लुम्बिनीमा झण्डै एक महिनापछि सोमबारबाट प्रदेश सभाको बैठक सुरु भएको छ। मंगलबार पनि बैठक बसेको छ। दुवै बैठकमा मुख्यमन्त्री लिला गिरि अनुपस्थित भएका छन्। बैठकमा कांग्रेस लगायतका सांसदहरुले मुख्यमन्त्री गिरिको राजीनामा माग गरिरहेका छन्।
कांग्रेसका सांसद बसिउद्धिन खाँले मुख्यमन्त्रीलाई सदन फेस गर्ने हैसियत नभएको बताए।
‘मुख्यमन्त्री कार्यालयमा बस्नुभएको छ। तर सदन फेस गर्ने आँट छैन। उहाँले विश्वास गुमाइसक्नुभएको छ’ उनले भने, ‘५३ भर्सेज ३३ अल्पमतको सरकारले बडो निर्लज्जतापूर्वक शासन गर्ने दुस्प्रयास गरिरहेको छ। यसमा खेद छ र चिन्ता छ।’
सांसद खाँले बहिरगमन हुन लागेको सरकारलाई ठूलो निर्णय गर्न अधिकार नभएपनि सरकारले जथाभावि बजेट खर्च गरिरहेको आरोप लगाए।
कांग्रेसका अर्का सांसद राजु खनालले धारा र उपधारा हेरेर अलमल नगर्न मुख्यमन्त्रीलाई सुझाब दिए।
‘यहाँ जनताका समस्याका कुरा राखिरहँदा यसलाई सम्बोधन गर्ने कसले? सरकार अल्पमतमा परिसकेको छ’ उनले भने, ‘धारा र उपधारा हेरेर अलमल नगरौं। यही सरकारले विश्वासको मत लिन सक्छ भने पनि त्यो परीक्षण छिटो भन्दा छिटो गरेर यो संसदलाई एउटा निकास दिनुपर्छ।’
नेकपा एमालेका सांसद चिन्तामणि पाण्डेले बर्तमान सरकार स्वभाविक ढंगले बहिरगमन हुने उल्लेख गरे।
‘सत्तामा जान साथीहरुलाई हतार भएको छ। यति छिटो हतार किन? कानूनी प्रक्रिया पुर्याउनुपर्ने होला नि’ उनले भने ‘यो सरकार स्वभाविक ढंगले बहुमत सिद्ध गर्न सकेन भने बहिरगमन हुन्छ।’
एमालेका अर्का सांसद तुल्सी चौधरीले नैतिकता मुख्यमन्त्रीको गुमेको नभई सरकार गठन गरिपाउँ भनि निवेदन दिनेको गुमेको उल्ले गरे।
‘साथीहरुले समर्थन फिर्ता लिनुभएको छ। जुन दिन समर्थन लिनुभयो सरकार गठन गरि पाउँ भनि निवेदन दिनु यही हो नैतिकता?’ उनले भने, ‘कमसेकम संविधानले के भनेको छ। संवैधानिक कुरालाई नहेर्ने। एउटा औंला उतातिर उठाउँदा ३ वटा औंलाले आफूतिर हुन्छ भन्ने हेक्का राख्नुभएन। एमालेको सरकारले एक महिनाभित्र बहुमत सिद्ध गर्न नसके राजीनामा दिनुहुन्छ।’
तर विश्वासको मत नपाएपनि फेरि एमाले नेतृत्वको सरकार नै बन्ने चौधरीको दाबी छ।
‘मुख्यमन्त्रीले विश्वासको मत नपाए फर्केर १६८ को २ मा जाँदैन उपधारा ३ मा जान्छ। सदनमा सबैभन्दा ठूलो दलले सरकार बनाउने अवसर गर्छ’ उनले भने, ‘यसबेला एकमहिनाको अवसर हामी पाउँछौं। धारा ४ र ५ को कल्पना गर्नुस्। धारा २ को कल्पना नगर्नुस्।’
प्रदेश सभाको अर्को बैठक वैशाख ९ गते बस्ने भएको छ।
लुम्बिनीका विपक्षी दलले मागे मुख्यमन्त्रीको राजीनामा, ‘अल्पमत’ प्रमाणित गर्न गिरीको चुनौति
Shares
प्रतिक्रिया