पूरा शरीर च्यातिए पनि
मरेकी छैन धरती
अझै बाँकी छ धरतीमा
वर्षौँदेखि उडाइरहेछन् बगैँचामाथि
युद्ध भूमिमा होमिएका छन् फूलहरू
फूलैफूलको युद्धमा
दिनहुँ मारिदैँ छन् जीवहरू
गति लिइसक्यो ध्वंस र हिंसाले
प्रगतिको सागरमा
एउटै खुट्टाले भुर्लोक नाघेर
ब्रह्माण्डलाई कैदी बनाए तापनि
मनुष्यहरू जन्मने हुन् धरतीमै
बाँच्नेछन् माटोमा
र, बिलय हुनेछन् माटो खाएर माटोमै
उजाड मरूभूमि बन्दैछन् तराईंका फाँटहरू
बूढो रूख सुकेझैं, सुक्दै छ पहाड
मैन पग्लिएजस्तै पग्लिँदैछ हिमाल
चराचर धरतीको छाती चिरेर
विकास प्रसादले दिनुसम्म दुःख दियो धरतीलाई
बेचैनीको सपना बोकेर
सागरमा खुट्टा टेकी
हिमालसँग हात जोडेर, भन्दैछिन् धरती
‘हे सर्वेश्वर, बिन्ती मेरो संरक्षण गर’
यता हतार भइसकेछ मनुष्यलाई
पैसाको बिटो बाँध्न
एक बनाऊँ या दस बनाऊँ देश
केही फरक पर्दैन,
एउटै हो धरती, एउटै हो प्रकाश
एउटै हो वायु, एउटै हो आकाश
श्वास रहुञ्जेल बाँच्ने आश बाँकी नै रहन्छ
आशाको त्यान्द्रो अझै बचेको छ मनमा
सच्चिनेछ यो दुनियाँ
र, जुट्नेछ धरतीको संरक्षणमा
बझाङ हाल : काठमाडौं
Shares
प्रतिक्रिया