मधेश प्रदेशमा मिडियालाई लोककल्याणकारी विज्ञापन र पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बिमाका लागि बाटो खुलेको छ।
मधेश सरकारको मन्त्रिपरिषद् बैठकबाट लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बिमा कार्यविधि–२०७९ स्वीकृत भएको हाे।
मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा प्रस्तुत दुवै कार्यविधि बिहीबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।
मन्त्रिपरिषबाट दुवै कार्यविधि पारित भएपछि अब मधेश प्रदेशबाट प्रकाशन हुने पत्रपत्रिका, अनलाइन तथा प्रसारण हुने एफएम र रेडियो, टेलिभिजनले मधेश प्रदेश सरकारका लोकहितका विज्ञापन एवम् सूचना शुल्कसहित प्राप्त गर्ने छन्।
त्यस्ता विज्ञापन एवम् सूचना सञ्चारमाध्यमले प्रकाशन र प्रशारण गरेबापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिएबमोजिम भुक्तानी उपलब्ध गराइने मन्त्री साहले बताए।
यसैगरी मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बिमा कार्यविधि स्वीकृत भएपछि मधेश प्रदेशका जुनसुकै जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गरिरहेका पत्रकार बिमा कार्यक्रमबाट लाभ लिने बाटो पनि खुलेको छ।
बिमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एकपटक एक लाख रुपैयाँसम्मको औषधी उपचार खर्च पाउने र सात लाख रुपैयाँसम्मको दुर्घटना बिमा प्राप्त गर्ने कार्यविधिमा व्यवस्था गरिएको मन्त्री साहले जानकारी दिए।
सरकारले कार्यविधि स्वीकृत गरेपछि लोककल्याणकारी विज्ञापन दिने तथा पत्रकारका लागि बिमा कार्यक्रम चालु आर्थिक वर्षबाटै लागू हुने गरी तयारी थालिएको मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए।
यही असार ८ गते दुवै कार्यविधि स्वीकृतका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराइएको थियो।
Shares
प्रतिक्रिया