त्यतिबेला घरमा पढ्ने किताब थिएनन्। हजुरबाले सुत्ने बेलामा कथा सुनाउँथे। अनौठा, महाभारतका कथा, रामायणका कथा, लोककथा।
सुजित मैनाली सानै थिए। उनी साँझको खाना खाएपछि हजुरबाको कथा चाख दिएर सुन्थे। हजुरबा हाउभाउसहित मुड्की बजार्दै उत्साहका साथ सुनाउँथे कथा।
‘अब बाँकी भोलि!’ हजुरबा ‘सस्पेन्स’ बाँकी राखेर कथावाचन बिसाउँथे।
‘यसपछि के भयो?’ सचित्र कहानी हेरेजस्तो लाग्ने सुजितलाई त्यसपछि कुतूहल जाग्थ्यो। उनी भोलि साँझ बाँकी कथाको उही अद्भूत दृश्य पर्खेर बस्थे।
हजुरबाले सुनाएको कथाबाटै नै हो, पुराना घटना, साहित्य, किंवदन्ती, धर्मशास्त्रप्रति सुजितको अभिरुचि बढ्दै गएको। सुनेर मात्र पुगेन, कथा कहानीका किताब पढ्ने उत्सुकता उनमा जाग्दै गयो। तर स्कुलमा न लाइब्रेरी थियो, न वरिपरि पुस्तक पसल।
‘अनिकालमा जे पनि खान्छ भनेजस्तै त्यतिबेला जे जे भेटिन्छ त्यही त्यही पढ्थेँ,’ सुजित आफ्नो बाल्यकालीन पठन हुटहुटीबारे सुनाउँछन्।
भएका किताब पनि सजिलोगरी कहाँ पढ्न पाइन्थ्यो र! लुकीलुकी पढ्नुपर्ने। जसले कथा, कविता पढ्थ्यो, ऊ बिग्रियो भन्ने मान्यता थियो।
त्यसैले घरमा भन्थे– सुजित बिग्रियो!
एसएलसीपछि उनी कलेज पढ्न विर्तामोड पुगे। विर्तामोडमा कलेज पढ्दा पहिलो पटक उनले त्यहाँ लाइब्रेरी भेटे। कलेजको लाइब्रेरीमा थुप्रा किताब थिए। उनी दिनभरि बसेर पढ्थे। त्यतिबेला उनले पढ्ने भनेकै घटनाप्रधान कथा र उपन्यास थिए।
इतिहास लेखनमा गहिरो अभिरुचि राख्ने सुजितको यतिबेला ‘सतीः इतिहास र मीमांसा’ बजारमा आएको छ। विसं १९७७ मा चन्द्रशमशेरले नेपालभर सतीप्रथाको अन्त्य गरे। त्यसपछि पतिको शवसँगै पत्नी चितामा जल्नुपर्ने प्रथाको अन्त्य भयो।
सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानकि पाटोबारे केलाएका सुजितले यसबारे ७ वर्ष लगाएर यो पुस्तक तयार पारेका छन्। दुई वर्षअघि उनको पहिलो पुस्तक ‘शिलान्यासः नेपाल निर्माणको नालीबेली’ प्रकाशित भएको थियो।
पछिल्लो पुस्ताबाट इतिहासमाथि गहिरो अध्ययन अत्यन्तै कम भएको पाइन्छ। तर, सुजितको अध्ययन नै इतिहासकेन्द्रित छ। उनका जति पनि लेखरचना अखबारमा प्रकाशित हुन्छन्, ती इतिहासकेन्द्रित नै हुन्छन्।
सुरुमा प्रशस्त उपन्यास र कथा पढ्ने सुजित कसरी इतिहास र संस्कृतितर्फ आकर्षित भए त?
कलेजमा अर्थशास्त्र विषय शिक्षकले भनिदिन्थे– ‘सबैभन्दा महत्वपूर्ण कुरा अर्थशास्त्र हो।’
हो जस्तै लाग्यो उनलाई। अनि पढ्न थाले अर्थशास्त्रका भेटेजति किताब। जति पढे, त्यतिले उनको तिर्सना मेटेन। पढ्दै गर्दा उनको रुचि अन्तर्राष्ट्रिय सम्बन्धका विषयतर्फ मोडियो। ती पनि भेटेजति पढे।
यसरी नै इतिहासका तथ्य र समाजका संस्कृतिहरूमाथि उनको ध्यान आकृष्ट भयो।
अध्ययन सँगसँगै लेखनतर्फ पनि उनको ध्यान तानिँदै गएको थियो। सुरुवाती समयमा सुजित मुक्तक लेख्थे। झापामा साहित्यिक गतिविधि त्यहाँको भेटघाट चौतारीमा शुक्रबार भेला भएर कविता, गीत, कथा, समीक्षा सुनाउँथे। त्यहाँ जाँदा बडो रमाइलो हुन्थ्यो। स्थानीय पत्रिकाहरूमा उनलाई लेख छपाउन मन लाग्थ्यो।
‘सुरुमा जति लेखे पनि छापिएनन्। पछि छापिन थाल्यो। छापिएपछि संसार नै जितेजस्तो लाग्ने। एउटै छापेको कुरा ६० पटक भन्दा बढी पढियो होला,’ सुजित सुनाउँछन्।
पुस्तक नभेट्दाका सास्ती
‘आलोचनात्मक चेत कसरी बन्दो रहेछ?’ सुजितलाई यो मेरो प्रश्न थियो।
पठन अभ्यासको क्रममा उनी आफ्ना अनुभवहरू सुनाउँछन्।
‘अनुसन्धानमूलक आर्टिकल वा पुस्तकहरू पढ्दै गइयो। सुरुमा पत्याएर पढिन्थ्यो सबै सही लाग्थ्यो। पछि नपत्याएर पढिन थालियो, अनि ग्याप देखिन थाल्यो।’
त्यही ग्याप भर्दै जाँदा नयाँ आर्टिकल र किताब लेखिने सुजितको बुझाइ छ।
सुरुसुरुमा उनका लागि गोरखापत्र र कान्तिपुरले लेखेको अकाट्य लाग्थ्यो। किताबमा लेखेको छ भनेपछि पत्याएरै पढ्थे।
‘गम्भीर पुस्तकहरू पढ्दै गएपछि ती भ्रम मेटिँदै गए,’ सुजित सुनाउँछन्।
पहिलेपहिले सुजितलाई लाइब्रेरी, पुस्तक पसल देख्नेबित्तिकै लाग्थ्यो– किताब त जति पनि छन्। झन् काठमाडौं आएपछि खोजेको किताब सजिलै पाउँदा उनी मख्ख पर्थे।
तर, अहिले यस्तो लाग्छ सुजितलाई– काठमाडौँमा किताबै पाइँदैन। काठमाडौंमा मात्रै हैन खोजेको किताब ठूला लाइब्रेरीहरूमा पनि नपाउँदा अनुसन्धानमा सास्ती बेहोर्नुपरेको छ सुजितले।
‘एउटा विषयमा स्पेसिफिक भएर पढेपछि पाउन गाह्रो रहेछ किताब, पब्लिक लाइब्रेरीमा पनि नपाइने,’ उनी सुनाउँछन्।
‘सती’ लेख्ने बेलामा पनि सुजितले यो समस्या झेलेका छन्।
‘नेपालमा पुस्तकालयमा उपलब्ध भएका किताब मात्र हेर्ने हो भने त यही किताब सकिन्न थियो। अहिले इन्टरनेटको कारण बुक डाउनलोड गरेर प्रिन्ट गर्न मिल्छ। यसैको लागि मैले किन्डलमा पनि पढेँ। आफूलाई चाहिने किताबका फोटोकपी गर्दामात्र पनि किताब लेखन खर्चिलो हुन पुगेको छ,’ उनी भन्छन्।
‘शिलान्यास’देखि ‘सती’सम्म
कस्तो कुराको इतिहास लेख्ने? लेखनका बेला यो कुरा सुजित सम्झिरहन्छन्। उनलाई लाग्छ– इतिहास त ‘सेटल’ भइसकेका कुराका लेख्ने हुन्। शिलान्यासअघि उनले मधेसमाथि लेख्न थालेका थिए। लेख्दै गएपछि लाग्यो– ‘मधेस आन्दोनल त सकिएकै छैन।
‘मधेशले उठाएका कतिपय माग सम्बोधन भएको छैन। मधेसको मुद्दा सेटल नभई फेरि आन्दोलन हुन्छ,’ उनले सोचे।
अनि लेख्दै गरेको इतिहास थन्क्याएर राखे।
‘लगत्तै लेख्दा इतिहासको सही मूल्यांकन हुन्न रहेछ। घटनासँग जोडिएका मान्छे हुन्छन्, ती बाँचेकै हुन्छन्। आक्रोश शान्त भइसकेको हुँदैन। लाभ र हानिबाट मुक्त भइसकेको हुँदैन। त्यसपछि घटनाहरूको वस्तुनिष्ठ मूल्यांकन हुँदैन,’ उनी भन्छन्।
त्यसपछि उनले शिलान्यास लेख्न थालेका थिए। शिलान्यास पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको विजय अभियानबारे केन्द्रित छ।
शिलान्यासपछि उनको दोस्रो पुस्तक हो ‘सती’।
‘सुरुमा म समाज बुझ्न चाहन्थेँ। समाज बुझ्न इतिहास बुझ्नुपर्ने थियो। इतिहास बुझ्न पनि महिलाको इतिहास नबुझी नहुने थियो,’ उनले भने।
महिलाको इतिहासबारे बुझ्दै जाँदा विभिन्न आलेखहरू तयार पारेका थिए।
‘सतीकै रुपमा सिंगो किताब गर्ने भन्ने थिएन। तर यस्ता केही म्याटेरियल महिला मुद्दाबारे संकलन गरिरहेको थिएँ। त्यही संकलित सामग्रीमध्ये सती प्रथासम्बन्धी कुरा पनि थिए। पछि लेख्छु भनेर राखेको थिएँ। यही सतीका रुपमा आयो,’ सुजित भन्छन्।
उसो त नभोगेका कालखण्डलाई शब्दचित्रमा उतार्नु चुनौतीको कुरा थियो। अध्ययनका लागि किताबहरू नपाउँदाको सकस त छँदै छन्। ‘सती’ लेख्दै गर्दा कति ठाउँमा फिल्ड भिजिट पनि जार्नुपर्ने हुन्थ्यो। कतिपय महत्वपूर्ण स्थलमा उनी कोरोनाका कारण भएको लकडाउनको प्रभावले जान पाएनन्।
‘फिल्ड भिजिट नगर्दा परिवेश र परिवेशसँग गाँसिएको इमोसनलाई आत्मसात् गर्न नपाइने रहेछ,’ उनी सुनाउँछन्।
सतीमाथिका किंवदन्ती र गलत व्याख्या
विभिन्न प्रसंगका बेला एउटा शब्द उखान बारम्बार प्रचलनमा आउँछ– ‘सतीले सरापेको देश।’
यो किंवदन्तीमाथि सुजितले खोज गरे। सतीका सरापसँग जोडिएका किंवदन्ती र स्थलबारे अध्ययन गरे। उनका अनुसार पनौतिको सतीवन, संखुवासभाको तुम्लिङटार छेउको सतीघाटसँग यसको मनोविज्ञान र त्यसको ऐतिहासिकता जोडिएको छ।
‘जब भीमसेन थापालाई आत्महत्या गर्न बाध्य पारियो। त्यसपछि उनकी श्रीमतीले श्राप दिएको भन्ने एकखालको चर्चा जनस्तरमा पाइन्छ। मल्लकालमा भीम मल्लको हत्यापछि श्राप दिएको भन्ने वंशावलीमा लेखिएको छ। भीम मल्लको श्रीमतीले श्राप दिएको र त्यो अहिलेसम्म परिरहेको छ भन्ने पनि उल्लेख छ,’ उनी भन्छन्।
‘सती’ जाने बेलामा किन बाजागाजा बजाइन्थे? यसको अन्तर्यबारे सुजित भन्छन्, ‘सतीले सरापेको नसुनियोस् भनेर बाजागाजा एकदमै बजाइन्थ्यो। यो एकदमै षड्यन्त्र हो। जुन अर्कै उद्देश्य हासिल गर्नै फैलाइएको भ्रम। आगोले पोल्न थालेपछि पीडा हुन्छ। सरापेको सुनेन भने सराप त लागेन।’
त्यतिबेला सतीलाई पोल्दैन भन्ने गरिन्थ्यो।
‘मनोवैज्ञानिक रुपमा उनीहरूलाई तयार पार्न तयार पारिएको भाष्य हो– सतिको सराप भन्ने,’ सुजित अन्तर्य खोल्छन्, ‘सतीप्रथा नेपाल र भारत दुवै देशमा अन्त्य भए पनि यसको प्रभाव भने अझैसम्म छ। भारतमा ६ वर्षअघि एक वृद्धा श्रीमानसँग सती गइन्। नेपालमा पनि सतिप्रथा अन्त्य भएपछि फाट्टफुट्ट भएको केही अनुश्रूति छ, तर अभिलेख छैन।’
तर, सतीप्रथासँग गाँसिएको मनोविज्ञान समाजमा अझै व्याप्त भएको उनी सुनाउँछन्।
‘सतीप्रथाको उद्देश्य महिलाको यौनिकता नियन्त्रण गर्नु हो। सतीप्रथा प्रतिव्रता धर्मसँग गाँसिएको हुन्छ। प्रतिव्रता भनेको परपुरुषको कामनासम्म पनि नगर्नु हो। त्यो मनोविज्ञान अहिलेसम्म छ,’ सुजित भन्छन्।
सतीप्रथामाथि लेख्दै गर्दा सुजितले यसबारे गरिएका गलत व्याख्या पनि पाए।
‘सतीहरू इच्छापूर्व सती जानु भन्ने छ। यो पदावली नै गलत छ। सती गएका होइनन् जबर्जस्ती पठाइएको हो,’ उनी भन्छन्।
Shares
प्रतिक्रिया