नेपालमा पहिलो पटक मैथिली भाषामा रामायण पढ्न पाइने भएको छ।
‘वाल्मीकि रामायण’ र ‘रामचरितमानस’ रामायणको आधार लिएर अर्चना झाले उक्त रामायण लेखेकी हुन्।
यस मैथिली गद्यात्मक ‘अर्चनाकृत रामायण’ मा करिब ६४ हजार शब्द रहेका छन्।
यसमा हिन्दू धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा श्रीराम र लक्ष्मी माताका अवतार सीता माताको गाथा लेखिएको छ।
यसमा आठ वटा अध्यायहरू छन् जसलाई काण्ड भनिन्छ। नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत आदि लगायतका भाषामा पढ्न पाइने रामायण अब प्राचीन मिथिलाबासीले समेत सरल मैथिली भाषामा सम्पूर्ण रामायण पढ्न पाउने भएका छन्।
रामायणको मैथिली भाषामा लेखन कार्य पत्रकार एवं साहित्यकार अर्चना झाले गरेकी छिन्। उनी आफ्नो स्थानीय बोल्ने भाषा मैथिलीमा सीतारामको राज्य चिन्तन, राजनीतिक चिन्तन, समाज चिन्तन, परिवार चिन्तन, मर्यादा पालन तथा सीता माताको गुण, लोकगीत, मिथिला चित्रकला लगायतका आठ काण्डमा साभार गरेकी छिन्।
पुस्तकलाई ‘अर्चनाकृत रामायण’ को नामकरण गरिएको छ। पत्रकार झाद्वारा साभारित ‘अर्चनाकृत रामायण’को विमोचन पूर्वउप-प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले गर्ने भएका छन्।
यसको सम्पादन वरिष्ठ साहित्यकार विनित ठाकुरले गरेका छन्। साथै यसको समीक्षा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले गर्नेछन्।
यही फागुन २ गते बुधबार सरस्वती जयन्तीको अवसर पारेर गोदावरी नगरपालिका वडा नं. १४ बाडेगाउँ स्थित मामाघर आश्रममा पुस्तक विमोचन गर्न लागिएको आश्रमका अध्यक्ष बालयोगेश्वर विजय कृष्णमूर्तिले जानकारी दिए।
आदिकवि वाल्मिकी ऋषिद्वारा रचना गरिएको ‘वाल्मीकि रामायण’ त्रेता युगमा भएको मानिन्छ। पवित्र धार्मिक ग्रन्थको रूपमा रहेको रामायणका मुख्य पात्रहरू, दशरथ, जनक, राम, सीता, कैकेयी, गुरु वशिष्ठ, भरत, शत्रुघ्न, लक्ष्मण, हनुमान, रावण, बाली, सुग्रीव, जटायु आदि रहेका छन् ।
Shares
प्रतिक्रिया