कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार छठपछि मात्रै हुने भएको छ। सत्ता गठबन्धन र एमालेसहितको समर्थनमा गत कात्तिक २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेको नेपालखबरलाई जानकारी दिए।
‘प्रतिस्थापन बजेट पास गरेपछि पनि हुनसक्छ। त्यो भन्दा अगाडि नै सरकारलाई पूर्णता दिने पनि हुनसक्छ,’ कार्कीले भने।
साथै, उनले एमालेलाई पनि सरकारमा ल्याउनेगरी प्रयास भइरहेको बताए। कोशीमा गठबन्धनलाई सरकारमा सामेल गराएपछि चिढिएको एमालेले मन्त्री फिर्ता बोलाउँदै मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत भने कायम राखेको छ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए। पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दा उनले एमाले र कांग्रेसबाट एक/एक जनालाई मन्त्री नियुक्त गरेका थिए।
त्यतिबेला एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई विना विभागीय मन्त्री नियुक्त गरिएको थियो।
तर, पछि गठबन्धन दलसहित समावेश गरेर कात्तिक १७ गते मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका थिए। माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमल प्रसादलाई मन्त्री नियुक्त गरेपछि एमालेले आफ्ना तर्फबाट मन्त्री भएका रानालाई फिर्ता बोलाएका थियो।
गठबन्धन दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोका अनुसार मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भइरहेको छ।
‘छठपछी छलफल गरेर निष्कर्षमा पुगिएला,’ आङ्बोले नेपालखबरसँग भने, ‘प्रतिस्थापन बजेट, मन्त्रालय र राजनैतिक नियुक्तिहरुबारे प्रारम्भिक छलफल मात्र भएको छ निष्कर्षमा भने पुगिएको छैन।’
साथै आङ्बोले बाँडफाँटमा सहमति भएपछिमात्रै माओवादीबाट अन्य मन्त्रीहरूबारे निर्णय गर्ने बताए। ‘पहिला त गठबन्धनमा समझदारी हुनुपर्यो, अहिले पठाएका मन्त्रीको पनि मन्त्रालय टुंगो लागेको छैन,’ उनले भने, ‘बाँकी मन्त्री त्यसपछि मात्रै तय गर्छौं।’
गठबन्धन दलकै अर्का एक नेताका अनुसार एमाले अर्थ मन्त्रालयसहित सम्मानजनक बाँडफाँट भएको खण्डमा सरकारमा सहभागी हुने तयारीमा छ।
तर, केन्द्रबाट आउने निर्णयले उक्त कुराको टुंगो लाग्ने ती नेताको दाबी छ।
Shares
प्रतिक्रिया