१)
मेरो
पत्र–पत्र
बिछ्याएर
संवेदनाको आकासमाथि
प्रेमको अप्रतिम रङले
म
लेखिरहेको
छु
यो पत्र
–प्रेमपत्र।
२)
प्रेमपत्र– हृदयको ढुकढुकी हो
प्रेमपत्र– संवेदनाको सूक्ष्मतम् आवाज हो
प्रेमपत्र– बोली हो सासको
हृदयको ढुकढुकीलाई उडाइरहेको छु माथि–माथि आकाससम्म
ताकि त्यहाँसम्म तिम्रो नजर पुगोस्
जहाँ चम्किरहेका हुनेछन्
मैले तिमीलाई भन्न चाहेका शब्दका ताराहरू
....ती ताराहरू
जो बलेका छन् केवल तिम्रा लागि
र, मात्र तिम्रा लागि जो छन् रहेका... जो छन् चम्केका
[यो जालझेलको संसारबाट निस्केर म बहुत दूर जान्छु। र, टाढाको त्यो सुन्दर संसारबाट म तिमीलाई सम्झन्छु।
जब म तिमीलाई सम्झन्छु, तब मात्र म आफूलाई सम्झन्छु।]
संवेदनाका सूक्ष्मतम् आवाजलाई हावाभरि भरेर
मैले छाडिदिएको छु उन्मुक्त
ताकि त्यो आवाज पुगोस्
तिमीसम्म
...ती आवाज जुन संवेदनशील छन्
जो बोल्दछन् मेरो संवेदनाको भाषा
जहाँका हाँगा–हाँगामा रङ्गिइरहेका छन्
प्रेमका अनगिन्ती पातहरू
...ती पातहरू
जसले आफ्नो हरियो प्राप्त गरेको हो
तिम्रो हरियो हृदयबाट
[तिमी जहाँ पुग, म माथि जीवनको डाँडाबाट पर रहेकी तिमीलाई हेरिरहेको हुनेछु। जब म हेरिरहेको हुनेछु तिमीलाई, त्यै बेला म खसिरहेको पनि हुनेछु तिम्रो हत्केलामा।]
सासको बोलीलाई मैले रङ बनाएर छरिदिएको छु यो आकासभरि
ताकि ती रङहरू पुगून् तिमीसम्म
र, बसून् पुतलीझैँ तिम्रो गीतमा
... ती गीतहरू जसले मलाई सिकाए तिमीलाई प्रेम गर्न
र, मुक्त हुन कठोरताको बाकसभित्रबाट
...ती गीतहरू जसले बचाए मलाई, जसलाई लाग्दथ्यो– जीवन मृत्युबाहेक अरु केही
होइन
...ती गीतहरू जहाँ भेट्टाएँ मैले आफ्नो जीवनको उज्यालो
र, देखेँ आफ्नो प्रेमलाई
जुन प्रेम कविता बनेर आइरहन्छ मेरो हृदयमा
[हावाको झोँक्का हौँ हामी, कुन बेला कहाँ पुग्छौँ, थाहा नै नहुँदोरहेछ। र, कहिलेकाहीँ बहँदा–बहँदै हामी निकै दूर पुगिहाल्छौँ। कहिलेकाहीँ हराइहाल्छौँ नै! कहिलेकाहीँ त सकिइहाल्छौँ नै।]
३)
(अलमलिइरहेको छु म शब्दहरूको सुरुवातमै, तिमीलाई सम्बोधन गरुँ त के भनेर गरुँ)
के लेखूँ म आफ्नो सासको माथि?
के लेखूँ म आफ्नो हृदयको माथि?
के लेखूँ म आफ्नो जीवनको माथि?
प्रेम?
प्रेम त म यस्तरी गर्छु कि तिमीलाई जसरी प्रेम गर्छ यो हावाले यी हरियालीहरूलाई।
यी हरियालीहरूले जीवनका रङहरूलाई।
मलाई तिमी यो पृथ्वीजस्तै जीवनदायी लाग्छ। किन–किन हो, साँच्ची तिमीलाई जब म देख्दिनँ, तब लाग्छ, कसैले मेरो सास जबर्जस्ती खोसिरहेको छ।
कहिलेकाहीँ बाँच्न पनि गाह्रो हुन्छ, अनि मर्न पनि।
‘तिम्रा
पैतालाहरूले
स्पर्श
गरिरहेका
थिए
हिउँलाई
तिम्रो
स्पर्शले
गदगद
भइरहेको
थियो
हिउँको हृदय
अनि, त्यो हृदयले
लेखिरहेको थियो
एउटा कविता प्रेमको
...त्यो कविता
जुन सुनेर बाँच्न सकेको छ
यो अस्तित्व
म पढिरहेको थिएँ त्यै कालजयी कविता
र,
यही बेला
मलाई तिम्रो याद आयो।’
मलाई तिम्रो याद आइरहन्छ। यो मेरो स्वाभाविकता बनेको छ। यो मेरो बानी बनेको छ।
बिहानै उठ्नेबित्तिकै चराले गीत गाउँछ। आकासले रङ सजाउँछ। प्रकृतिले मन सजाउँछ। अनि, म तिमीलाई सम्झिरहन्छु। मानौँ– तिम्रो सम्झना नै मेरो जीवनको सुरुवात हो।
थाहा छैन, जीवनमा जसलाई पाउनुपर्ने हो, उसलाई पाइन्छ कि पाइँदैन। जसलाई भेट्नुपर्ने हो, उसलाई भेटिन्छ कि भेटिँदैन। म तिम्रो अगाडि, तिमी हिँड्ने बाटोमा आजसम्म देखा त परेको छैन, तर यो कुरा मिथ्या होइन कि, तिमी जहाँ रहे पनि, मेरा शब्दहरू तिमीतिरै थिए। त्यो बेग्लै कुरा हो, तिमीले मेरा शब्दहरूलाई माया गर्यौ या घृणा!
तर, तिमीलाई पूर्ण अधिकार छ, तिमीले चाहेको गर्ने। तिमी म र मेरा शब्दहरू दुवैलाई टेकिदिन सक्छौ। यति हो, शब्दहरू जति दुख्नेछन्, त्यो भन्दा बढी म दुख्नेछु।
दुखाइ, जुन मेरो जीवनको सास पनि त हो। म तिमीलाई प्रेम गर्छु भने म दुख्न पनि सक्छु, पूर्णतः।
के लेखूँ म प्रेमको ढुकढुकीमाथि?
के लेखूँ म प्रेमको मुस्कुराउँदो आभामाथि?
के लेखूँ म प्रेमको अनमोल कवितामाथि?
मेरा निम्ति तिमी पूर्णता हौ। र, म हुँ फगत रिक्तता। त्यो रिक्तताभन्दा अलि बढी विरोधाभास। म एउटा विरोधाभासले तिमी एउटी पूर्णतालाई प्रेम गर्न हुन्थ्यो वा हुँदैनथ्यो, मलाई थाहा छैन।
जीवनमा थुप्रै कुराहरू आफैँ आइदिन्छन्। समयको कुदाइसँगै। तिमी मतिर आयौ अथवा म तिमीतिर आएँ, त्यो त मलाई थाहा छैन, तर यति थाहा छ, तिमी जब नजिक आयौ, मभित्रको मरेको मान्छे पनि उठेर कविता लेख्नथाल्यो। अनि, लेख्नथाल्यो, प्रेम... फगत प्रेम, तिम्रा निम्ति।
(सुरुवातझैँ अन्त्य पनि रिक्त–रिक्त हुनपुग्यो।)
Shares
प्रतिक्रिया