गर्मी सुरु भएसँगै वनजंगलमा डढेलो लाग्ने क्रम बढेको छ। तराइसँगै चुरे र महाभारत पर्वत क्षेत्रका वनमा यतिबेला डढेलो फैलिएको छ।
पाल्पामा यो सिजनमा ७२६ हेक्टर वन क्षेत्र डढेलोले क्षति पुर्याएको छ। जिल्लामा ३२ ठाउँका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक वन अधिकृत संयोग बस्नेतले बताए।
‘अहिले ३२ ठाउँको ७२६ हेक्टर वन क्षेत्र डढेलोले क्षति पुर्याएको छ’ उनले भने, ‘केही ठाउँमा सामुदायिक वनहरुसँग सहकार्य गरेर निभाउने प्रयास भइरहेको छ।’
जिल्लाका तिनाउ, रैनादेवि छहरा, रिब्दीकोट लगायतका वन क्षेत्रमा डढेलो फैलिएको हो। पाल्पामा जिल्लामा ८२ हजार ७७३ वर्गकिलोमिटर वन क्षेत्र छ। ७० प्रतिसत जति डढेलोको कारण मानवीय लापरवाही हुने गरेको छ। वनमा खर घाँस पलाउने आशाले स्थानीयले आगो लगाउने गर्दछन्।
त्यस्तै, वन्यजन्तुले दुःख दिने, किर्ना मार्न भनेर जंगलमा आगो लगाउने चलन छन्। यसरी सानो आगो लगाउँदा डढेलोको ठूलै रुप लिने गर्दछ।
पाल्पामा डढेलो नियन्त्रणको लागि भनेर यही चैत्र १ गतेदेखि सप्ताहव्यापी कार्यक्रम पनि भएको थियो। जस अन्तर्गत साँस्कृतिक कार्यक्रमदेखि, डढेलो नियन्त्रण सिकाइ आदान प्रदान लगायतका कार्यक्रम थिए। तर डढेलो फैलिने क्रम भने रोकिएको छैन।
डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी बस्नेतले जनचेतनाको लागि केही कार्यक्रम गरेको तर आगो लागिसकेपछि नियन्त्रण गर्न गाह्रो हुने गरेको सुनाए।
‘यो वर्ष इन्धन लगायतका बजेट रोक्का भयो। त्यसले कर्मचारी परिचालन, अरु निकायको सहयोग लिन चुनौति भएको छ’ उनले भने, ‘तर नियन्त्रणको लागि पूर्वतयारीका काम भने गरिरहेका छौं।’
यता रुपन्देहीका वन जंगलमा पनि डढेलो फैलिएको छ। हिउँदे वर्षा भएकाले यो वर्ष केही कम डढेलो लागेको डिभिजन वन कार्यालय रुपन्देही जनाएको छ।
रुपन्देहीका जिल्ला वन अधिकृत प्रभात सापकोटाका अनुसार जिल्लामा १० हेक्टर जति वनमा डढेलो लागेको छ। रुपन्देहीमा २५ हजार हेक्टर वन क्षेत्र क्षेत्र छ। त्यस मध्ये ७ देखी ८ हजार हेक्टर क्षेत्र अतिक्रमित क्षेत्र हो। बाँकी १८ हजार जति वन क्षेत्रको रुपमा उपयोग छ।
कपिलवस्तुमा पनि अहिले केही ठाउँमा डढेलो लागेको छ। जिल्लामा अहिले डढेलोले थोरै ठाउँमा क्षति पुर्याएको र नियन्त्रित अवस्थामै रहेको डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन मोहन शाडिल्यले बताए।
‘सामान्य फट्ट फुट्ट लाएपछि निभाएको अवस्था छ। अहिलेसम्म नियन्त्रित नै छ’ उनले भने ‘अहिलेसम्म ४ हेक्टर क्षेत्रमा डढेलो लागेको हाम्रो रेकर्डमा आएको छ।’
डढेलो नियन्त्रणको लागि कपिलवस्तुका केही सामुदायिक वनमा कम्पोष्ट मल बनाउने काम पनि भइरहेको शाडिल्यको भनाइ छ।
गर्मियाममा रुखबाट झरेका सुकेका पातका कारण बढि डढेलो फैलिने गर्दछ। त्यसरी डढेलो फैलिन नदिन सुकेर झरेका पातलाई कम्पोष्ट मल बनाउने कार्यक्रम समेत सुरु गरेको डिभिजन वन कार्यालयले जनाएको छ।
‘पोहोर देखि नै झरेका पातलाई सोहोर्ने र मल बनाउने काम पनि सुरुवात गरेका छौं’ शाडिल्यले भने ‘सामुदायिक वन उपभोक्तासँग सम्झौता गरेर केही बजेट उपलब्ध गराउँछौं। त्यसबाट उहाँहरुले खाल्डो खन्ने मल बनाउने गर्नुहुन्छ।’
डढेलोको बढी जोखिम भएको ठाउँलाई केन्द्रित गरेर यो कार्यक्रम सञ्चालन गरेको सहायक वन अधिकृत शाडिल्यको भनाइ छ।
Shares
प्रतिक्रिया