संसदबाट पारित नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विरोधमा सत्तारुढ दलका युवा विद्यार्थीले आज साँझ सर्लाहीमा प्रदर्शन गरेका छन्।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकटका युवा–विद्यार्थीले शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध हरिवनमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले संसदको निर्णय प्रमाणीकरण गर, संवैधानिक सर्वोच्चता कायम गर, संविधान उल्लंघन बन्द गर लगायतका नारा लगाएका थिए।
प्रदर्शनपछि आयोजित कोणसभामा अनेरास्ववियुकी महासचिव आरती लामा, अखिल क्रान्तिकारीका दीपेन्द्र महतो, जनता समाजवादी पार्टीका सञ्जीव लामा, वाइसिएलका जिल्ला अध्यक्ष नरेश ग्रान्जा लगायतले सम्बोधन गरेका थिए।
त्यसक्रममा उनीहरुले राष्ट्रपति एमाले नेतृत्वको इसारामा चलेको आरोप लगाए। उनीहरुले राष्ट्रपतिले नै संविधान उल्लंघन गर्नु दुःखद भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरे।
Shares
प्रतिक्रिया