ad ad

कोशी


कोशीमा मुख्यमन्त्री दाबी : कार्की र आङ्बो दुवैको सूचीमा कांग्रेसका ८ सांसद, के गर्लान् प्रदेश प्रमुख?

कार्कीभन्दा पहिल्यै गरेका थिए आङ्बोले दाबी
कोशीमा मुख्यमन्त्री दाबी : कार्की र आङ्बो दुवैको सूचीमा कांग्रेसका ८ सांसद, के गर्लान् प्रदेश प्रमुख?

नेपालखबर
असोज २५, २०८० बिहिबार २०:४४, काठमाडौँ

कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य इन्द्र आङ्बोले ५ बजेतिर प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरे। उनले ४७ सांसदको हस्ताक्षर बुझाए।

त्यसको आधा घण्टापछि शेखर कोइराला पक्षका केदार कार्कीले कांग्रेसकै ८ सांसद र एमालेका ३९ सांसदसहित ४७ जनाकै हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी गरे।
 
आङ्बोले पेस गरेका ८ जनाको नाम कार्कीले पेस गरेको सूचीमा पनि छ।

कार्कीको पक्षमा हस्ताक्षर गरेका गोविन्द गिरीले केही दिनअघि कांग्रेस संसदीय दलको बैठकमा गरिएको हस्ताक्षर इन्द्र आङ्बोले प्रयोग गरेको बताए।

‘त्यसबेला सरकार बनाउन हस्ताक्षर गरिएकै होइन,’ उनले नेपालखबरसँग भने, ‘कुनै दल विशेषको नभई उपधारा ५ अनुसार सांसदको रूपमा आज प्रदेश प्रमुखकोमा पुगेर (केदार) कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी पेस गरेका छौँ।’

तर, आङ्बोले भने यसअघिकै सहमतिअनुसार सबैको हस्ताक्षर पेस गरेको दाबी गरे।

‘हिजो पनि हामीले बैठक गरेका थियौं, मुख्यमन्त्री दाबी पेस गर्नकै लागि हस्ताक्षर गरिएको हो,’ आङ्बोले नेपालखबरसँग भने, ‘केन्द्रमा शीर्ष नेताबीच मेरो नाममा सहमति जुटेपछि दाबी पेस गरिएको हो। यसमा समय हेर्दा पनि थाहा हुन्छ।’

कोशीको मुख्यमन्त्रीमा माओवादी प्रदेशसभा सदस्य इन्द्र आङ्बोको पनि दाबी पेस

रोचक पक्ष त यो छ कि आङ्बोले बुझाएको सांसदहरूको हस्ताक्षरको सूचीमा मुख्यमन्त्रीका अर्का दाबेदार केदार कार्कीको नाम पनि समावेश छ।

आङ्बो र कार्की दुवैले ४७/४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष पेस गरेर मुख्यमन्त्री आफूलाई बनाउनुपर्ने माग गरेका छन्।

तर, प्रदेश प्रमुख खापुङले भोलि शुक्रबार ५ बजेपछि मात्र निर्णय दिने उनका निजी सचिव नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

‘पहिला माननीय इन्द्र आङ्बोको दाबी पेस भएको छ। पछि फेरि कार्कीले सशरीर उपस्थित गराएका ८ जना माननीयसहित ४७ जनाको हस्ताक्षर बुझाउनुभयो,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘प्रदेश प्रमुखज्यूले भोलि छलफल गरेर निर्णय गर्छौँं भन्नुभएको छ।’

मुख्यमन्त्री दाबी पेस गरेका कार्कीले पनि प्रदेश प्रमुखले संविधान हेरेर कानुनअनुसार निर्णय गर्ने जानकारी दिएको बताए।

‘यसबारे छलफल गर्छु, भोलि ५ बजेसम्मको समय छ, बोलाएको बेला आइदिनूस्,’ खापुङको भनाइ उद्धृत गर्दै कार्कीले भने।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको दाबी पेस गर्न भोलि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका थिए।

हाल उनी प्रदेशमा विकसित घटनाक्रमबारे छलफलमा छन्।

संविधानको उपधारा ५ अनुसार जोसुकै सांसदले पनि बहुमत सांसद पुर्‍याउन सके सरकार गठन गर्न सक्ने उल्लेख छ। तर, आङ्बो र कार्की दुवैले बराबर सांसदको हस्ताक्षर पेश गरेपछि उनी अन्योलमा छन्।

केही सांसदको दुवैतर्फ हस्ताक्षर भएको छ। यसका लागि उनले सबै सांसदलाई बोलाएर हस्ताक्षर सनाखत गराउन सक्नेछन्।

यदि त्यसो नभएर राजनीतिक तहमा छलफल गरेर पनि एउटा निचोडमा पुग्न सक्नेछन्। तर, कांग्रेसकै सांसद कार्कीले पार्टीभित्र विद्रोह गरेकाले पार्टी केन्द्रको निर्णय कुर्नुपर्ने कांग्रेसका प्रवक्ता मीनबहादुर विश्वकर्माले बताए।

कोशीमा विकसित राजनीतिक घटनाक्रमलाई उनले अप्रत्यासित भनेका छन्।

बिहीबार मात्र सत्तारुढ दलका शीर्ष नेताको बैठक बसेर कोशीको मुख्यमन्त्रीका रूपमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो।

निर्णयलगत्तै आङ्बोलाई मुख्यमन्त्रीको दाबी पेस गर्न सत्तारुढ दलका नेताले तयारी बढाएका थिए। सोही कुरा थाहा पाएपछि एमालेले कांग्रेसको शेखर कोइराला पक्षलाई समर्थन गरेको हो।

एमालेको उपसभामुखसहित कोशीमा ४० सांसद छन्।

यसअघि दुईपटक मुख्यमन्त्री बने पनि एमालेका हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो।

त्यही भएर यसपटक उपधारा ५ मा भने एमालेले कांग्रेसको एउटा पक्षलाई समर्थन गरेको छ। जसको असर केन्द्रसम्म पर्ने नेताहरू बताउँछन्।

तर, सबैभन्दा पहिला बहुमत सांसदसहित दाबी पेस गरेको भन्दै आङ्बो पक्ष आफ्ना हकमा सकारात्मक निर्णय हुने अपेक्षामा छ। कार्की भने सांसद नै स्वतन्त्र हुने भएकाले उपधारा ५ अनुसार दाबी गरेको जिकिर गर्छन्।

यही किचलोबीच भोलि शुक्रबार बिहान राप्रपाको पदाधिकारी बैठक बस्ने तय भएको छ। उसले कुन पक्षलाई समर्थन गर्छ भन्ने कुराले पनि कोशी प्रदेश सभाको भविष्य निर्धारित हुन सक्नेछ। राप्रपासँग ६ सांसद छन्। तर, अब राप्रपाको हातमा मात्र त्यहाँको राजनीति रहेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .