मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै जनमत पार्टीले तालाबन्दी गरेको छ।
जनमत पार्टीका कार्यकर्ता बुधबार जनकपुरधाममा प्रदर्शन गरी कृषि मन्त्रीलाई जनकारवाही गर्न मन्त्रालय पुगेका थिए । तर मन्त्री नभेटिएपछि तालाबन्दी गरेको जनमत पार्टीले जनाएको छ।
प्रदेश कृषि मन्त्रालयको किसानका योजनाहरुमा व्यापक भ्रष्टाचार भएको, कृषकहरुलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै जनकारवाहीको लागि किसानहरू मन्त्रालयमा पुगेको जनमत पार्टीका धनुषा जिल्ला इन्चार्ज बीपी साहले बताए।
अनुदानको कृषि यन्त्र वितरणमा अनियमितता, कृषि सडक, दूध मिसन कार्यक्रम लगायतमा भएको भ्रष्टाचारमाथि छानबिन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने माग जनमत पार्टीको रहेको नेता साहले जनाए।
उक्त विषयहरुमा सरकारले पहल नलिए थप आन्दोलनका कार्यक्रमहरु हुने उनले चेतावनी दिए।
मन्त्रालयमा मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएको किसान आन्दोलनको कार्यक्रम संयोजक विजय यादवले बताए।
यादवले भने ‘किसानको माग सम्बोधन नभए मन्त्रीहरुलाई जनकारवाही हुनेछ। त्यसका लागि मन्त्रीज्यूहरु तयार रहनु होला।’
यसैबीच किसान आन्दोलन अन्तरगत जनमत पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
Shares
प्रतिक्रिया