प्रदेश १ का ठूला सहरहरुमा बेरुजु ह्वात्तै बढेको छ। महालेखा परीक्षकको कार्यालयले ती स्थानीय तहलाई हरेक वर्ष बेरुजु घटाउन भने पनि बेरुजु रकम बढ्दै गएको देखिएको हो।
महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार प्रदेश १ का दुई उपमहानगर र एक महानगरको बेरुजु अढाई अर्बको हाराहारीमा पुगेको छ।
विराटनगर महानगर
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार प्रदेशको एक मात्रै महानगर विराटनगरमा बेरुजु १ अर्ब ६३ करोड ५७ लाख ४३ लाख पुगेको छ।
महानगरको यो वर्ष मात्रै ७१ करोड १५ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको छ। उक्त बेरुजुमध्ये असुल गर्नुपर्ने १४ करोड ३४ लाख २० हजार रुपैयाँ, प्रमाण कागजात पेस गर्नुपर्ने २२ करोड २८ लाख ४४ हजार रुपैयाँ रहेको छ।
यस्तै, २८ करोड ३५ लाख ९९ हजार रुपैयाँ अनियमित भएको र यसलाई नियमित गर्न महालेखा परीक्षककको कार्यालयले जनाएको छ।
महानगरमा ६ करोड १६ लाख ७८ हजार रुपैयाँ पेश्की निकालिएकोमा यसको फर फराक हुन सकेको छैन।
विराटनगर महानगरपालिकामा गत वर्षसम्म १ अर्ब १६ करोड ७७ लाख ९६ हजार बेरुजु बाँकी रहेको थियो। यसवर्ष समायोजन र सम्परीक्षणबाट फर्छ्यौट एवं यो वर्ष कायम भएको बेरुजु समेत हालसम्मको अद्यावधिक बेरुजु रु १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ।
इटहरी उपमहानगर
इटहरी उपमहानगरको अद्यावधिक बेरुजु रु ७० करोड ९२ लाख ७२ हजार पुगेको छ। इटहरीमा अघिल्लो वर्षसम्म रु ४९ करोड ६ लाख ४१ हजार बेरुजु बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फर्छ्यौट एवं यो वर्ष कायम भएको बेरुजु समेत गर्दा बेरुजु रकम बढेको हो। यो वर्ष मात्रै इटहरीमा २२ करोड १४ लाख ९९ हजार बेरुजु देखिएको छ।
सो मध्ये बेरुजु असुल गर्नुपर्ने रू २ करोड २३ लाख २७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु १० करोड ४४ हजार, नियमित गर्नुपर्ने रू ९ करोड ४९ लाख ३६ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। इटहरीमा पेश्की बापत निकालिएको ४१ लाख ९२ हजार रुपैयाँको फरफराक भएको छैन।
धरान उपमहानगर
प्रदेशका ठूला सहरमध्ये सबै भन्दा कम बेरुजु धरान उप महानगरको रहेको छ। उपमहानगरपालिकाको गत वर्ष बेरुजु २९ करोड १७ लाख ६ हजार बाँकी रहेकोमा यस वर्ष समायोजन र सम्परीक्षणबाट समेत हालसम्मको अद्यावधिक बेरुजु रु ३९ करोड १६ लाख २ हजार रहेको छ।
यो वर्ष लेखापरीक्षणबाट रू १२ करोड ४० लाख ६३ हजार बेरुजु देखिएको छ।
सो मध्ये प्राप्त प्रतिक्रियाबाट रू १५ हजार फर्छ्याैट भइ बाँकी बेरुजु असुल गर्नुपर्ने रू ८२ लाख ७७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५ करोड ३४ लाख २४ हजार, नियमित गर्नुपर्ने ५ करोड ६१ लख ८० हजार र पेश्की रू ६१ लाख ५७ हजार रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
प्रतिक्रिया