दसैँको बेला विराटनगरस्थित कालीको मन्दिरमा भक्तहरूको घुइँचो हुन्थ्यो, मेला लाग्थ्यो। बाह्रतेह्र वर्षकी बालिका लिमा अधिकारी पनि साथीहरुसँगै मेला भर्न जान्थिन्। तर, उनको ध्यान मन्दिरबाट उडेर बेच्न राखिएका सिट्ठी, बेलुन, खेलौना बन्दुक र पटाकामा पुगेर अडिन्थ्यो।
उनी दुईचार रुपैयाँमा ती खेलौना किनेर घर फर्किन्थिन्। घरनजिकै बोरा ओछ्याउँथिन् र ग्राहक बोलाउन थाल्थिन्– पटाका, बेलुन, बन्दुक र सिट्ठी!
नाफा भएपछि फुरुङ्ग पर्थिन्, स्वाभाविक हो, घाटा हुँदा उनको मन दुख्थ्यो। नाफा हुँदाको खुसी लिमाले साथीहरुसितै साट्थिन्, पिकनिक जान्थिन्, उत्सव मनाउँथिन्।
त्यतिबेला उनीसँगै रमाएका साथीहरु अहिले पनि भन्छन्, ‘लिमा, तिमी सानैदेखि व्यापारी थियौ है!’
लिमालाई यो संस्मरणले बिछट्टै खुसी दिन्छ। उनी उही बाल्यकालको स्वप्निल दुनियाँमा रमाउन पुग्छिन् र मुस्कुराउँदै भन्छिन्, ‘हो नि, म सानैदेखि व्यापारी थिएँ।’
०४५ सालतिरकी ती फुच्ची व्यापारी लिमा अहिले सफल उद्यमीको रुपमा परिचित छिन्। काठमाडौंको बानेश्वरमा रहेको सेप अप स्लिमिङ र वेलनेस सेन्टरकी मालिक हुन् उनी। व्यावसायिक घरानाकी लिमाको पारिवारिक व्यवसाय पनि छँदैछ।
श्रीमान् सुदीप आचार्य डिसहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष हुन्।
यद्यपि, सफल व्यवसायी हुनुमा मात्र उनी सन्तुष्ट छैनन्। उनी त चाहन्छिन्– सामूहिक समृद्धि। महिला चेम्बर अफ कमर्सको महासचिव भएपछि उनले महिलाहरूको सशक्तीकरणका लागि काम गर्न कम्मर कसिन्। महिलाहरूलाई उद्यमी बनाउन र उनीहरूको जीवनस्तर उकास्न सपना बुनिन्।
‘महिलाहरूको उत्थानका लागि प्रभावकारी काम गरुँ, मेरो सपना त्यही हो,’ लिमा सुनाउँछिन्।
व्यवसायमा जमेकी लिमाको हुर्काइको परिवेश भने फरक थियो। एमाले नेता एवम् पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीकी माइली छोरी हुन् उनी। राजनीतिक वातावरणमा हुर्केकी लिमा व्यवसायमा कसरी प्रवेश गरिन् त?
सिद्धार्थ बनस्थली र चीनको अध्ययन
‘छोरीहरूलाई माया गर्नु त भरतमोहनले जस्तो,’ परिचितहरूले भन्ने गर्थे। हुन पनि भरतमोहन अधिकारी खुबै माया गर्थे आफ्ना छोरीहरूलाई। भूमिगत कम्युनिस्ट राजनीति गरिरहेका उनलाई छोरीहरुको वरिपरि भइरहने छुट कहाँ थियो र! तर जति टाढा, माया उति गाढा!
०३१ सालमा जन्मिएकी लिमा कहिलेकाहीँ महिनौँसम्म बालाई देख्न पाउँदिनथिन्। कहिले बासँगै घरमा अरु मानिस पनि आउँथे।
‘भूमिगत काल थियो। अर्कै नामबाट घरमा विभिन्न मानिस आएका हुन्थे। पछि थाहा भयो ती मदन भण्डारी, झलनाथ खनाल लगायतका नेताहरू रहेछन्,’ उनी सम्झिन्छिन्।
राज्यसँग भागीभागी हिँड्नुपरे पनि भरतमोहनले तीनै जना छोरीलाई राम्रो शिक्षा दिलाए। लिमा पनि दिदीसँगै काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा पढ्न पाइन्।
‘बुबाआमाले दुःख पाउनुभयो। तर दुःख हुँदा पनि छोरीहरूलाई काठमाडौँको वनस्थली स्कुलमा ल्याएर पढाउनु भयो। आमा शिक्षक हुनुहुन्थ्यो। हामीलाई पढाउनकै लागि कुखुरा पाल्नुभयो उहाँले,’ लिमा सम्झिन्छिन्।
बुबाआमाको यही संघर्षपूर्ण जीवन देख्दा लिमालाई लाग्थ्यो– राजनीति गर्दिनँ। त्यसपछि सानैदेखि सोचिन्– व्यापार।
वनस्थलीबाट लिमाले एसएलसी पास गरिन्। त्यसपछि आईएसी गरिन्। अनि थप पढ्नका लागि चीन गइन्। त्यहाँ पुगेपछि उनले जीवनलाई बुझिन्। वुहानमा उनी पढ्ने विश्वविद्यालयमा विदेशी विद्यार्थी बस्नका लागि एउटा ठूलो भवन छुट्याइएको थियो। सो भवनमा बस्नेमध्ये उनी एक जना मात्रै केटी मान्छे। उनी अत्यधिक डराउँथिन्। धेरै पटक रोइन् उनी।
नेपालबाट जाने बेलामा उनीसँग चिनियाँ भाषाको ज्ञान थिएन। थुप्रै महिनासम्म त्यसको असर भोगिरहनुपर्यो लिमाले।
‘मलाई एक जना सिनियरले दुईतीन वटा खानाको नाम लेखेर छाडिदिएका थिए। भाषा नजानेर त्यही देखाएर महिनौँसम्म खाना माग्थेँ। मन नपरे पनि त्यही चिज दोहोर्याएर खानुपर्यो । त्यसपछि त भाषा जान्न करै लाग्यो,’ उनले भनिन्।
अन्ततः उनले चिनियाँ भाषा सिकेरै छाडिन्। सन् २००२ मा एमबीए सकेर उनी नेपाल फर्किइन्।
चीनको बसाइले आफ्नो सोचको दायरा फराकिलो बनेको उनको बुझाइ छ।
‘चीनमा ८० वर्ष नाघेका वृद्धवृद्धाहरू पनि राति सुप बेचिरहेका हुन्थे। सोसाइटीले पनि मान्छेलाई ड्राइभ गरेको हुन्छ। जनसंख्या धेरै भएको देशमा सबै मेहेनती हुनुपर्छ भन्ने चेत छ। हामीले पनि त्यो मेहेनत किन नगर्ने,’ उनले सोचिन्।
लिमा २७ वर्षकी थिइन् नेपाल आउँदा। लगत्तै उनी नेपाली व्यापारीहरुलाई चिनियाँ भाषा पढाउन थालिन्।
बिहे र अमेरिका बसाइ
नेपाल आएको केही महिनामै लिमाको विवाह जुर्यो। उनको विवाह प्रसंग रोचक छ। भरतमोहनलाई एक पत्रकार अन्तर्वार्ता लिन आएका रहेछन्। अन्तर्वार्तामा उनले प्रसंगवश भनेछन्, ‘मेरी माइली छोरी चीनबाट भर्खर पढाइ सकेर आएकी छ। उसको विवाह गर्नुछ।’
अन्तर्वार्तामा लेखिएको त्यो प्रसंग पत्रकार निर्मला शर्माले पढिछन्।
‘मेरो दिदीको छोरा पनि अमेरिकाबाट आएका छन्। उसको पनि बिहे गर्नुपर्नेछ,’ उनी कुरा लिएर भरतमोहनकहाँ पुगिन्।
त्यसपछि सुदीप आचार्य र लिमाबीच कुरा भयो। समझदारी भयो र विवाह पनि भइहाल्यो। त्यो समय आचार्य परिवार रियल स्टेट र पस्मिनाको व्यवसायमा थियो। हाइड्रोमा पनि लगानी थियो। किस्ट मेडिकल कलेज सुरु हुँदै थियो।
लिमाले बिहेपछि एक जना नेपाली र एक चिनियाँसँगको साझेदारीमा वेट लस स्लिम सेन्टर सुरु गरिन्। त्यसपछि काठमाडौं प्लाजामा सेप अप स्लिमिङ सेन्टर सुरु गरिन् उनले। उही क्रममा लिमा अमेरिका जानुपर्यो।
२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले नेपालमा ‘कू’ गरे। लगत्तै भरतमोहन नजरबन्दमा परे।
‘नेपालमा अहिले परिस्थिति ठीक छैन। तिमीहरू उतै बस भनेर बाआमाले भन्नुभयो, अनि हामी तत्काल नेपाल फर्कन पाएनौँ,’ लिमा सम्झिन्छिन्।
अमेरिकामै लिमाले छोरीलाई जन्म दिइन्। त्यसपछि सुदीपले नेपाली कार्पेटको व्यापार थाले। लिमाले भने पार्ट टाइम जागिर सुरु गरिन्।
पाँच वर्षपछि उनीहरू नेपाल फर्किए।
‘आउँदा सबै सामान्य भइसकेको थियो, त्यसपछि यहीँ केही गरौँ भन्ने भयो,’ उनले सुनाइन्।
उनीहरुको व्यावसायिक यात्राले गति लियो। सुदीपले डिसहोम, कामना सेवा बैंकको जिम्मेवारी सम्हाले। लिमाले पनि सेप अप ट्रेनिङ सेन्टरको शाखा विस्तार गरिन्।
फिटनेस र वेलनेसमा उनको विज्ञता पनि थियो। तीन वर्षअघिमात्र वेलनेस व्यवसाय सुरु गरिन्।
महिलाका मुद्दामा काम गर्ने चाहना
२०७४ तिर लिमाको भेट डा. अञ्जना शाक्यसँग भयो। उनीहरुबीचको सम्बन्ध चाँडै नै आत्मीय बन्यो। केही समयपछि डा. अञ्जना महिला चेम्बरको सभापति भइन्। त्यही रात उनले लिमालाई म्यासेज गरिन्, ‘म महिला चेम्बरको सभापति भएँ, तपाईं पनि चेम्बरमा आबद्ध हुनुपर्यो।’
लिमाले चेम्बरको सदस्यता लिइन्। यही क्रममा उनी सचिव हुँदै महासचिव भइन्। महासचिव भएपछि उनको सक्रियता बढ्यो।
उनको सक्रियतामा महिला चेम्बरको शाखा एकदमै विकट जिल्लामा पनि विस्तार भयो। महिला उद्यमीका समस्या बुझेर उनीहरूलाई उकास्न चेम्बर लागिपर्यो। त्यतिबेला महिलाहरूको दुःखबारे उनले धेरै बुझ्ने मौका पाइन्।
‘कतिलाई उद्यमी बन्न मन छ। तर परिवारमा सहयोग छैन। नोक्सान बेहोर्यो भने पनि डुबाइस् भनेर परिवारको गाली खानुपर्ने स्थिति रहेछ,’ लिमा सुनाउँछिन्।
महिला उद्यमीका उत्पादन एकदमै राम्रो भए पनि बजार नपाएको देखेर उनी खिन्न हुन्थिन्।
‘हामीले यसलाई घरेलु उद्योगबाट माथि उठाउन समूह बनाएर कसरी गर्न सकिन्छ भनेर विभिन्न किसिमका वर्कसप गर्यौँ। यसले मद्दत पनि गर्यो,’ उनी सुनाउँछिन्।
लिमा अहिले एमाले सम्वद्ध संस्था अखिल नेपाल महिला संघमा पनि छन्। तर देशको राजनीतिक अवस्थाप्रति उनको वितृष्णा छ।
‘अहिलेका कम्युनिस्ट नेताहरू कमाउनतिर लागे। उनीहरूले जनताको मर्म बुझेनन्। आफ्नो र आफ्नाहरूको लागि सोचे,’ उनको गुनासो छ।
बरु उनी सामाजिक काममा नै सक्रिय हुन रुचाउँछिन्। ०७५ सालमा भरतमोहन बिते। बाको स्मृतिमा उनले भरतमोहन फाउन्डेसन दर्ता गरिन्। त्यही फाउन्डेसनमार्फत् उनले विभिन्न सामाजिक काम गरेकी छन्। थुप्रै जेष्ठ नागरिकका लागि आँखाको शिविर कार्यक्रम सञ्चालन गरिन्। जेष्ठ नागरिकलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर वर्कसप सञ्चालन गरिन्। अहिले एजिङ नेपालले आधारभूत शैक्षिक कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको लागि भरतमोहन फाउन्डेसनले सहयोग गरको छ।
‘वृद्धवृद्धालाई मोबाइल चलाउनेलगायत प्राविधिक कुरा सिकायो भने उहाँहरू आफैँले गर्न सक्नुहुन्छ। उहाँहरूलाई पढ्न र व्यवहारिक ज्ञानका कक्षा पनि हामीले सञ्चालन गर्यौँ,’ लिमा सुनाउँछिन्।
लकडाउनको बेलामा पनि लिमाले केही स्थानमा स्वास्थ्य सामग्रीहरू वितरण गरिन्। अब लिमालाई व्यवसायसँगै महिलाका मुद्दाहरूमा काम गर्नुछ।
‘महिलाहरूलाई आर्थिक रुपमा समुन्नत बनाउनु छ। त्यसका लागि उनीहरूको सशक्तीकरण मेरो लक्ष्य हो,’ लिमा भन्छिन्।
Shares
प्रतिक्रिया