२०५३ साल ताका। दीपक श्रेष्ठले फिल्म 'गाउँले' मार्फत निर्देशनमा डेब्यु गरे। जसको मुख्य कलाकार थिए राजेश हमाल र विपना थापा। पहिलो फिल्म नै चलेपछि दीपकको उकालो यात्रा सुरु भयो।
त्यसपछि उनले आमाको आशीर्वाद, पापी मान्छे, दु:ख, पर्खी बसेँ, हिम्मत लगायत दर्जनौँ सफल फिल्म दिए। तर, पछि उनी निर्देशित फिल्म चल्न छोडेपछि अफर पनि कम हुँदै गयो। पछिल्लोपटक दीपकको फिल्म 'वाचा' रिलिज भएको थियो। जुन फिल्म बक्सअफिसमा नराम्ररी पछारियो। त्यसपछि दीपक पनि गुमनाजस्तै भए।
वर्षौँपछि दीपक अहिले फिल्म 'पर्खी बसेँ तिमीलाई' मार्फत ठूलो पर्दामा कमब्याक गरिरहेका छन्। यो फिल्म शुक्रबारबाट रिलिज हुँदैछ। उनै निर्देशक दीपक श्रेष्ठसँग नेपालखबरले गरेको कुराकानी :
'पर्खी बसेँ तिमीलाई' रिलिजको संघारमा छ, कत्तिको दबाब महसुस भइरहेको छ?
हुन त यो मेरो २७ औँ चलचित्र भएछ। तर, आज पनि मलाई पहिलो चलचित्र प्रदर्शन हुँदाजस्तै लागिरहेको छ। पहिले फिल्म रिलिज हुने बेला एसएलसीको परीक्षा दिएजस्तो लाग्थ्यो। अहिले पनि त्यस्तै भइरहेको छ। हामीले फिल्म बनाएर मात्रै हुँदैन। दर्शकलाई मन पर्छ कि पर्दैन, फिल्मलाई कसरी लिनुहुन्छ, यी कुराहरु हरेक चलचित्र रिलिज हुँदाखेरी लाग्दोरहेछ। अहिले पनि म एउटा विद्यार्थीजस्तै रिजल्टको पर्खाइमा छु।
त्यो बेला हिट फिल्म दिने निर्देशक, पछिल्लो समय तपाईंका फिल्म दर्शकले पर्दामा हेर्न नपाएको धेरै भयो नि?
लामो समयदेखि फिल्म क्षेत्रमा हुनुहुन्छ, पहिलेभन्दा अहिलेको नेपाली फिल्म उद्योग कति फरक देख्नुहुन्छ?
समयअनुसार हरेक कुरा परिवर्तित हुँदै जान्छ। र, हामीले पनि परिवर्तन हुने प्रयास गर्नुपर्छ। जुन बेलामा मैले लाइमलाइटमा धेरै चलचित्रहरुमा काम गरेँ, त्यतिखेर रिल र सेल्युलोइड सिनेमा खिचिन्थ्यो। डिजिटल प्रविधि पनि विकास भएको थिएन। तर, आज समय बदलिएको छ। अहिले डिजिटल प्रविधि र ठूलो क्यानभासमा फिल्म खिचिन्छन्। प्राविधिक हिसाबले ठूलो फड्को मारेको छ।
तर, दु:खको कुरा, अहिले नेपाली फिल्मलाई हलमा पर्दा पाउन मुस्किल रहेछ। जुन समस्या मैले अहिले भोगिरहेको छु। २८ वर्षदेखि म नेपाली फिल्म बनाइरहेको छु। हामीले बनाएको फिल्मले नेपालकै हलमा पर्दा पाउँदैनन् भने हामी अब कहाँ जाने? मेरो फिल्मले दिनमा १५ शो चल्ने हलमा मुस्किलले एक/दुई शो पाएको छ।
यस्तो किन भइरहेको जस्तो लाग्छ?
यो सबै हुनुको कारण हो विदेशी फिल्म। अहिले नेपालमा भारतीय फिल्मको दबदबा बढी छ। साउथ इन्डियाका नाम नसुनेका कलाकारको फिल्म होस्, जे होस्, विदेशमा बनेका फिल्म छन् भने बढी शो दिइन्छ। तर, नेपाली फिल्मलाई हलले सुरुमै यो फिल्म चल्दैन भनेर शो दिनुहुन्न। जबकि उहाँहरुले फिल्म नै हेर्नुभएको छैन। आखिर पर्दा नै नपाएपछि हाम्रो चलचित्र दर्शकले कसरी मूल्यांकन गर्छन्?
दुईचार साथीबाहेक नेपालमा जतिले पनि फिल्म बनाउनुहुन्छ, ९५ प्रतिशत निर्मातालाई गाह्रो छ। जुन हविगत मैले भोगेको छु, यो धेरैको भोगाइ हो। यसले बडो दु:ख लाग्दोरहेछ।
दिनमा १५ शो हिन्दी फिल्म चल्दा आफ्नै भाषा र संस्कृति बोकेको फिल्मले पर्दामा शो नपाउनु भाषामाथिकै अतिक्रमण हो। नेताहरुमा खालि कुर्सी मोह छ।
चलचित्र यस्तो विधा हो, जसलाई निरक्षरले पनि पढ्न सक्ने पुस्तक भन्छु म। फिल्मले छिटै समाजलाई प्रभाव पार्न सक्छ। यस्तो प्रभाव पार्न सक्ने कुरामा किन मौन छ सरकार?
त्यसोभए पहिलेकै फिल्म उद्योग राम्रो थियो है?
पहिले निकै राम्रो माहोल थियो। हाम्रो सिनेमा चलाउनको लागि सिनेमाहलका मानिसहरु घरमै आउँथे। फिल्म चाहियो, फिल्म दिनुस् भन्थे। अहिले यति धेरै पर्दा हुँदा पनि नेपाली फिल्मलाई अवहेलना गरिएको छ।
मेरो फिल्मले शो पाओस् नपाओस् सांस्कृतिक अतिक्रमण ठूलो कुरा हो। कि त सरकारले नेपाली चलचित्र नबना भनेर नीति बनाइदिए हुन्छ। त्यो विकासबोर्ड पनि बन्द गरिदिए हुन्छ। बोर्ड हिन्दी फिल्मबाट आउने ३३ प्रतिशत कमिसनको हिसाब गरेर बसेको छ।
पहिलेको माहोललाई कसरी सम्झनुहुन्छ?
त्यतिखेर रिलको जमना थियो। रिल बनाउन धेरै पैसा लाग्ने भएकाले पाँच/छ वटा मात्रै रिल बन्थे। जुन रिललाई उपत्यकाभरिका हलमा पालो पुर्याउन मोटरसाइकलमा कुदाएर लगिन्थ्यो। मेरो चलचित्रहरु गाउँले, जीवनसाथी, अजम्बरी माया, दु:ख, पापी मान्छे, हिम्मत, पर्खी बसेँ रिलिज हुँदा सुरक्षाको लागि हलमा पुलिस नै बोलाउनुपरेको थियो। जति दर्शक हलभित्र हुन्थे, त्यसको चारगुणा बाहिर हुन्थे। ती पल सम्झँदा त इतिहासजस्तो लाग्छ।
जब हलमा नेपाली सिनेमाले राम्रो पर्दा पाउँछ, तब पो नेपाली फिल्मलाई माया गर्ने दर्शक बढ्ने हो नि। अब सिनेमाघरमा पर्दा नपाउँदा कसरी नेपाली फिल्मको विकास हुन्छ? ठिक छ, शुक्रबार र शनिबार नेपाली फिल्मलाई विदेशीसरह शो देऊ। चलेन भने आइतबार उत्रारिदेऊ। तर, रिलिज नै नभई शो नै नदिनु ठिक होइन। रिलिजअघि नै कम शो छुट्याउँदा दर्शकमा गलत धारणा बन्छ। शो नदिएपछि यो त राम्रो फिल्म रहेनछ भन्ने पर्छ। उहाँहरुले त्यसरी सोच्दा फिल्म स्वत: फ्लप हुन्छ।
लामो समयपछि कमब्याक, त्यसमाथि मुख्य कलाकार नै नयाँ लिएर फिल्म बनाउनु जोखिम मोलेजस्तो लागेन?
चलचित्र क्षेत्रमा जोखिम त सधैँ हुन्छ। हलिउडमा पनि ठूला बजेटमा निर्माण भएका फिल्म फ्लप भएर जान्छन्।
२७ औँ चलचित्रसम्म पनि एसएलसीको परीक्षा दिएजस्तो भइरहेको छ। जोखिमलाई आत्मसात गरेर नै काम गर्ने हो। अर्को कुरा नयाँ कलाकार भनेपछि पहिले पनि नाक खुम्चाइन्थ्यो। जुन अहिले पनि यथावत छ। नयाँ कलाकार खेल्दा पोस्टर टाँस्न पनि गाह्रो हुने अवस्था भइसक्यो।
मैले पहिलेदेखि नै यो क्षेत्रमा आउन संघर्ष गरिरहेकालाई जोडिरहेको हुन्छु। कलाकार मात्र होइन, मैले संगीतकार, गायक र प्राविधिकहरुलाई पनि स्पेस दिएको छु। नयाँलाई अवसर दिनुपर्छ भन्ने लाग्छ।
नयाँ कलाकारभन्दा पनि म फिल्मको कन्टेन्ट राम्रो हुनुपर्छ भन्ने मान्छु। यदि फिल्मको कन्टेन्ट राम्रो छ भने दर्शकले प्राविधिक कुरा पनि हेर्नुहुन्न। दृश्यले कतिको छोयो, त्यो महत्त्वपूर्ण हो। राम्रो कन्टेन्टमा नयाँ कलाकारले राम्रो काम गरेको छ भने त्यो सफल हुनसक्छ।
फिल्मको प्रचारप्रसारको क्रममा तपाईंले बलेको आगो ताप्ने प्रवृत्ति थप मौलाएको भन्नुभयो। किन?
हुन त बलेको आगो जोकोहीले पनि ताप्छ। तर, अहिले निभेको आगो कुनै समयमा राम्रो बलेको थियो, अलिअलि भए पनि हामीले ताप पाएका थियौँ भन्ने बिर्सिँदा रहेछन्। मैले यति धेरै फिल्महरु गरेँ, अझ निरन्तर बनाउँछु भनेर लागिरहेको छु। तर, कसैले साथ दिनुभएन।
भलै मैले सबै राम्रो फिल्म बनाइनँ होला। केही विदेशका कथामा आधारित रहेर फिल्म पनि बनाएँ होला। कुनै राम्रा पनि थिए होलान्। तर, एउटा समयमा दीपक श्रेष्ठको फिल्मले नेपाली चलचित्र उद्योगलाई गतिशील त बनाएको थियो नि! जुन निरन्तरताले धेरै प्राविधिकहरुले काम पाउनुभयो। सिनेमाघर टिके होलान्। यो समयसम्म आइपुग्न फर्केर हेर्दा एउटा इँटा त थपेको छु। त्यसको मूल्यांकन नहुँदो रहेछ। धेरैले पुरानो निर्देशक पुरानै कथा भन्छ होला सोच्दा रहेछन्।
अहिले धेरैजसो कमेडी जनराका नेपाली फिल्महरु चलिरहेका छन्। के दर्शकहरुको स्वाद परिवर्तन भएको हो?
दर्शकले जहिले पनि फरकफरक स्वाद खोज्छ नै। राम्रो चिज हेर्न खोज्ने दर्शकको चाहनालाई हामीले अनर्थ लिन मिल्दैन। अहिले कमेडीदेखि राजनीतिक परिवेशका फिल्महरु चलेका छन्। त्यो पनि राम्रो कुरा हो। जस्तो जनराको फिल्म चले पनि नेपाली फिल्म चल्नुपर्यो। सबै जनराका फिल्मका आ-आफ्नै दर्शक छन्।
पर्खी बसेँ तिमीलाई लभस्टोरी जनरामा बनेको फिल्म हो। यस फिल्ममार्फत अजम्बरी प्रेमलाई देखाउने प्रयास गरेको छु। यस फिल्ममा अभिनयदेखि उत्कृष्ट गीतसंगीत छन्। जुन गीत थिएटरमा हेरेपछि त्यो गीतमा मोहित हुन्छन्।
तपाईंकै फिल्म 'पर्खी बसेँ' निकै हिट भयो। यो फिल्मको नाम पनि किन त्यस्तै राख्नुभएको?
राजबल्लभ कोइराला र युना उप्रेतीको 'पर्खी बसेँ' पनि मैले नै निर्देशन गरेको हुँ। गोपीकृष्ण मुभिजको त्यो फिल्म अत्यधिक सफल भएको थियो। खासमा यस फिल्मको शीर्षक यो थिएन। लभस्टोरी जनरामा एउटा विशुद्ध कथा लेख्न सुरु गरियो। शीर्षक त पर्खी बसेँको विकल्प नै आएन। पर्खी बसेँजत्तिको उपयुक्त कुनै शीर्षक नै भएन।
कम्पनी अलग भएकाले फिल्मको नाम पर्खी बसेँ तिमिलाई राखियो। यसमा पनि मायाप्रेमकै कथा हो। जीवनमा सबैभन्दा मिठो पल नै मायाको पर्खाइको हुन्छ। यदि चोखो माया छ भने वर्षौँ बितेको पनि थाहा हुँदैन। त्यही कथा यसमा छ।
नेपाली फिल्मको भविष्य कस्तो देख्नुहुन्छ?
नेपाली फिल्म उद्योग धराशायी बनिरहेको छ। अहिले धेरै मल्टिप्लेक्स हलहरु त खुले। विडम्बना नेपाली फिल्मले पर्दा नपाएको अवस्था छ। राष्ट्रको पनि चलचित्रसम्बन्धी नीति भएन।
अर्को कुरा, यो क्षेत्रमा लागेका मानिसहरु दिनहुँ पलायन भइरहेका छन्। अहिले अमेरिकामा नेपाली फिल्म बनाउनुपर्यो भने यताको कोही पनि चाहिँदैन। कलाकारदेखि प्राविधिक सबै उतै भेटिन्छन्। विदेश जाने मोह होला। तर, पर्दाभन्दा ठूलो मोह विदेश हुँदैन। उहाँहरु पनि यो क्षेत्रमा भविष्य नदेखेर जानु भएको हो। जुन क्रम झन बढिरहेको छ। म जीवित रहँदै नेपाली फिल्मको अस्तिस्व सकिन्छ कि भनेर डर लागिरहेको छ।
Shares
प्रतिक्रिया