ad ad

मधेस


मधेसमा यादव नेतृत्वको सरकार ढल्यो

मधेसमा यादव नेतृत्वको सरकार ढल्यो

नेपालखबर
जेठ २३, २०८१ बुधबार १८:२५, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सरकार ढलेको छ।

बुधबार (जेठ २३) जनकपुरस्थित मधेस प्रदेश सभामा बसेको बैठकमा विश्वासको मत नपाएपछि उनको सरकार ढलेको हो।

यादवले संसदमा विश्वास गुमाउने थाहा पाएरै मिति सार्न खोजेका थिए। त्यही आधारमा उनले २८ गतेका लागि नयाँ मिति प्रस्ताव गरेर प्रदेश सभामा निवेदन पत्र गराएका थिए।

तर, सभामुख रामचन्द्र मण्डलले २४ घण्टा अगाडि सार्ने जानकारी दिनुपर्ने तर्क गरेर विश्वासको मत लिन लगाएका थिए।

दोस्रोपटक बसेको प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत मागे।

१०७ सदस्यीय सभामा उनले राखेको प्रस्तावको पक्षमा जम्मा ५० मत परेको छ भने विपक्षमा ५३ मत खसेको छ।

नेपाली कांग्रेस २२, जसपा १९, लोकतान्त्रिक समाजवादी पार्टी ९ ले मात्र मत दिए। यो सबै जोड्दा ५० हुन्छ।

उनले प्रदेश सभाको विश्वास गुमाएका छन्।

प्रदेश सभामा विश्वास गुमाएपछि २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवको सत्ता ढलेको छ। 
 
जसले बनायो उसैले ढाल्यो
१७ महिनाअघि जसपाका नेता यादवलाई एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदले समर्थन गरेर सत्तामा पुर्‍याएका थिए। अहिले तिनै दलले समर्थन फिर्ता लिँदा उनको सरकार ढलेको हो।

एमाले र माओवादीले वैशाख ३० गते यादव नेतृत्वको सरकारबाट फिर्ता हुँदै समर्थन झिकेको थियो।

त्यही दिनदेखि अल्पमतमा परेका यादवले नेकपा एकीकृत समाजवादीको आडमा सरकार टिक्ने प्रयास गरे।

तर, मंगलबार (जेठ २२) देखि एकीकृत समाजवादीले पनि दुई मन्त्री फिर्ता गर्दै समर्थन फिर्ता लिने निर्णय लियो।

एकीकृत समाजवादीले हात झिकेपछि यादव संकटमा परेका हुन्।  

यादव २०७९ मंसिरमा सम्पन्न चुनावमा बारा १(२) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएका हुन्।

उनी सो प्रदेशका पूर्वसभामुख पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .