प्रदेश १ सरकारले प्रदेश सभाको प्रथम अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन यही पुस १७ गते आइतबार अपरान्ह ०१ः०० बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।
प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही बमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा प्रदेश सभा आह्वानबाहेकका कार्यसूची नभएकाले अन्य कुनै निर्णय नभएको मन्त्री घिमिरेले बताए।
सोमबार प्रदेश १ का नवनिर्वाचित सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका थिए।
प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले प्रदेश सांसदहरूलाई शपथ ग्रहण गराएका हुन्।
९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना सांसद छन्।
प्रतिक्रिया