[मेरो छेउबाटै गयो, मेरो हालसम्म सोधेन
म कसरी मानूँ, कि ऊ टाढा गएर राेयो?
-परवीन शाकिर
तिम्रो छेउबाट जो गयो, त जोसमा थियो फराज
- अहमद फराज]
१)
म सोचिरहेको थिएँ
उसको बारेमै
अनि, म हेरिरहेको थिएँ
‘टाढापानी’का मनोरम दृश्यहरू
........ती पहाड.....ती हिमाल
अनि, ‘टाढापानी’को हृदय पगाल्दिने कथा
त्यो कथा, जुन टाढा भएर पनि नजिक छ, म र फराजजस्तै
त्यो कथा, जुन अनौठो छ, म र फराजजस्तै
विगतको त्यो सङ्घर्षको कथाले
अहिले हरियो भएको यो सुन्दर भूमि ‘टाढापानी’जस्तै
हामी पनि थियौँ
पर्खाइमा
हाम्रो जीवनको हरियालीको
मेरा सोचका आँखा पुगिरहेका थिए दूर-दूरसम्म
अनि, म सम्झिइरहेको थिएँ तिमीलाई नै
गीतले सङ्गीतलाई सम्झन्छ नै
जसरी सम्झन्छ सङ्गीतले यो माटोलाई
जसरी सम्झन्छ यो माटोले पैतालाहरूलाई
तिमीलाई नै बेस्सरी सम्झिरहेको बेलामा
मेरो छेवैबाट तिमी गयौ, मलाई नदेखीकन
यस्तरी दुखाइदियौ तिमीले मलाई कि
यो बेला म कति दुखेँ भनेर म भन्नसमेत सक्दिनँ
फराज,
अहिले म केवल सक्दछु दुख्न, यही मेरा शब्दहरूमा।
२)
तिम्रा सोचका आँखा जहाँ जहाँ पुगिरहेका थिए नि, परविन
म त्यहाँ-त्यहाँ थिएँ
यो ‘टाढापानी’को कथामा थिएँ
यहाँको सङ्घर्षमा थिएँ
यहाँको अलौकिकतामा थिएँ
यहाँ तिमीले देखेका रुख, जङ्गल, पहाड, हिमाल
सबै-सबैतिर म थिएँ
प्यारी,
तिमीभित्र नै म थिएँ हराइरहेको
तिमीलाई यस्तरी चिन्दछु म कि
म बताउनै सक्दिनँ म तिमीलाई कसरी चिन्दछु!
नदीले पानीलाई कसरी चिन्दछ?
कसरी चिन्दछ सासले हावालाई?
कसरी चिन्दछ जीवनले प्रकृतिलाई?
कसरी चिन्दछ ढुकढुकीले हृदयलाई?
तिमी दुखिइरहेको यो बेलामा
म यति दुखिरहेको छु कि
म मरी मरी रोइरहेको छु
परविन,
म अहिले केवल सक्दछु रुन, यही मेरा शब्दहरूमा।
[-परवीन शाकिर र अहमद फराज दुवै प्रख्यात पाकिस्तानी कवि हुन्।
-टाढापानी : कास्की जिल्लाको अन्नपूर्ण क्षेत्रको एक गाउँ।]
Shares
प्रतिक्रिया