जनकपुरधाममा आन्दोलित चुरे अभियानी र प्रहरीबीच झडप भएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने क्रममा चुरे तथा वनजंगल संरक्षण अभियानी (सुकुम्बासी) र प्रहरीबीच झडप भएको हो।
सो क्रममा १०८ जना चुरे अभियानी पक्राउ परेका छन्। सामान्य झडपको क्रममा एकजना प्रहरी जवान घाइते भएका छन्।
पूर्वनिर्धारित कार्यक्रम अनुसार मुख्यमन्त्रीको पुत्ला दहन र मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप भएको हो।
१०८ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेले जानकारी दिए।
अभियानका प्रदेश संयोजक अमन यादवलगात अभियानीलाई दमन गरी प्रहरीले पक्राउ गरेको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए।
बुधबार उद्योग, पर्यटन तथा वन मन्त्रालयले सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले सरकारी जमिन कब्जा गरे–नगरेको विषयमा निष्कर्ष नै ननिकालेको प्रतिवेदन सार्वजनिक गरेको भन्दै अभियानीहरु आन्दोलनमा उत्रेका छन्।
मारुती सिमेन्टले अतिक्रमण गरेको वनको जग्गाका विषयमा प्रदेश सरकारले अभियानसँग २०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्व सार्वजनिक गर्नुपर्ने, तराई मधेशका दलित भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी भूमि अधिकारबाट बञ्चितहरुलाई तत्कालै गास, बास र कपासको व्यवस्था गर्नुपर्ने, स्थानीय सरकारद्वारा उठीबास लगाउने कार्य बन्द गर्नुपर्नेलगायतका मागसहित विगत ४० दिनदेखि अभियन्ताहरु आन्दोलनमा छन्।
Shares
प्रतिक्रिया