प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ।माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठक बसिरहेको छ।बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु छान्ने छ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले आलोपालोको सहमति नभएको भएको भन्दै यसअघि सरकारमा सहभागिता जनाएको थिएन।
केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएको बताइएको छ। सम्भव भएसम्म आजै माओवादी सरकारमा हुने एक नेताले बताए।
माओवादी केन्द्र प्रदेश १ का इञ्चार्ज राम कार्कीको उपस्थितिमा बैठक बसिरहेको छ। बैठकमा प्रदेशका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, धर्मशिला चापागाई, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङसहित प्रदेश कमिटिका पदाधिकारी सहभागी छन्।
पार्टीको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने मन्त्रालय भागबण्डाको विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलमा रहेका छन्।
माओवादीमा मन्त्रीको आकांक्षा राख्नेमा केन्द्रीय सदस्यहरु दुर्गा चापागाईं, राजेन्द्रकुमार कार्की, गिता तिम्सिना, जीवन आचार्य, कज्र्याङ शेर्पा, पार्टीको प्रदेश कमिटि सदस्य गणेश उप्रेती, सांसद नारायण बुर्जालगायत छन्।
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेकोले माओवादीले २ देखि ३ वटा मात्र मन्त्रालय पाउने सम्भावना छ।
प्रतिक्रिया