त्यतिबेला छोरी भएर जन्मिनु भनेको धेरै कुरामा ठगिनु थियो। त्यसमाथि समाज व्यवस्थाको पिँधमा थिचिएको दलित समुदायको उत्पीडनको कुनै सीमा थिएन।
पवित्रा विश्वकर्माले जीवनका ७७ हिउँद काटिसकिन्। उनले हेर्दाहेर्दै धेरै परिवर्तन भए, ठुल्ठूला क्रान्ति भए। पटकपटक राजनीतिक मुद्दा फेरिए। फरकफरक नारा सुनिए। गाउँदेखि सहरको मुहार फेरियो। फेरिन त उनकै परिवारको पनि अवस्था फेरियो। तथापि, दलितहरुको भोगाइमा ठूलो परिवर्तन नआएको उनको अनुभूति छ।
२००२ सालमा जन्मिएकी पवित्रा स्कुल जान पाइनन्। उनी मात्रै होइन, उनको समयका छोरीहरु कसैले स्कुल देख्न पाएनन्। छोराहरु पनि निकै कम स्कुल जान्थे। बाग्लुङको रायडाँडामा उकाली ओराली गरेरै हुर्कियो पवित्राको जीवन।
‘चार वर्षसम्म श्रीमानको मुख हेरिनँ’
पवित्राको उमेर १८ वर्षमा टेक्दै थियो। त्यतिबेला छोरीहरुले १८ वर्षसम्म माइतीमै बसेर हुर्किन पाउनु पनि निकै ठूलो कुरा थियो। छोरीलाई महिनावारी सुरु नहुँदै कन्यादान गरिदिए धर्म हुन्छ भन्ने मान्यता थियो। तर, उनका बुबाले भने १८ वर्षसम्म उनको बिहे गरिदिएनन्।
एक दिन बाग्लुङ भकुण्डेका रामलाल विश्वकर्मा पवित्राको हात माग्न पुगे। एकदुई झल्को बाटो हिँड्दा देखभेट भए पनि पवित्रा र रामलालको दोहोरो संवाद भएको थिएन। बुबाले विवाह पक्का गरिदिए। पवित्रा रायडाँडाको शिखदीपबाट अन्मिएर भकुण्डे पुगिन्।
उनका श्रीमानको आफ्नै आरन थियो। फलामको काम गर्थे। श्रीमान् आफ्नै काममा व्यस्त हुन्थे। न श्रीमान् उनलाई बोलाउन सक्थे, न पवित्रा बोलाउँथिन्। विवाहपछि श्रीमानसँग राम्रोसँग नबोलेर, एकअर्काको अनुहारमा नहेरेरै ४ वर्ष बितेछ।
‘आफ्नो घर हो, यो घर बसाम्ला, यो घर मेरै हो, यहाँ मैले दुःख गर्नुपर्छ भन्ने पछिसम्म लागेन,’ पवित्राले सुनाइन्।
गाउँघरमा चियाको चलन बसिसकेको थिएन। घरमा कहिलेकाहीँ पाक्दा मात्र चिया खान पाइन्थ्यो। त्यसैले चिया खानु पनि रहर बनेको थियो उनका लागि। त्यो समयमा त्यस्ता रहरका कति लहर छुटिगए, अहिले उनीसँग कुनै हिसाब छैन।
गाउँका महिलाहरु मेलापात जाँदा गीतमा भाका हालेर मनको बह पोख्थे। उसो त गाउँमा रेडियो पुगेको थिएन। गीत सुन्ने चलन थिएन। उनले आमाहरुले गाएको सुनेरै गीत टिपेकी थिइन्। सुन्नेहरुले भन्थे– तिम्रो स्वर कति राम्रो! तर, उनले गाउनु पनि पेसा हो भन्ने आफ्नै छोरा बीबी अनुरागीले गीत गाउन थालेपछि थाहा पाएकी हुन्।
पवित्राको त्यो गला उनले जिन्दगीको ७ दशक काटेपछि मात्रै नेपाली सांगीतिक क्षेत्रमा भण्डारण हुन पायो। केही वर्षदेखि पवित्राले लोक गीत रेकर्ड गर्दै आएकी छन्। उनले उनकै समयमा गाएका लोकभाका रेकर्ड गराएकी हुन्।
‘आमा बन्दै छु भन्दा खुसी लागेन’
२०२३ सालमा पवित्रा पहिलो पटक गर्भवती भइन्। पवित्रालाई अब आमा बन्दै छु भनेर थाहा पाएको दिन ‘अब उमेर गएछ’ भन्ने चिन्ताले सताएको थियो।
भन्छिन्, ‘फुक्लोफाक्लो ज्यान भएको भए जता पनि हिँड्न पाइन्थ्यो। अब त बच्चामै अल्झिने भयो जिन्दगी भने जस्तो लागेर निकै दिन रोएँ।’
त्यतिबेलासम्म पवित्रालाई श्रीमानको माया पनि उति साह्रै लाग्दैनथ्यो।
गर्भावस्थाको समय पवित्रामा अनेकन परिवर्तन आए। अनेकन अप्ठ्यारा आए। तर उनलाई परिवारमा भन्न लाज लाग्थ्यो। खान मन लागेको कुरा खान पाउने समय पनि थिएन। भान्छामा जे पाक्छ, त्यही खानु पथ्र्यो। पुगिसरी थिएन। धेरै पाखाबारी। दुःख निकै गर्नु पथ्र्यो। उब्जनीले वर्षभरी खान पुग्दैनथ्यो। त्यसैले फारु गरेर खाने चलन थियो।
गर्भवतीलाई विशेष स्याहार र खाना चाहिन्छ भन्ने थिएन। पवित्राले पनि त्यस्तो स्याहार पाइनन्। पवित्राकी सासू भने निक्कै बुझ्झकी थिइन्। उनलाई माया गर्थिन्। कस्तो छ भनेर सोधिरहन्थिन्। त्यो समय सासुहरुले बुहारीलाई त्यसरी माया गरेको कमै देख्न पाइन्थ्यो।
माइतीमा व्याथा, सुत्केरी हुन घर
फागुनमा बच्चा जन्मनेवाला थियो। त्यही सालको तिहारमा पवित्रा माइत गइन्। उनी लाजले टीकाको दिन मात्रै माइत गइन्। माइतीमा दिदी, आमाहरुले सोधे, ‘किन हिजोअस्ति नै नआएकी?’
उनले लाजका कारण झुट बोलिन्, ‘म नछुने भएर बसेकी थिएँ।’
पछि मात्र माइतीले थाहा पाए।
फागुनमा माइतीमा बहिनीको बिहे थियो। बहिनीको बिहेमा गएकी पवित्रालाई माइतीघरमै व्यथा लागेको थियो। उनलाई भन्न लाज लाग्यो। त्यसैले. उनले घरको बाटो समातिन्। उनलाई बाटोमै मरिन्छ जस्तो भयो। बाटोमै बसेर रोइन्। व्यथा लाग्दै छोड्दै भयो। व्यथा लाग्दा बस्थिन्, छाडेको बेला हिँड्थिन्। अबेर घरमा आइपुगेकी पवित्राले घरमा पनि भन्न सकिनन्।
व्यथाले च्याप्दै गएपछि घरको दैलो थुनेर बसेकी पवित्रा घरभित्र रुन्थिन्, घरबाहिर उनकी सासू। उनकी सासु ढोका बाहिर बसेर भन्थिन्, ‘ढोका खोल तिमीलाई सन्चो छैन। एक्लै बसेर हुन्छ? उस्तै परे ज्यान जान्छ।’
त्यसपछि पवित्राले सकिनसकी दैलो खोलिन्। सासूले तातोपानी खान दिइन्। हात खुट्टा मिचिदिइन्। लामो समयपछि पवित्राले छोरी जन्माइन्। छोरी जन्मिएपछि गर्भवती हुँदा लागेको पीर एकाएक हरायो। छोरी हुर्कंदै गर्दा पवित्रालाई बल्ल घर घरजस्तो लाग्यो। श्रीमानको माया लाग्न थाल्यो। घरमा पवित्राको मन बस्यो।
त्यसपछि प्रत्येक दुई वर्षको फरक पवित्राले १० जना छोराछोरी जन्माइन्। उनका सबै छोराछोरी घरमै जन्मिए। पवित्रा भन्छिन्, ‘सुरुसुरुमा बच्चा जन्माउन निक्कै गाह्रो भयो। तीन वटा जन्माएपछि त बानी हुने रहेछ। पछिपछि हुँदै गएपछि सजिलो भयो।’
गर्भावस्थामा अमिलो पिरो खान मन लाग्थ्यो। शरीर हलुका हुँदैनथ्यो। कहिले सुतिरहन मन लाग्थ्यो। कहिले कसैले नबोलाए हुन्थ्यो भन्ने लाग्थ्यो, कहिले कोही आएर बोलिदिए हुन्थ्यो जस्तो लाग्थ्यो। तर मन अनुसारको सुविधा कहाँ थियो र? उनका दसै सन्तान जन्मिनुभन्दा अघिल्लो दिनसम्म पवित्राले मेलापात गरिन्। सिजन अनुसारको काम सबै सन्तान गर्भमा बोकेर गरिन्।
मौसमअनुसारका फलफूल हुन्थे। आरु, आलुबखडा। त्यो पनि बोटमा बसोस्, पाकेपछि खाउँला भन्ने हुँदैनथ्यो। जुनेली रातमा गाउँका केटाकेटीले चोरेर लैजान्थे। उनलाई गर्भावस्थामा मकैको आँटो र मुलाको साग ज्यादा मन पथ्र्यो।
भुल्न नसकेको सन्तान वियोगको पीडा
पवित्राका ६ छोराछोरी भएपछि परिवार नियोजन गर्ने योजना थियो। उनले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरिरहेकी थिइन्। उनका श्रीमान् बन्ध्याकरण गर्ने तयारीमा थिए। त्यहीबेला पढ्न भारत गएका उनका जेठा छोरा रेबिज भएर बितेको खबर आयो। पवित्राको जिन्दगी अन्धकार भयो। अहिले पनि त्यो सम्झिँदा उनका आँखा रसाउँछन्, बोली अड्किन्छन्।
दुई महिनाकी एक छोरी पनि गुमाइन् उनले।
‘भएका छोराछोरी सबै अब्बल छन्। माया गर्छन्। तर छाडेर जाने सन्तानको माया भुलिनसक्नु हुनेरहेछ,’ उनी भन्छिन्।
छोराको मृत्युपछि ज्योतिषीलाई हात देखाइन्। ज्योतिषीले ‘छोराको आश नगर्नू। अहिले जन्मिएका छोरा तिमीसँगै नहुन सक्छन्’ भनेपछि उनीहरुले थप चार सन्तान जन्माए। तिनै चारमध्येका हुन् अहिलेका चर्चित एरेन्जर श्यामस्वेत रसाइली र गायिका स्वरुपा रसाइली।
जातीय भेदभावबाट पिल्सिँदा
पवित्राको रहर छोराछोरी पढाउने थियो। सुरुसुरुका छोराछोरीले पढ्न पाएनन्। छोरा बितेपछि घरबाट अरुलाई बाहिर पठाइहाल्न पनि सजिलो भएन।
जन्मिएदेखि नै समाजमा पवित्राले कयौँ पटक चरम जातीय विभेद भोगिन। तर, आफ्नै आँखाअगाडि छोराछोरीमाथि भेदभाव हुँदा उनको मन नराम्ररी पिल्सिन्थ्यो। त्यो पीडा उनी छोराछोरीलाई देखाउन सक्दिनथिन्। छोराछोरीमाथि उपल्ला जातिकाले गरेको भेदभाव देखेर उनी कयौँ पटक लुकेर रुन्थिन्।
पछि जन्मिएका छोराछोरी ससाना हुँदै श्रीमानको मृत्यु भयो। त्यसपछि पवित्राले सन्तान हुर्काउन थप संघर्ष गर्नु पर्यो।
‘समाजमा संघर्ष पनि लोग्ने हुँदाजस्तो सजिलो नहुने रहेछ लोग्ने नहुँदा,’ पवित्राले भावुक हुँदै सुनाइन्।
हुर्कंदै गएपछि छोराछोरी पढ्न घर छोडेर निस्किए। हरेक पटक छोराछोरी निस्कने बेला भरिन्थे पवित्राका आँखा। घरमा भएको सामान पोको पार्दै छोराछोरी हिँड्ने अघिल्लो दिनदेखि नै उनी रुन्थिन्। छोराछोरी घर छोडेर हिँडेको कयौं दिनसम्म बल्दैनथ्यो उनको चुलो। मिठोमसिनो पकाएर खान सक्दिनथिन्।
भन्छिन्, ‘मलाई मेरा छोराछोरीका बारेमा नसोध्नू, म बोल्न सक्दिनँ।’
छोराछोरी सम्झिएर रुने सिलसिला आज पनि सकिएको छैन। उनकी कान्छी छोरी सबैभन्दा टाढा छिन्, अमेरिकामा। हरेकदिनजसो भिडियो कलमा कुरा हुन्छ। तर, मिठो पाक्दा होस् अथवा पर्वमा, अरु सन्तान जम्मा हुँदा छोरी नभएको पीडाले भित्रभित्रै टुट्छ पवित्राको मन।
‘छोराको नाम सुन्दा रेडियो च्यापेर रोएँ’
गाउँमा भर्खर रेडियो पुगेको। उनका छोरा बीबी अनुरागीको नाम रेडियोले भनिरहन्थ्यो। उनका गीत बजाउँथ्यो। पवित्राका आँखाबाट खुसीका आँसु झर्थे। उनलाई आफ्नो छोरो त्यही सानो रेडियोभित्र भएझैं लाग्थ्यो। जतनले राख्थिन् रेडियो।
भन्छिन्, ‘रेडियो झर्यो भने भुइँमा आफ्नै छोरालाई दुख्छ भने जस्तो लाग्थ्यो।’
त्यो समय रेडियो च्यापेर झारेका आँसु, रेडियोसँगै मारेका साउती, रेडियोलाई नै मुसारेर छोरालाई माया गर्थिन् उनी।
हिजोआज त पवित्राका गीत पनि रेडियोमा बज्छन्। टेलिभिजनमा देखिन्छन्। युट्युबमा भेटिन्छन्। खुसीले फुरुङ्ग हुन्छ पवित्राको मन।
‘छोराछोरीका लागि जिन्दगीमा धेरै दुःख गरेको छु,’ उनी भन्छिन्, ‘त्यही देखेर भगवानले पनि सबै छोराछोरी ज्ञानी र सफल बनाइदिएका छन्।’
Shares
प्रतिक्रिया