चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरुको माग सम्बोधन गर्न माग गर्दै चुरे अभियन्ताहरुले साडी–चुरा सडकमै फालेर मधेश प्रदेश सरकार विरुद्ध प्रदर्शन गरेका छन्।
मुख्यमन्त्री कार्यालय अगाडि साडी, चुरा, ब्लाउज, पेटीकोट फालेर अभियानकी महिलाहरु प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।
चुरे संरक्षणको माग गर्दै विगत १७ दिनदेखि चुरे तथा वनजंगल संरक्षण अभियानकर्मीहरु रिले अनशन गर्दै आइरहेका छन्।
भूमिहीन, दलित, सुकुम्बासीहरूका लागि आफूहरुले प्रदेश सरकार विरुद्ध प्रदर्शन गरेको चुरे अभियन्ताले बताए।
अभियन्ताहरुले आफ्ना पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुलाई साडी, चुरा, प्रदान गरेर विरोध जनाउने तय गरेका थिए।
यद्यपि प्रहरीले अभियन्ताहरुलाई मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न नदिएपछि ती सामग्रीहरु सडकमै फालेका थिए।
आन्दोलनकारीले मधेस प्रदेश सरकारका मन्त्रीहरुलाई साडी, ब्लाउज, चुरा, पेटीकोट बुझाउन नसकेपछि सडकमै फालेर सांकेतिक विरोध जनाएका हुन्।
अभियन्ताद्वारा साउन २२ गते बच्चा आन्दोलनको घोषणा गरिएको छ। भूमिहीन सुकुम्वासीहरू घरबारविहीन रहेको र उनीहरुका बालबच्चाको भविष्य अन्धकारमा रहेको कुरा सरकारले बुझेर पनि अबुझ बनेकाले मुख्यमन्त्री कार्यालय अगाडि बच्चाहरुलाई राखेर प्रदर्शन गर्ने अभियानका संयोजक सुनिल यादवले बताए।
यी दुवै दिनको विरोध पश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेश आन्दोलन भन्दा पनि ठूलो र अन्तिम आन्दोलन हुने संयोजक यादवले चेतावनी दिए।
यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन्।
Shares
प्रतिक्रिया