राजा महेन्द्रको ‘कू’ का कारण नेपाल तरुण दलको महाधिवेशनस्थल थापाथलीबाटै पक्राउ परेका बीपी कोइरालाको पुस १ गते (२०१७) देखि सिंहदरबारभित्र चिसो छिँडीको बास सुरु भयो।
सिंहदरबारमा थुनिएका बीपी केही दिनपछि सुन्दरीजलस्थित सैन्य ब्यारेकमा पुर्याइए।
त्यो कूको ठीक एक वर्षअघि भने बीपी र महेन्द्रबीचको सम्बन्ध फरक थियो। हजारौँ जनताका बीच एक अर्काको प्रशंसा गर्दै राजा महेन्द्र र प्रधानमन्त्री बीपी पश्चिम नेपालका पहाडी गाउँहरु घुमिरहेका थिए।
१ पुस (२०१६) का दिन महेन्द्र र बीपी बाग्लुङको बियुने भन्ने स्थानमा थिए। महेन्द्र–बीपी त्यसदिन रहेको बियुने क्याम्प ६ हजार १ सय फिट अग्लो स्थानमा छ।
अत्याधिक चिसोका कारण बीपी र महेन्द्रले राति अबेरसम्म आगो ताप्दै झण्डै एक सय जना स्थानीयबासीसँग भेट गरेका थिए।
राजा महेन्द्र र प्रधानमन्त्री बीपीको पश्चिम नेपालको त्यो संयुक्त यात्रा २६ मंसिर (२०१६) बाट सुरु भएको थियो। ग्राम विकासमन्त्री डा. तुलसी गिरि र सहायक योजनामन्त्री डा. त्रिवेणीप्रसाद प्रधानका साथ विशेष वायुयानबाट पोखरा ओर्लिएका महेन्द्र र बीपी २७ मंसिरमा कास्कीको ह्याङ्जा हुँदै पर्वतको तिलाहारतिर लागे।
२९ मंसिर (२०१६) मा कुश्मामा आयोजित कार्यक्रममा राजा महेन्द्रको प्रशंसा गर्दै बीपीले भनेका थिए, ‘श्री ५ महाराजधिराज आफ्ना दुनियाँको पीरमर्का हटाउन यस पहाडी इलाका सवारी होइबक्सेको हो र मौसुफबाट सकेसम्म जनताको पीरमर्का हटाउन प्रयत्न गरिबक्सनेछ। म पनि जनताको प्रतिनिधिका रुपमा जनताको पीरमर्का हटाउन के कति गर्न सकिन्छ भन्ने बुझ्न ३–४ जिल्लासम्म भए पनि मौसुफको सवारीसाथ जान आएको छु।’
बीपीबाट यति धेरै प्रशंसा पाएका राजाले त्यसको ठीक एक वर्षपछि नै आफूले नेतृत्व गरेको निर्वाचित सरकार अपदस्थ गरी आफूलाई जेलमा कोचिदेलान् भन्ने कुरा बीपीलाई के थाहा?
राजा महेन्द्रद्वारा कांग्रेसको प्रशंसा
राणाहरुको अत्याचार सहन नसकेर २००७ कात्तिकमा राजा त्रिभुवन नयाँदिल्ली शरणमा गए। राजा त्रिभुवन सपरिवार नयाँदिल्ली प्रस्थान गरेलगत्तै नेपाली कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र संघर्ष सुरु गर्यो।
राजाको नयाँदिल्ली शरणका कारण राणाविरुद्धको संघर्षलाई बल पुग्यो। तर, सशस्त्र क्रान्तिको सञ्चालक नेपाली कांग्रेस थियो। क्रान्तिमा रगत र पसिना बगाउनेहरु नेपाली कांग्रेसका नेता–कार्यकर्ता थिए।
कांग्रेसले गरेको सशस्त्र संघर्षका कारण राणा शासनको अन्त्य भई राजाको शक्ति पुनर्बहाली भएको हो। तर, दरबारियाहरु अहिले पनि त्यसको जस नेपाली कांग्रेसलाई दिन तयार छैनन्।
उनीहरु ‘राजा र जनताको संघर्षको बलमा’ राणा शासन अन्त्य भएको व्याख्या गर्छन्। र, नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र संघर्षको भूमिकालाई नजरअन्दाज गर्न खोज्छन्।
बीपीसँगको त्यो यात्राका क्रममा राजा महेन्द्रले भने २००७ को क्रान्तिमा नेपाली कांग्रेसको भूमिका रहेको बताउँदै त्यसको प्रशंसा गरेका थिए।
३ पुस (२०१६) को गोर्खापत्रले गरेको रिपोर्टिङअनुसार राजा महेन्द्र र बीपीको भ्रमण दल ३० मंसिरमा बाग्लुङ गौँडा पुगेको थियो। त्यहाँ आयोजित कार्यक्रममा प्रतिनिधि सभामा बाग्लुङबाटै निर्वाचित खाद्य तथा कृषि सहायकमन्त्री योगेन्द्रमान शेरचनले राजा महेन्द्रको अभिनन्दन गरेका थिए। र, सो अभिनन्दनको जवाफ दिने क्रममा २००७ को क्रान्तिमा नेपाली कांग्रेसको भूमिकाको प्रशंसा गरेका हुन्।
‘गाउँ–गाउँ, दुनियाँको दैलो–दैलो सवारी भएर पहिले भैराखेको राजा र प्रजाका बीचको फरकलाई मौसुफ (राजा महेन्द्र) बाट हटाइबक्सेको छ,’ राजा महेन्द्रको अभिनन्दन गर्दै शेरचनले भनेका थिए, ‘र, राजा र प्रजाका बीचको आपसी सम्बन्धलाई बलियो पारिबक्सेको छ।’
प्रधानमन्त्री बीपी कोइराला राजा महेन्द्रसँगै त्यो मञ्चमा उपस्थित थिए। गाउँमा हुने स्वागत कार्यक्रममा राजाको तर्फबाट जनतालाई धन्यवाद दिने काम बीपीले गरिदिन्थे। तर, गौँडा (जिल्ला सदरमुकाम) मा हुने कार्यक्रममा भने राजा महेन्द्र सम्बोधनका लागि आफैँ अघि सर्थे।
त्यसैक्रममा महेन्द्रले बाग्लुङ गौँडाको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै २००७ को क्रान्तिको श्रेय आफ्ना बाबु राजा त्रिभुवन र नेपाली कांग्रेसलाई दिए।
‘प्रजातन्त्रअगाडि हाम्रो देशमा राजधानी मात्र सर्वसम्पन्न भएको र अरु क्षेत्रहरु उपेक्षित भइरहेको पनि सबैले अनुभव गरेकै कुरा हो,’ त्यो सभामा राजा महेन्द्रले भनेका थिए, ‘अब श्री ५ बुबाज्यूको नेतृत्वमा नेपाली कांग्रेसको परिश्रमले ल्याएको प्रजातान्त्रिक शासन विधिवत् खडा भएको छ र सबै जनताले आफ्नो हक र जिम्मेवारी महसुस गरी आफ्नो पीरमर्का तथा चाहिँदो माग सरकार समक्ष पुर्याउने मौका पाइआएका छन्।’
यसबाहेक राजा महेन्द्र र उनका उत्तराधिकारीहरुले २००७ को क्रान्तिमा नेपाली कांग्रेसको भूमिकाको स्मरण र प्रशंसा गरेको भेटिँदैन। तर, प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसको योगदानको प्रशंसा गरेको एक वर्ष बित्दानबिन्दै उनले कांग्रेस नेतृत्वको सरकारलाई अपदस्थ गरेर फेरि प्रजातन्त्रको अपहरण गरे।
प्रत्युत्तरमा बीपीद्वारा राजाको प्रशंसा
यो यात्राका क्रममा बीपीले पनि राजा महेन्द्रको मुक्तकण्ठले प्रशंसा गरिरहे। बाग्लुङ गौँडामा आयोजित त्यही कार्यक्रममा बीपीले राजा महेन्द्रको प्रशंसा गर्दै भनेका थिए, ‘श्री ५ महाराजधिराजको स्वागतमा बाग्लुङ निवासीहरुले हृदयदेखि नै जुन उत्साह प्रदर्शन गरेका छन्, त्यस्तो उत्साह देश निर्माणको काममा पनि सबैमा हुनुपर्दछ।’
कास्की, पर्वत, बाग्लुङ हुँदै महेन्द्र–बीपीको भ्रमण दल ४ पुस (२०१६) मा गुल्मीको बामीटक्सार पुगेको थियो। त्यहाँ आयोजित अभिनन्दन कार्यक्रममा पनि प्रधानमन्त्री बीपी राजा महेन्द्रको प्रशंसा गर्न चुकेनन्।
‘राष्ट्रिय एकताको भावना सबैमा जागृत हुन सकोस् भन्ने उदेश्यले श्री ५ महाराजधिराज गत केही वर्षदेखि दुःखकष्टको पर्वाह नगरी देशका विभिन्न भागको कठिन यात्रामा सवारी भएको छ,’ बामीटक्सारमा बीपीले भनेका थिए, ‘चार–पाँच दिनसम्मको बाटोबाट समेत आएर जनताले आफ्ना राजाप्रति जुन श्रद्धा, भक्ति र ममता प्रकट गरी भित्री हृदयबाट स्वागत गरिरहेका छन्, त्यो कहिल्यै बिर्सन सकिँदैन।’
राजा र प्रधानमन्त्रीको स्वागतका लागि ८ पुसका दिन हजारौँको जनसमूह चुत्राबेसी (अर्घाखाँची) मा उपस्थित थियो। त्यो उपस्थितिलाई बीपीले राजा महेन्द्रप्रतिको स्नेह, प्रेम र ममताको रुपमा व्याख्या गरे। र, ‘राजाले पाएको स्वागतबाट आफूमा नयाँ कुराको अनुभव हुन लागेको’ अभिव्यक्ति दिए।
‘श्री ५ महाराजधिराजको यो यात्रालाई हामीले एक रमिता मात्र सम्झनु हुँदैन, यसलाई यो महत्वपूर्ण उद्देश्यको रुपमा सम्झनु पर्दछ कि– मौसुफको यो यात्रा देश निर्माण तथा नयाँ समाजको निर्माणको निम्ति भेदभाव सब मिटाई एक भएर मिहिनेत गर्नुपर्दछ भन्ने कुराको प्रेरणा मिलोस् भन्ने उद्देश्यका लागि हो।’
२०१६ माघ पहिलो हप्ता भारत भ्रमणमा जाने कार्यक्रम भएकाले प्रधानमन्त्री बीपी राजा महेन्द्रलाई दाङमा छाडेर १७ पुस (२०१६) मा तुलसीपुरबाट काठमाडौँ फर्केका थिए।
काठमाडौँ फर्कनुअघि राजा महेन्द्र उपस्थित तथा बीपीले सम्बोधन गरेको अन्तिम कार्यक्रम १४ पुसमा दाङ–देउखुरीको घोराहीमा आयोजित सभा थियो। त्यहाँ बीपीले राजा महेन्द्रको मात्र होइन, शाहवंशकै प्रशंसा गरे।
‘हाम्रो देशलाई शाहवंशबाट बराबर प्रेरणा प्राप्त भइरहेको छ,’ उनले भनेका थिए, ‘श्री ५ (महेन्द्र) बाट यो स्वदेश यात्रा पनि देशको गरिबी दुर गर्न र देशलाई अघि बढाउन सबै किसिमले आपसी भेदभाव मिटाई सबैबाट ठूलो मिहिनेतका साथ काम होस् भन्ने कुराको प्रेरणाका लागि भएको हो।’
उनको थप भनाइ थियो, ‘यो सवारीसाथ चार जिल्लासम्मको भ्रमणमा श्री ५ सबैको ठूलो मिहिनेतबाट देश निर्माणको काम होस् भन्ने कुरामा कति व्यग्र होइबक्सन्छ भन्ने विशेष अनुभव पाएँ। श्री ५ महाराजधिराजको यो सवारीको महत्वलाई सबैले बुझ्नु पर्दछ। यदि कसैले श्री ५ को सवारीको उद्देश्यलाई सम्झी त्यस अनुकूल काम गरेनन् भने यत्रो दुःख सहेर भएको मौसुफको सवारीको कुनै तात्पर्य रहँदैन।’
द्वन्द्वको बिजारोपण
बीपीले आत्मवृत्तान्तमा उल्लेख गरेअनुसार उनले जमिनमा २५ बिघाको हदबन्दी लागू गर्न खोजेका थिए। यसप्रति राजा सन्तुष्ट थिएनन्। सामन्त र भूमिपतिहरु बीपीविरुद्ध दरबार (राजा महेन्द्र) गुहार्न पुगिसकेका थिए।
बीपी कोइराला नेतृत्वको सरकारको अर्काे महत्वपूर्ण निर्णय थियो, विर्ता उन्मूलन। सो निर्णयअनुसार विर्ताका नाममा राजा–महाराजा, राणा र सामन्तहरुको स्वामित्वमा रहेका देशभरका हजारौँ बिघा जमिन खारेज भएको थियो।
संयोगवश, राजा महेन्द्रका साथ बीपी दाङमा रहेका बेला १६ पुस (२०१६) मा बिर्ता उन्मूलनसम्बन्धी ऐन जारी हुन पुगेको थियो। मन्त्रिपरिषदले यससम्बन्धी निर्णय गरिसकेको थियो। मन्त्रिपरिषदले गरेको निर्णयमा लालमोहर लगाउनु राजा महेन्द्रको ‘बाध्यता’ थियो।
बीपीले सँगै यात्रामा रहेका राजा महेन्द्रको ‘सार्वजनिक प्रशंसा’ गरिरहेका थिए। तर, त्यही यात्राकै क्रममा राजा र प्रधानमन्त्रीबीच मनमुटाव सुरु भइसकेको थियो।
बीपी काठमाडौँ प्रस्थान गर्नुभन्दा तीन दिनअघि १४ पुस (२०१६) को अभिनन्दन सभामा सरकारप्रति चेतावनीको भाषा प्रयोग गरेर राजा महेन्द्रले यो मनमुटावको संकेत गरिसकेका थिए।
‘हाम्रो देश अब प्रजातान्त्रिक तरिकाले चल्न थालेको छ, प्रजातन्त्र तब मात्र पुरा हुन्छ, जब प्रजातान्त्रिक ढंगले छानिएका प्रत्येक व्यक्तिहरु सच्चा प्रजातन्त्र समर्थक बन्न जान्दछन्,’ बीपीपछिको सम्बोधनमा महेन्द्रले भनेका थिए, ‘आफ्नो दुनो मात्र सोझ्याउने कुराले कदापि देश बन्न सक्दैन। कसैले जानी–जानी त्यसो गर्छ भने त्यस्ता व्यक्तिलाई मेरो भन्नु केही छैन। तर, त्यस्ता व्यक्तिहरुलाई नेपाली भन्नु मेरा लागि शरमको कुरा हो।’
२०१५ को आम निर्वाचनमा प्रतिनिधि सभाको ८६ नं क्षेत्र (बाग्लुङ) बाट पराजित कांग्रेस उम्मेदवार गोविन्दलाल श्रेष्ठ पनि राजा महेन्द्र र बीपीको यो संयुक्त यात्रामा पर्वतको कुश्मादेखि अर्घाखाँचीको चुत्राबेसीसम्म सँगै थिए।
नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ को सहसम्पादकको रुपमा महेन्द्र र बीपीको संयुक्त यात्रामा सहभागी श्रेष्ठलाई दरबारले अधिकृत सरहको मान्यता प्रदान गरेर सोही अनुरुपको सुविधा प्रदान गरेको थियो।
श्रेष्ठका भनाइमा बाग्लुङमा रहँदा नै राजा महेन्द्रका गतिविधिदेखि प्रधानमन्त्री बीपी सशंकित भइसकेका थिए।
‘राजाले विश्वेश्वरबाबुसँग यो क्षेत्रबाट को उठेको थियो भनेर सोध्नुभयो क्यारे, उहाँ (बीपी) ले मलाई देखाउँदै ‘(यो) उठेको थियो, लड्यो (हार्यो) भन्नुभयो,’ २०५७ मा प्रकाशित आत्मकथा ‘सेरोफेरो मेरो’ मा श्रेष्ठले लेखेका छन्, ‘(बीपीले) ठट्ट्यौली गर्नुभएझैँ लाग्यो, वास्तवमा यो ठट्यौली थिएन।’
श्रेष्ठका भनाइमा सहायकमन्त्री योगेन्द्रमान शेरचनले उनलाई पछि त्यहाँ भएको चर्चा उनलाई विस्तृत रुपमा बताएका थिए। खासमा राजा महेन्द्र यात्राका दौरान पार्टीका कार्यकर्ताहरुसँग सम्पर्क गर्न र सम्बन्ध बढाउन गम्भीर रुपमा लागेका छन् भन्ने अनुभूति बीपीलाई भइसकेको थियो।
‘चुत्राबेसीबाट सवारी हिँड्नुभन्दा केही समयअघि मन्त्री डा. त्रिवेणीप्रसाद प्रधानले– तपाईं यसरी राजाको पछि लागेको प्राइमिनिस्टरलाई मन परेको छैन, (बीपीले) फर्कनुहोस् भन्नुभएको छ भने,’ उनले लेखेका छन्, ‘फसाद आइलाग्यो, आफ्नो नेता प्रधानमन्त्रीलाई मन नपर्ने काम गर्नु पनि भएन। त्यसैले फर्केँ।’
महेन्द्र र बीपीबीच त्यसअघि पनि आपसमा शंका र द्वन्द्व नभएका होइनन्। खासमा त्यही आशंका र द्वन्द्व अन्त्य गर्न दशैँ–तिहारको अन्त्यसँगै प्रधानमन्त्री बीपी राजा महेन्द्रलाई पश्चिमी पहाडको यात्रामा साथ दिन सँगै निस्केका थिए।
तर, त्यो यात्रा आशंका र द्वन्द्व घटाउने होइन, झन् बढाउने कारण बन्यो। र, त्यो संयुक्त यात्राको एक वर्षपछि नै १ पुस (२०१७) को ‘कू’ हुन पुग्यो।
Shares
प्रतिक्रिया