लुम्बिनी प्रदेशमा आज हुने मुख्यमन्त्री दाबी पेश हुन सकेन। नेकपा एमालेका संसदीय दलका नेता लीला गिरीले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री पदको दाबी पेस गर्ने कार्यक्रम भएपनि माओवादी केन्द्रले आलोपालोको प्रसंग निकालेपछि स्थगित भएको हो।
माओवादी केन्द्रको तयारी नपुगेकाले भोलि मात्र मुख्यमन्त्रीको लागि दाबी पेश हुने एमालेका प्रदेश सांसद भूमिश्वर ढकालले बताए।
‘माओवादीको पनि तयारी पुगेन। नागरिक उन्मुक्ती पार्टीका सांसद काठमाडौं हुनुभयो। जनमतका एक जना माननीय पनि हुनुभएन। त्यसैले भोलिलाई सरेको हो’ उनले भने।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री दाबी गर्ने समय भोलि दिउँसो ४ बजेसम्म दिएका छन्।
माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले गृहकार्य नपुगेकाले दाबी पेश हुन नसकेको बताए। उनले एमाले र माओवादी केन्द्रबीच लुम्बिनी सरकारको नेतृत्वमा आलोपालोको सहमति भएपनि त्यो सार्वजनिक नहुँदा केही अलमल भएको उल्लेख गरे।
‘पहिलेदेखि नै आलोपालो भन्ने सहमति भएको हो। बिचमा पुरा कार्याकाल भन्ने आयो त्यो होइन’ घर्तीले भने।
लुम्बिनीमा आलोपालो नभई पुरा कार्याकाल एमालेले पाउने भनेर शिर्ष नेताबीच सहमति भएको भन्ने बाहिर आउँदा माओवादी केन्द्रका दलका नेता जोखबहादुर महरा असन्तुष्ट थिए।
एमालेका सांसद भूमिश्वर ढकालले आलोपालो बारे केन्द्रले जे निर्णय गर्छ सोही अनुसार हुने बताए।
लुम्बिनी प्रदेशमा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सांसद छन्। एमालेका २९, माओवादी केन्द्रका १० सांसद छन्। त्यस्तै राप्रपा ४, जनमत पार्टी र जसपाका ३–३ सांसदको समर्थन रहँदा गिरीको पक्षमा ४९ सांसद हुने छन्। बहुमत जुटाउन ४४ सांसद भए पुग्छ।
४ सांसद भएको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गरिसकेको छैन। माओवादीबाट विद्रोह गरेका २ सांसदको पनि साथ पाउने अपेक्षा गठबन्धनले गरेको छ।
प्रदेश सभामा नेपाली कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन्।
Shares
प्रतिक्रिया