कपाल झर्ने समस्याबाट थुप्रै मानिस पीडित छन्। यसले सौन्दर्य र व्यक्तित्वमा प्रभाव पार्ने ठानिन्छ। तर, यसको समाधानका लागि कपाल प्रत्यारोपण गर्न प्रचलन सुरु भएको धेरै भइसकेको छ। कपाल प्रत्यारोपण, लाग्ने खर्च र यसपछि ध्यान दिनु पर्ने कुराहरूका विषयमा कपाल प्रत्यारोपण विशेषज्ञ डा. उपासना टिमोटीसँग गरिएको कुराकानी। डा. टिमोटी लबाना स्किन एन्ड हेयर क्लिनिक सेन्टर नक्सालमा कार्यरत छिन्।
सामान्यतया मानिसको कपाल झर्ने, पलाउने भैरहन्छ। एउटा मानिस कपाल झरेर प्रत्यारोपाण नै गर्नु पर्ने अवस्थामा कसरी पुग्छ?
हाम्रो शरीरमा भिटामिन डी, बी तथा तथा अन्य पोषक तत्वको कमीले कपाल झर्ने समस्या देखिन्छ। यस्तै थाइराइड हर्मोनको गडबडी भयो भने पनि कपाल झर्ने समस्या सिर्जना हुन्छ। यी सामान्य कारण हुन्। तर कपाल झरेर तालुपनको समस्या सिर्जना गर्ने भनेको ‘जेनेटिक हेयर लस’को कारण हो। मानिसमा वंशानुगत कारणले गर्दा केस पूरै झर्ने समस्या हुन्छ, जसले तालुपन सिर्जना गराउँछ।
यदि परिवारमा बुबा वा हजुरबुबाको केस कम उमेरमै झरेको छ भने पनि त्यसको असर छोरा वा नातिमा पर्छ। वंशाणुगत कारणले केस झर्नुलाई ‘एन्ड्रोजेनेटिक एलोपेसिया’ भनिन्छ। यसको मुख्य कारण ‘डाइहाइड्रोटेस्टोस्टेरोन’ हर्मोन ज्यादा हुनु हो। जसले कपालको जरा सुकाउँछ। यो वंशाणुगत हुन्छ। यो एक प्रकारको रोग हो। जेनेटिकरूपमा झर्ने समस्या रहेको छ भने कपाल पुनः पलाउँदैन। यो समस्या महिलाको तुलनामा पुरुषमा धेरै हुन्छ। त्यसैले सामान्य कारणले कपाल झरिरहेको छ वा जेनेटिक कारणले हो भनेर परीक्षण गर्नु पर्छ र सोही अनुरूपको उपचार गर्नु पर्छ। जेनेटिक रूपमा केस झरेर तालुपनको समस्या भएको हो भने केस पुनः पलाउने सम्भावना हुँदैन। हेयर ट्रान्सप्लान्ट नै गर्नुपर्छ।
कपाल प्रत्यारोपण भनेको के हो?
प्रत्यारोपण भनेको एक प्रकारको अटोग्राफ्ट भनेर लिन सकिन्छ। एउटा ठाउँको बिरुवा निकालेर अर्को ठाउँमा रोपेजस्तै हो। कपाल प्रत्यारोपण भनेको ‘फोलिक्युलर युनिट एक्सट्रयाक्सन’ अर्थात् कपाल नझरेको टाउकोको पछाडिको भागबाट कपाल निकाली कपाल झरेको टाउकोको अगाडि र बीचमा रोप्ने विधि हो।
कपाल पत्यारोपण गर्नुअघि केकस्ता परीक्षण गर्नु पर्छ?
कपाल प्रत्यारोपण गर्ने क्रममा एनेस्थेसियाको प्रयोग गर्नु पर्छ। त्यसैले केही सामान्य परीक्षण गर्नुपर्छ। मुटु र फोक्सोको दीर्घ रोग, ब्लडप्रेसर तथा सुगर अनियन्त्रित भएका बिरामी, छारे रोगका बिरामी, रगत पातलो गर्ने औषधि (एस्पिरिन, हेपारिन, वार्फारिन) सेवन गरेका बिरामीले कपाल प्रत्यारोपणमा सतर्कता अपनाउनुपर्ने हुन्छ।
कपाल प्रत्यारोपण कुन उमेर समूहका व्यक्तिलाई गर्न मिल्छ?
सामान्य १८ वर्षमाथिका मानिसको कपाल प्रत्यारोपण गरिन्छ। तर, २५ वर्षमाथिकालाई कपाल प्रत्यारोपणका लागि योग्य ठानिन्छ। २५ वर्षमुनिका व्यक्तिहरूको कपाल कति झर्छ भन्ने अनुमान गर्न सकिन्न। त्यसैले २५ वर्षमुनिका मानिस कपाल प्रत्यारोपाणका लागि अयोग्य मानिन्छन्।
तपाईंले प्रत्यारोपण गर्न थालेको कति समय भयो? कति मानिसको गर्नु भयो?
प्रत्यारोपण नै गर्न थालेको ३ वर्ष भयो। थुप्रै मानिसको गरियो।
शरीरका अन्य अंग त अर्को मान्छेको प्रत्यारोपण गरिन्छ। कपाल चाहिँ किन फरक मानिसको गर्न सकिँदैन?
भविष्यमा अरुको कपाल प्रत्यारोपण पनि गर्न सम्भव हुनसक्छ। अहिलेको लागि चाहिँ अरुको कपाल प्रत्यारोपण गर्न सकिँदैन। यसप्रकारको टेक्नोलोजीको विकास भैसकेको छैन।
एउटा मानिसको कपाल प्रत्यारोण गर्न कति समय लाग्छ?
कति एरियामा, कतिवटा कपाल प्रत्यारोपण गर्ने भन्ने कुरामा भर पर्छ। कम छ भने ४÷५ घण्टामै प्रत्यारोपण सकिन्छ। धेरै एरियामा कपाल रोप्नु छ भने ३ दिन पनि लाग्न सक्छ।
कपाल प्रत्यारोपणपछि कति समय आराम गर्नुपर्छ?
थोरै समय आराम गर्नुपर्छ। २ दिन पूर्ण रुपले आराम गर्नु पर्छ। १० देखि १५ दिन प्रत्यारोपण गरेको एरियाको कपालप्रति सचेत हुनुपर्छ। आफ्नो काम गर्न सकिन्छ। यस अवधिमा राम्रो ख्याल नराख्दा कपाल चुँडिने र झर्ने हुनसक्छ। त्यसपछि बिस्तारै कपाल सेट हुन थाल्छ। ४५ दिनपछि सामान्य अवस्थामा पुग्छ।
खर्च कति लाग्छ? एउटा केस बराबर?
विशेषज्ञ, क्लिनिक अनुसार मूल्य फरक हुन्छ। एउटा रौँ प्रत्यारोपण गरेको २५ रुपैयाँदेखि सय रुपैयाँसम्म पर्नजान्छ।
प्रत्यारोपणपछि के कुरामा ध्यान दिनुपर्छ?
कपाल प्रत्यारोपण गरेको सात दिनसम्म एन्टिबायोटिक र पेनकिलर औषधि सेवन गर्नुपर्छ। प्रायः सबै शल्यक्रियापछि यस्ता औषधिको सेवन गर्नु नै पर्छ। प्रत्यारोपण गरेको कपाल र प्रत्यारोपण नगरिएको कपाल दुवै सेट होस् भनेर केही भिटामिन दिइन्छ। त्यसबाहेक अन्य औषधि सेवन गर्नु पर्दैन। कपाल प्रत्यारोपणले केही असर पो गर्छ कि भन्ने पनि धेरैको प्रश्न हुन्छ। कपाल प्रत्यारोपणले केही पनि नराम्रो असर गर्दैन। यो सौन्दर्यसँग मात्र सम्बन्धित हुन्छ। कपाल प्रत्यारोपण गरेपछि जवान देखिन्छ, आत्मविश्वास बढ्छ। स्वास्थ्यमा भने राम्रो नराम्रो कुनै पनि प्रकारको असर गर्दैन।
प्रत्यारोपण गरेको कपाल झर्छ कि झर्दैन?
कपालको पनि आफ्नै खालको एउटा साइकल हुन्छ। सामान्य कपाल जस्तै प्रत्यारोपण गरेको कपाल पनि झर्दै आउँदै गर्छ। तर, जरैबाट झरेर तालु चाहिँ हुँदैन।
२५ वर्षमुनिका व्यक्तिहरूको कपाल कति झर्छ भन्ने अनुमान गर्न सकिन्न र कपाल रोपिसकेपछि पनि झर्यो भने फेरि कपाल असामान्य देखिन सक्छ।
तपाईंले कपाल प्रत्यारोपणले सौन्दर्यमा फरक पार्छ भन्नुभयो। कति सेलेब्रिटीहरू नै कपाल झरेको खाली टाउकोमा हिँडेकै छन् त?
कपाल झर्ने समस्या आ–आफ्नै हो। कपाल झर्नासाथ प्रत्यारोपण गरिहाल्नु पर्छ भन्ने छैन। कति सेलेब्रिटीहरूले पनि कपाल झरेको टाउकोलाई स्वीकारेर बसेका छन्। हाम्रो देशमा मात्रै होइन अन्य देशमा पनि। उनीहरूलाई राम्रो देखिएको हुन्छ। यदि गर्नै मन हुँदा जहाँ पायो, त्यहीँ गर्नु हुँदैन। राम्रो डाक्टर र सेन्टर हेरेर कपाल प्रत्यारोपण गर्नुपर्छ।
Shares
प्रतिक्रिया