अस्ट्रेलियामा १० हजार डोनट्स चोरेको अभियोगमा एक महिलाविरुद्ध मुद्दा चलिरहेको छ। उनले क्रिस्पी क्रेमे नामक कम्पनीको डेलिभरी भ्यानबाट १० हजार डोनट्स चोरेको अभियोग लागेको छ।
बीबीसीका अनुसार घटना गत नोभेम्बर २९ तारखिको हो। जुन दिन सिड्नीको पेट्रोल पम्पबाट डेलिभरी भ्यान हराएको थियो। एक हप्तापछि प्रहरीले उक्त भ्यान कार पार्कमा अलपत्र अवस्थामा फेला पार्यो, जसमा हजारौँ बिग्रिएको डोनट्स थिए।
यस घटनामा प्रहरीले बिहीबार २८ वर्षीया एक महिलालाई पक्राउ गरेको हो। अदालतले उनलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ। उनीविरुद्ध कार चोरीको आरोप पनि लागेको बीबीसीले उल्लेख गरेको छ।
पेट्रोल पम्पको सीसीटीभी फुटेजमा देखिएको दृश्यअनुसार स्थानीय समय बिहान ४ बजे महिला सर्भिस स्टेसननजिकै देखिन्छिन्। उनी त्यहाँ पार्क गरिएको डेलिभरी भ्यानमा प्रवेश गर्छिन् र त्यसपछि त्यहाँबाट गाडी लिएर निस्किएको देख्न सकिन्छ।
भ्यानमा दस हजार डोनट्स राखिएको कुरा महिलालाई थाहा थियो वा थिएन भन्ने अझै स्पष्ट भएको छैन। क्रिस्पी क्रेमेले यस घटनाबारे प्रहरीमा उजुरी दिएको थियो।
Shares
प्रतिक्रिया