कवि मोहित जोशी पछिल्लो पुस्ताका कवि हुन्। धनगढीमा जन्मेर काठमाडौँमा सिभिल इन्जिनियरिङ सकेका जोशीले कुनै पुस्तक प्रकाशन नगरे पनि उनी सामाजिक सञ्जालमा चर्चित छन्।
राजधानी र राजधानी बाहिरका विभिन्न स्थानमा हुने साहित्यिक कार्यक्रमा उनको सहभागिता रहन्छ। कविता लेखनमा रुची राख्ने मोहितसँग गरिएको संक्षिप्त कविता वार्ता –
सामाजिक सञ्जालको साहित्यलाई कसरी नियाल्नुभएको छ?
सामाजिक सञ्जाल मार्फत आफूलाई चिनाउन सजिलो बाटो हो। आफ्नो व्यक्ति विकास र लेख, साहित्य सुधार्न भने अध्ययन गर्नैपर्छ। ठ्याक्क यही हो, सामाजिक सञ्जालको साहित्य भनेर भन्न नमिल्ला नसकिएला । यसका आफ्नै फाइदा बेफाइदा भने छन्।
तपाईं कस्ताखालका कविता लेख्न रुचाउनुहुन्छ?
म गद्य,कविता लेख्न रचाउँछु। कविताको साइजको कुरा हो भने प्रसङ्ग हेरेर लामा–छोटा जुन उपयुक्त हुन्छ, त्यही लेख्छु। कहिलकाहीँ लामो लेख्छु भनेको कविता पनि रि–राइट गर्दा छोटो कविता बन्छ।
कविता लेखेर समाज परिवर्तन हुन्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ?
समाज परिवर्तन गर्नलाई कविता लेख्न खोज्दा सबैभन्दा बढी डर हुन्छ। चुक्ने सम्भावना हुन्छ। कविता लेखेर पूरै समाज परिवर्तन त नहोला, कविताको कारण कहिँकतै दुईचारजना व्यक्ति भने अवश्य पनि परिवर्तन हुन्छन्।
अबको पुस्ताले कस्तो कविता लेख्ने?
अबको पुस्ताले यस्तै कविता लेख्नुपर्छ भन्नु कविताको जन्म भन्दा पहिले हत्या हो। आफ्नो मौलिक अभिव्यक्ति जसरी जस्तो ढाँचामा लेख्न मन लाग्छ, त्यसरी त्यो कविता लेख्न दिनुपर्छ।
कविता/साहित्यकार बन्न किताब प्रकाशन जरुरी छ?
आफ्नो कविता छपाउन कसलाई पो मन हुँदैन होला? तर अहिले अडियन्ससम्म पुग्नका लागि चाहिँ पुस्तक सजिलो बाटो होला तर छपाउनै पर्छ भन्ने जरुरी छैन।
अब मोहित जोशीको एउटा कविता पढौं–
मन त बरू बरफकै भए असल हुन्छ
मूर्ति बरफको बनाउनुपर्छ
मूर्तिहरूलाई पनि हेक्का रहोस् ––
आफू कति सजिलैसँग पग्लिन सक्छु भनेर
बरफ
पग्लाउन पनि सजिलो
फुटाउन पनि सजिलो
नयाँ तथ्यको उपस्थितिमा
सत्यको स्वरूप पग्लिन्छ
मूर्ति बनेर पुजिरहेका
परम्पराहरू पग्लिन्छन्
भगवानहरू पनि त पग्लिनुपर्छ
नयाँ भाडोमा, नयाँ आकारमा जम्नुपर्छ !
इतिहास एउटा मूर्ति
सत्य एउटा मूर्ति
परम्परा एउटा मूर्ति
आक्रोश एउटा मूर्ति
भगवान एउटा मूर्ति
धर्म एउटा मूर्ति
प्रेम एउटा मूर्ति
मन पनि त एउटा मूर्ति
सबै मूर्तिहरू कुनै दिन पग्लिनु आवश्यकता हो
मन त बरफकै भए असल हुन्छ।
Shares
प्रतिक्रिया