लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राख्नुभएको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ४८ मत प्राप्त भएको थियो। महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका हुन्।
बैठकमा उपस्थित प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री महराका पक्षमा सत्ता गठबन्धन घटक नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, जनता समाजवादी पार्टीका ३, नागरिक उन्मुक्ति पार्टीका ४, नेकपा एसका १ र स्वतन्त्र १ गरी ४८ सांसदको मत खसेको थियो।
८६ सदस्यीय प्रदेशसभामा प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २६ र जनमत पार्टीका २ जना गरी २८ मत परेको थियो।
यसअघि बैठकमा विश्वास मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री महराले सबैको अपनत्व हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए।
उनले आफ्नो नेतृत्वको सरकारले वार्षिक तालिका (क्यालेण्डर) बनाएर विकासका योजना तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरे।
बैठकलाई सम्बोधन गर्दै प्रमुख विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्रीय नेतृत्वका कारण संघीयता कार्यान्वयन हुन नसकेको टिप्पणी गरे। उनले संघीयता कार्यान्वयन गरेर प्रदेश संरचनालाई बलियो बनाउने कार्यमा आफ्नो दलको समर्थन रहने स्पष्ट पारे।
मुख्यमन्त्री महरा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी दलको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
Shares
प्रतिक्रिया