लेखक रमेश सायनको उपन्यास ‘अन्तर’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा अभियन्ता, ब्लगर तथा समलिङ्गी लेक्स लिम्बूसहित लेखक रमेश सायन र संचारकर्मी एंव कवि रूपेश श्रेष्ठले पुस्तकको लोकार्पण गरे।
कार्यक्रममा श्रेष्ठले लिम्बूसँग संवाद गरेक थिए। रुपेशसँगको संवादमा लिम्बूले अभियान सञ्चालन गर्ने क्रममा देखेका आफ्ना अनुभव साझा गरे।
उनले आफ्नो लैंगिक पहिचानबारे कहिले खोल्ने भन्ने परिवारको संरचनामा निर्भर हुने भए पनि पहिचानबारे बोल्न कहिले ढिलो नहुने बताए।
श्रेष्ठसँगको अन्तरसंवादमा लेक्सले उपन्यासको पात्र ुशब्दुको भोगाइ र आफ्नो भोगाइ समानान्तर भएको बताए। जन्मको प्रकृतिलाई स्वीकार गरेर समाज अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘मैले २५ वर्ष पुग्दा मात्रै म समलिङ्गी हुँ, म फरक हुँ भनेर परिवारका सदस्यलाई भन्न सकेको थिएँ,’ उनले भने, ‘तर अब समय र समाजको चेतना फरक भइसक्यो। त्यसैले अब जन्मको प्राकृतिकतालाई नेपाली समाजले स्वीकार्न सक्नुपर्छ।’
नेपाली समाजमा विद्यमान लैंगिक विभेदबारे खुलेर बहस हुनुपर्ने र राज्यको नीति निर्माण तहले यो विषयलाई विषयान्तर गर्न नहुने उनको भनाइ थियो।
समलिंगी विषयमा लेखिएको यो उपन्यास आफैमा एक अभियान भएको उनको भनाइ थियो।
लेखक सायनले फरक विषयमा लेख्नु आफैमा चुनौती भए पनि आजसम्म नलेखिएको विषयमा खुसी व्यक्त गरे।
सायनले उपन्यासमार्फत् समलिंगी पुरुषको कथा भनेका छन्।
लेखक सायनको यो तेस्रो कृति हो। यसअघि उनको ‘भागेर भूगोलभरि’ कविता संग्रह र ‘छुटेका अनुहार’ संस्मरणात्मक निबन्ध संग्रह प्रकाशित छन्।
अन्तरलाई बुकहिलले प्रकाशन गरेको हो।
Shares
प्रतिक्रिया