सुनसरीको धरानमा सोमबार साँझ ग्यास सिलिन्डर विष्फोट हुँदा ८ जना घाइते भएका छन्।
घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लका अनुसार विष्फोटमा धरान १७ की २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, इटहरी उपमहानगरपालिका ५ का ४२ वर्षीया अञ्जना राई, उनकै आमा ६६ वर्षीया रामकुमारी राई गम्भीर छन्।
त्यस्तै, अञ्जनाको छोरा ८ वर्षीय साङ्केन राई र छोरी १० वर्षीया सुनिहाङ राई, ग्यास बनाउने धरान ११ का १९ वर्षीय अनिष कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का सामान्य घाइते भएका छन्।
सविता घरधनी रहेको र अन्य भाडावाल रहेको प्रहरीले जनाएको छ।
भाडावाल अन्जना राई सोमबार साढे ४ बजे विद्यालयबाट घर आएर उक्त ग्यास जोडने क्रममा ग्यास लिक भएको थियो। ग्यास लिक भएपछि राईले ग्यास बनाउन कोशी ग्यासकै कर्मचारीलाई बोलाएकी थिइन्।
सोही क्रममा कर्मचारीहरु अनिश कार्की र बासुदेव खड्काले ग्यास जोड्ने क्रममा एक्कासी सिलिन्डर पड्किएको थियो।
घाइते सबैको बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। घाइतेको शरीरका विभिन्न भागमा आगोले पोल्नुका साथै कपाल समेत डढेको छ।
सो घटनामा घरको झ्यालका सिसासमेत फुटेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानका डीएसपी मल्लले जानकारी दिए।
प्रतिक्रिया