सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्षसहितको समूहको कुटपिटबाट सात जना घाइते भएका छन्।
जग्गा विवादको निहुँमा गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले मंगलबार बिहान ११ बजेतिर छिमेकीलाई लखेटी–लखेटी निर्घात कुटपिट गरेका हुन्। कुटपिटबाट एकै परिवारका सात जना घाइते भएका छन्। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
यादवको समूहको कुटपिटबाट भोक्राहा नरसिंह गाउँपालिका–३ फुलचोकका ४५ वर्षीय राजकुमार मण्डल, सोही ठाउँका ५५ वर्षीय सत्यनारायण मण्डल, ३६ वर्षीय पवन मण्डल, ४५ वर्षीय सुवर्ण मण्डल, ४५ वर्षीय देवकीदेवी मण्डल, ७६ वर्षीय गौरी देवी मण्डल र २४ वर्षीया रन्जनाकुमारी मण्डल घाइते भएको सुनसरी प्रहरीले जनाएको छ।
घाइते सबैको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको छ। घाइतेमध्ये सबैभन्दा गम्भीर अवस्था ४५ वर्षीय राजकुमार र पवनको छ। राजकुमारको टाउकोमा रगत जमेको चिकित्सकले बताएका छन्। पूर्वअध्यक्ष यादवको आक्रमणबाट सत्यनारायणको दाहिने हात भाँचिएको छ।
यस्तै, पवनको टाउकोमा गहिरो चोट लागेका कारण ९ टाँका लगाउनुपरेको छ। सुवर्णको देब्रे हात काटिएको छ भने गौरीदेवीको ढाडमा र रन्जना कुमारीको तिघ्रामा गहिरो चोट लागेको छ।
घाइते हुनेहरू एकै परिवारका सदस्यहरू हुन्। उनीहरूमाथि आक्रमण गर्ने सबै महेन्द्र यादवका छिमेकी हुन्।
घाइतेका आफन्त देवकुमार मण्डलले महेन्द्र यादवसहित, जीत नारायण यादव, लक्ष्मी यादव, जयप्रकाश यादव, दिपक यादव, राजकुमार यादव, रामदेव यादव, ढुनाइ यादव, विरेन यादव र ओमप्रकाश यादवले रड, भाटा, मुङग्रोले लखेटी लखेटी आक्रमण गरेको आरोप लगाएका छन्।
आक्रमणको आरोप लागेका महेन्द्र यादवले दाजु ढुनाइ यादवले वर्षौदेखि भोगचन गर्दै आएको आफ्नो जग्गा जोत्न जाँदा विपक्षीहरूले रोकेपछि झडप मात्र भएको दाबी गरे।
प्रतिक्रिया