भारतका ७ राज्यका १३ विधानसभा सिटमा भएको उपनिर्वाचनको मतगणना जारी छ।
भारतीय निर्वाचन आयोगले अहिलेसम्म पन्जाबको जालन्धर पश्चिम सिटको मात्रै नतिजा आधिकारिक रूपमा घोषणा गरेको छ।
यस सिटमा आम आदमी पार्टीका उम्मेदवार मोहिन्दर भगत विजयी भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार शीतल अंगुराललाई ३७ हजारभन्दा बढी मतान्तरले हराएका हुन्। यो सिटमा कांग्रेसकी सुरिंदर कौर तेस्रो भएकी छन्।
निर्वाचन आयोगको वेबसाइटका अनुसार मतगणना सुरु भएको करिब ५ घण्टापछि भाजपा १ सिटमा अगाडि छ। यो सिट हिमाचल प्रदेशको हमिरपुर विधानसभा सिट हो।
यसबाहेक कांग्रेस ५ तथा टीएमसी पश्चिम बंगालका सबै ४ सिटमा अगाडि भइरहेका छन्।
जेडीयू र डीएमके एक–एक सिटमा अगाडि छन्।
विधानसभाको उपचुनावका लागि मतगणना भइरहेको सिटमध्ये पश्चिम बंगालमा सबैभन्दा बढी ४ सिट छ भने हिमाचल प्रदेशमा ३ र उत्तराखण्डमा २ सिट छन्।
यसबाहेक बिहार, तमिलनाडु, मध्य प्रदेश र पन्जाबका एक/एक विधानसभा सिटका लागि भएको उपचुनावको आज बिहान ८ बजेदेखि मतगणना जारी छ।
Shares
प्रतिक्रिया