कलेजोको क्यान्सर भएका मानिसको आयु लम्ब्याउन सकिने एक अध्ययनले देखाएको छ।
चाइनिज युनिभर्सिटी अफ हङकङको मेडिसिन फ्याकल्टीले गरेको अध्ययनले दुई उपचारको संयुक्त प्रयोगले गम्भीर तथा दुर्लभ किसिमको कलेजो क्यान्सर भएका बिरामीको आयु बढाउन सकिने देखाएको हो।
शोधकर्ताहरुका अनुसार बाइल डक्ट क्यान्सर भएका मानिसका लागि शल्यक्रिया भन्दा पनि केमोथेरापीको प्रयोगले बिरामीको आयु एक वर्षसम्म बढाउन सकिन्छ। केमोथेरापीका साथै निश्चित आन्तरिक रेडियोथेरापी दिनाले बिरामीको आयु करिब २० महिना बढ्न सक्छ।
यो अध्ययनमा संलग्न युनिभर्सिटीका प्राध्यापक चान लामले अहिले पत्ता लगाइएको कुराहरु कलेजो बिरामीको उपचारका लागि निकै महत्त्वपूर्ण हुने बताए। बाइल डक्ट क्यान्सर भएका बिरामी केमोथेरापीबाट एक वर्षभन्दा कम समय मात्र बाँच्न सक्ने लामका भनाइ छ।
‘हामीलाई थप क्लिनिकल परीक्षणबाट उनीहरुको आयु अझै बढाउन सकिन्छ भन्ने विश्वास छ’, उनले भने।
बाइल डक्टको सम्बन्ध कलेजोको बाइल उत्पादन गर्ने क्षमतासँग सम्बन्धित छ। यो कलेजोको उत्पादन गर्ने तरल पदार्थ हो, जसले शरीरको बोसो टुक्र्याउन सहयोग गर्छ।
बाइल डक्ट क्यान्सर दुर्लभ मानिन्छ। तर, यो क्यान्सर लागेपछि कलोजोको बाइल डक्ट्समा इन्सिडेन्स एट्राहेप्टिक कोलाङजिओकासिनोमा (आईसीसी) नामको ट्युमर विकास हुन्छ। जसले अन्तर्राष्ट्रिय रुपमा नै स्वास्थ्य चिन्ता उत्पन्न भएको छ।
अहिलेसम्म यो क्यान्सर के कारणले लाग्छ भन्ने खुल्न सकेको छैन। तर, लामका अनुसार अधिकतर बिरामीको कलेजो सुन्निने समस्या मोटोपना र अस्वस्थकर जीवनशैलीसँग जोडिएको छ।
हङकङमा सन् २०१० देखि २०१९ को बीचमा प्रत्येक वर्ष आईसीसीको समस्या भएका सयभन्दा धेरै मानिस भेटिएका छन्। जसमध्ये धेरैजसोको उमेर ६५ वा सोभन्दा धेरै थियो। यो उमेर समूहका मानिसको संख्या सबै कलेजोको बिरामीमा १० प्रतिशत थियो।
दुवै उपचारको संयुक्त ट्रायल थाइल्यान्ड, सिंगापुर र हङकङका २४ बिरामीमा सन् २०१४ देखि २०२० को बीचमा गरिएको थियो।
यो अध्ययनको नतिजा २०२२ को लिभर क्यान्सर संस्करणमा प्रकाशन गरिएको छ। बिरामीले सबैभन्दा पहिला निश्चित रेडियोथेरापी लिनुपर्छ।
यो थेरापी लिँदा दुईदेखि ५ दिनसम्म अस्पतालमा बस्नुपर्छ। करिब एक महिना आराम गरेपछि केमोथेरापी सुरु गर्नुपर्छ।
१० प्रतिशतभन्दा कम बिरामीमा गम्भीर किसिमको साइड इफेक्ट देखिएको छ। यो संख्या क्यान्सरको उपचारका क्रममा स्वीकार्य हुने चानको भनाइ छ। त्यस्तै केही बिरामीमा भने यसले धेरै राम्रो काम गरेको चानले बताए।
चानका अनुसार अहिले प्रयोग गरिएका दुई किसिमका उपचार विशेषगरी कलेजोमा नै ट्युमर भएको र क्यान्सर अहिलेसम्म शरीरका अन्य भागमा नफैलिसकेका बिरामीमा प्रभावकारी देखिएको छ। यसअघि फ्रान्समा पनि ४१ जना बिरामीमा यस्तै किसिमको अध्ययन गरिएको थियो। करिब उस्तै समयमा गरिएको सो अध्ययनमा पनि यस्तै नतिजा देखिएको थियो।
यद्यपि अहिलेको हिसाबमा भने यो उपचार महँगो पर्न जान्छ।
अर्का प्राध्यापक यु चुन–हो पनि यो उपचार महँगो रहेको स्वीकार गर्छन्। अहिले पनि यो उपचार परीक्षणमा संलग्नभन्दा बाहेकका मानिसलाई पनि दिन थालिएको उनले बताए। यसको नतिजा आउँदासम्म कुर्न नसकिने भएकाले परीक्षण र त्यसको प्रयोग पनि एकैसाथ गरिएको उनले बताए।
Shares
प्रतिक्रिया