नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलको नेतामा महोत्तरीबाट निर्वाचित सरोज यादव चयन भएका छन्। एमाले मधेश प्रदेश कमिटीको बैठकबाट यादवलाई दलको नेतामा चयन गरिएको हो।
दलको उपनेतामा दिपेन्द्र ठाकुरलाई चयन गरिएको छ। ठाकुर प्रदेशसभामा धनुषाबाट निर्वाचित भएका हुन्।
मंगलबार नै एमाले संसदीय दलको नेता चयन गर्नका लागि बैठक बसेपनि आकांक्षीहरु बढेपछि आज बसेको बैठकबाट मात्रै सहमति जुटेको हो।
एमाले केन्द्रीय सदस्य समेत रहेका नव नियुक्त दलका नेता यादव महोत्तरी क्षेत्र नं. ४ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए भने उपनेता ठाकुर धनुषा ३ ‘ख’ बाट निर्वाचित भएका हुन्।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्य समेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदा देवी थापा लगायतका नेताहरु अकांक्षी थिए। मधेश प्रदेशसभामा एमालेसँग सबैभन्दा बढी २३ सदस्य छन्।
Shares
प्रतिक्रिया