजेसम्म ठप्प रहनेछ।
त्यसैगरी रेस्टुराँ, नाइट क्लब, बार, डिस्को, पब र जिम रातिको १० बजेपछि बन्द रहनेछ।
उल्लेखनीय छ, सिक्किममा अहिले कोरोना भाइरसको संक्रमण धेरै नियन्त्रित छ।
यद्यपि देशका अन्य प्रान्तहरू कोरोना भाइरसको दोस्रो लहर तीव्रसँग बढ़्न सुरू भएपछि सिक्किमले सतर्कता अप्नाउँदै यस्तो पदक्षेप लिएको हो।
आज राज्यमा केवल दुइजना कोरोना संक्रमित भेटिए, तीमध्ये एकजना पूर्व र अर्का दक्षिण जिल्लाका हुन्।
सुरूदेखि अहिलेसम्म सिक्किममा ६ हजार २ सय ३५ जना कोरोना संक्रमित भएका छन्, जसमध्ये ५ हजार ९ सय ५५ जना निको भइसकेका छन्।
त्यसरी नै कोरोना भाइरसका कारण हालसम्म १३५ जनाले ज्यान गुमाइसकेका छन्। अहिले सिक्किममा सक्रिय मामिला ४७ रहेको छ।
प्रतिक्रिया