उनका बुबाका दुई श्रीमती। उनकी आमा र सौतेनी आमा तीन महिनाको फरकमा सुत्केरी भए। सौतेनी आमाले छोरा जन्माइन्, उनकी आमाले छोरी। त्यसअघि नै निर्मला शर्माकी आमाले दुई छोरी जन्माइसकेकी थिइन्। भाइ जन्माउने आमाले परिवारमा पाएको महत्व, मायालु वचन उनकी आमाले पाउन सकिनन्। निर्मला आमामाथिको विभेद हेर्दै हुर्किइन्।
उनका बुबा शिक्षक थिए। गाउँघरमा शिक्षक भनेको जान्नेसुन्ने, समाजको अगुवा नै मानिन्थे। तर, निर्मलाकी आमाले एउटा छोरा नजन्मिउन्जेलसम्म सुख पाइनन्। र, दुई आमाबाट १० सन्तान जन्मिए।
आर्थिक हिसाबले मध्यमवर्गीय परिवार। बुबाले छोरीहरु पढाउँदिनँ भनेका भए कर गर्ने कोही थिएनन्। तर, उनका बुबाले सबै छोराछोरीलाई सँगै लिएर गए आफैँले पढाउने स्कुलमा। त्यसैले निर्मलाले पनि पढ्ने अवसरबाट बञ्चित हुनु परेन। छोरीहरुलाई मात्रै होइन, उनका बुबाले आफ्ना दुई श्रीमतीलाई पनि घरमै पढाए र साक्षर बनाए।
निर्मला हुर्किंदै जाँदा जमाना बदलिँदै थियो। उनका बुबा पनि आफ्नी छोरीले धेरै पढेर राम्रो जागिर खाएको सपना त देख्थे। तर, धेरै छोरी भएकाले आफूले सक्ने हुँदै उनीहरुको बिहेबारी गरिदिन उनी हतारिए। त्यसैले बुबाले निर्मलालाई १६ वर्षमै अन्माइदिए।
आफ्नी छोरी माग्न आउँदा केटा पक्षसँग उनले सर्त राखे, ‘छोरीको पढ्ने रहर सकिएको छैन। खर्च मै गरुँला, उसले पढ्न पाउनु पर्छ।’ बिहे गर्दा निर्मला आईए पढ्दै थिइन्। दुरान फर्काउन माइत गएकी निर्मला आईए पास गरेपछि मात्रै घर फर्किन्। उनका श्रीमानले सल्लाहमा श्रीमतीलाई पढ्न माइत छाडेर आए।
घर फर्किएपछि पनि निर्मलाले पढाइ छाड्नु परेन। उनी बीएड पढ्न कीर्तिपुर भर्ना भइन्। स्वभाव भने केटाकेटीकै जस्तो थियो। साथीहरुसँग दौडिने। एक घरको छतबाट अर्को घरको छतमा उफ्रिने, साइकल चलाएर हिँड्ने। त्यही बेला दुई पटक उनको गर्भ खेर गयो। दुवै पटक निक्कै रक्तश्राव भएर जचाउँन जाँदा मात्रै उनले थाहा पाइन्।
बीएड अन्तिम वर्षको पढाइ चल्दै थियो। उनलाई खाना गन्हाउन थाल्यो। वाक्वाकी लाग्ने, हिँड्न मन नलाग्ने। सधैँ रमाइलो गर्ने साथीसँग पनि बोल्न मन नलाग्ने भएपछि जाँच गराइन्। प्रेग्नेन्सी रिपोर्ट पोजिटिभ आयो। निर्मला खुसी हुन सकिनन्। उनको सपना थियो, जागिर खाएर मात्रै आमा बन्ने। उनलाई लाग्यो, ‘अब मेरो पढाइ यहीँ सकिने भयो। जागिर त सपना मात्रै भयो।’
तर, गर्भावस्थाकै कारण पढाइ छोड्नु परेन। बीएड अन्तिम वर्षको परीक्षा दिएपछि उनले छोरी जन्माइन्।
छोराको कामना
छोरी पाएका कारण आमाले भोगेको विभेद देख्दै हुर्किएकी निर्मलाले आफ्नो गर्भमा हुर्किरहेको भ्रुण छोरा होस् भनेर निक्कै कामना गरिन। उनी झस्किरहन्थिन्, ‘छोरी जन्माएर मैले पनि आमाले जस्तै वचन सहनुपर्यो भने!’ गर्भवती भएदेखि नै आफन्तले भन्न थालिसकेका थिए, ‘छोरीछोरी जन्माउने आमाकी छोरी, यसले पनि छोरी नै पाउँछे।’ आफन्तका कुरा सुनेर उनको मन नमज्जाले बिझाउँथ्यो।
काठमाडौँमा निर्मला र उनका श्रीमान् मात्रै बस्थे। गर्भावस्था विशेष समय हो भन्ने दुवै जनालाई राम्रो ज्ञान थिएन। कहिले आफूसँग नभएको कुरा खान मन लाग्थ्यो। त्यतिबेला श्रीमानको पनि राम्रो कमाइ थिएन। उनी त विद्यार्थी भइहालिन्। आँपको सिजन थियो। मन लागेर पेटभरि आँप खान नपाएको त्यो समय अहिले उनी आफैँलाई कथा जस्तो लाग्छ। यो समयले लगभग ३ दशकको यात्रा गरिसकेको छ।
सुत्केरी हुने दिन नजिकिँदै गर्दा उनलाई सन्तान कसरी हुर्काउने भन्ने चिन्ताले निक्कै सताएको थियोे। सन्तान हुर्काउनेभन्दा ठूलो चिन्ता थियो मास्टर्स पढ्न पाइँदैन कि भन्ने। गर्भावस्थाको बारेमा खुलेर बोल्ने चलन थिएन। पेट देखिँदा नै लाज लाग्थ्यो। गर्भावस्थाको विषयमा छलफल गर्ने, सजिला अप्ठ्यारालाई लिएर श्रीमानसँग सल्लाह गर्ने पनि भएन। गर्भावस्थाको समय बढ्दै जाँदा सुत्न नसकेको क्षण सम्झिँदा निर्मलालाई अहिले पनि असहज महसुस हुन्छ। अन्तिमका तीन महिना त उनी लगभग निदाउँनै सकिनन्। उनलाई लाग्थ्यो, ‘यो बच्चा छिटो जन्मिए म आनन्दले सुत्थेँ।’
डाक्टरले डेलिभरीका लागि दिएको समय एक साता पर गइसकेको थियो। त्यो दिन पनि दिनभरी असनमा घरमा चाहिने सामान किनमेल गरिन्। खाना खाएर सुतेपछि उनलाई लगातार ट्वाइलेट जान मन लाग्यो। उनी बसेकै घरमा डेरा बस्ने बुढी आमाले एकदिन कुरै कुरामा भनेकी थिइन ‘तारनतार ट्वाइलेट जान मन लाग्यो भने व्याथा लागेको हो।’ आमैको कुरा सम्झिन्। श्रीमानलाई भनिन् र त्यही रात पाटन अस्पताल भर्ना भइन्।
अस्पतालमा उनी जस्तै आमा हुने तयारीमा थुप्रै महिला थिए। सबै महिलाका छेउमा बिरामी कुरुवा थिए। उनको छेउमा मात्रै कोही थिएन।
‘समय पनि कस्तो भने घरमा आमा, सासूआमालाई भन्न लाज लागेर नबोलाको,’ उनी भन्छिन्। श्रीमान प्रसूति वार्डमा छिर्न पाएनन्। अरुका आफन्तले बिरामीको गोडा मिचिदिन्थे। सुत्केरी व्याथाले च्यापेर कराउँदा ढाडस दिन्थे। निर्मला भने एक्लै भएकाले पनि होला व्याथाले च्याप्दा पनि रुन सकिनन्।
अब मरिन्छ कि भन्ने अवस्थामा पुगेका बेला उनले आमालाई सबैभन्दा धेरै सम्झना गरिन्। उनकी आमाले भनेकी थिइन्, ‘तिमीहरु सुत्केरी हुँदा मैले देख्नु नपरोस्।’ आमाले किन त्यसो भनेकी होलिन् भन्ने लाग्थ्यो उनलाई। त्यसबेला थाहा भयो, ‘आफ्ना सन्तान मृत्युको मुखमा पुगेको हेर्ने हिम्मत नभएर नै आमाले त्यसो भनेकी रहिछन्।’
अस्पताल भर्ना भएको भोलिपल्ट निर्मलाले छोरी जन्माइन्। नर्सले उनकी छोरी हातमा लिएर भनिन्, ‘तपाईंजस्तै राम्री छोरी जन्मिएकी छिन्।’ निर्मलालाई आफ्नो रुप पहिलो पटक मन परेन्। छोरीलाई हेर्न सकिनन्। निक्कैबेर आँखा बन्द गरिन्। लामो सुस्केरा तानेर भनिन्, ‘फेरि बच्चा जन्माउनु पर्ने भयो।’
नौ महिनाकी छोरी आमाकहाँ छाड्दा
पहिलो बच्चा, कच्चा उमेर। आमा र सासू दुवै गाउँमा। फोनको सहजता पनि थिएन, नजानेको कुरा सोध्न। निर्मलालाई आफ्नो र बच्चा दुवैको ख्याल गर्न मुस्किल भयो। बच्चा सँगै लिएर सुत्दा किचिने हो कि भनेर डर लाग्थ्यो। छोरीलाई अलग सुताउँथिन्।
नौ महिनापछि छोरीलाई उनले आमाकहाँ लगेर छाडिन् र काठमाडौं फर्केर मास्टर्समा भर्ना भइन्। छोरी भेट्न माइत गइरहन्थिन्। छोरी आमासँग भन्दा हजुरआमासँगै खुसी देखिन्थिन्। उनकी छोरीलाई आमाले किनेदिने लुगा मन पथ्र्यो। लगिदिएको पापा मन पथ्र्यो। तर आमाको काख मन पर्दैनथ्यो। उनले दिएको चकलेट खाइसकेपछि दौडिएर हजुरआमासँग पुग्थिन्। राति सुत्न पनि उनीसँग आउँदिनथिन्। निर्मलाको मन नमज्जाले हल्लिन्थ्यो। आफन्तले भन्थे ‘सानैमा यसरी छोडेकी छस् छोरी तँबाट टाढा हुन्छे।’ मन दुखेपनि सम्हालिएर स्वावलम्बी बन्नु थियो र देखाउनु थियो, ‘छोरी जन्माउँदा आमालाई हेला गर्ने समाजलाई छोरी पनि सक्षम छन् भनेर।’ निर्मला आँसु लुकाउँदै छोरी छोडेर फर्किन्थिन्। देख्नेहरुले कठोर भने होलान्। बाल्यकालमा सन्तान छोड्दा उनको मुटुमा परेका गाँठा अहिले पनि राम्रोसँग फुकिसकेका छैनन्।
मामा घर बसेकी छोरी हुर्कंदै थिइन्। काठमाडौंमा निर्मलाको मास्टर्सको पढाइ सकिनै लागेको थियो। ‘अर्को बच्चा कहिले?’ आफन्तले सोध्न थालिसकेका थिए। ठूली छोरी २ वर्षकी हुँदा निर्मला पुनः गर्भवती भइन्।
झन् ठूलो पीडा
दोस्रो पटक आमा बन्नै लाग्दा उनमा झन् धेरै चिन्ता थियो। बच्चा त जन्मिएपछि हुर्किन्छन्, फेरि छोरी जन्मे के गर्ने? छोरा कसरी जन्माउने भन्नेबारे जेजति रुढी सुनेकी थिइन्, ती सबै पछ्याउने कोसिस गरिन्। राम्रो सपना देख्ने प्रयत्न गरिन्। हरेक समय छोराको कल्पना गरिन्।
तर, दोस्रो पटक पनि छोरी नै जन्मिइन्। उनको मन पनि टुट्यो। भन्छिन्, ‘जिन्दगीमा असफल भएँ भन्ने लाग्यो।’
छोरी जन्मिएकै कारण लामो समय निर्मला र उनका श्रीमानले आफन्तलाई थाहा दिएनन्। उनका श्रीमान् र परिवार पनि खुसी थिएनन्।
निर्मलाकी कान्छी छोरी जन्मिँदाताका उनका देवर–देउरानीका तीन भ्रूण खेर गएका थिए। निर्मलाकी देउरानी तेस्रो सन्तान वियोगको पीडाबाट गुज्रिरहेकी थिइन्। सबैले भने, ‘केही समय तिम्री छोरी देउरानीलाई देऊ। उनलाई सम्हालिन सजिलो हुन्छ।’ निर्मलालाई पनि लाग्यो, ‘मलाई पनि काममा निस्कनु छ। उसको मनमा पनि मल्हम लाग्छ भने छोरी दिन्छु।’
नौ महिनाकी आफ्नी छोरी उनले देउरानीलाई जिम्मा लगाइन्। झण्डै चार वर्ष उनकी सानी छोरी काकीसँगै बसिन्। बेलाबेला छोरी भेट्न पुग्थिन्। देवर–देउरानी ठूलोममी भन भनेर सिकाउँथे। निर्मलाको छाती चर्किन्थ्यो। मनमा भक्कानो फुट्थ्यो। लुकाएर मुस्कुराउँथिन्।
‘आफ्ना सन्तान पराया होलान भन्नेभन्दा ठूलो डर केही नहुने रहेछ,’ उनी भन्छिन्।
छोरीहरुसँगको दुरी
ठूली छोरी ६ वर्षकी र सानी छोरी ४ वर्षकी भएपछि दुवैलाई काठमाडौं ल्याइन्। निर्मलाले पत्रकारिता सुरु गरिसकेकी थिइन्। त्यतिबेला न्युजरुममा महिला थिएनन्। त्यसैले महिलामैत्री न्यूजरुम थिएन। ‘घरमा साना बच्चा छन्, अलि चाँडो निस्कन्छु’ भन्ने अवस्था थिएन्। त्यसैले उनले दुवै छोरीलाई होस्टेलमा राखेर पढाइन्।
आमाको काखभन्दा पर हुर्किनु। त्यसपछि होस्टेलको बसाइ। त्यहीकारणले उनका छोरीहरुले उनलाई आफ्नो मान्न सकेनन्। नजिक पर्न डराए। मनको कुरा मनमै लुकाए। आमाछोरीबीच लामो समय दुरी बन्यो। बीचमा उनलाई पटकपटक एउटा छोरो जन्माउने दबाब आइरह्यो। श्रीमानले पनि भनेका थिए, ‘अब एउटा ट्राइ गर्ने कि!’
पत्रकारितामा लागेपछि निर्मलाले महिला अधिकारका क्षेत्रमा काम गर्न थालिन्। अवसर पाए छोरा र छोरी फरक छैनन् भन्ने भावनाको विकास भइसकेको थियो। ठूली छोरी जन्मिएको झण्डै १५ वर्षपछि मात्रै हो उनलाई आफ्नो कोखप्रति गर्व लागेको। समाज, परिवार र श्रीमानले ‘छोरा...छोरा...’ भनिरहँदा निर्मलाले अठोट गरिन्, ‘म मेरा यिनै छोरीलाई सक्षम बनाउँछु।’
अहिले उनकी एउटी छोरी अमेरिकामा र अर्की अस्ट्रेलियामा छन्। समयक्रममा छोरीहरुले बुझेका छन्, आफ्नो करिअर बनाउन आवश्यक भएकाले आमाले हाम्रा लागि समय दिन पाउनु भएन।
निर्मला आफ्नो लागि करिअर सबैभन्दा महत्वपूर्ण भएकोमा ढुक्क छिन्।
‘बच्चा हुर्किंदाका खुसी टिप्ने बहानामा आफ्नो सम्पूर्ण जिन्दगी परनिर्भर नबनाउनुहोस्। समयले सन्तान हुर्काउँछ। उनीहरु आफ्नो करिअर विकासका लागि देश विदेश निस्कन्छन्,’ उनी भन्छिन्, ‘त्यतिबेला छोराछोरी मात्रै भनेर बस्ने आमाहरु एक्ला हुन्छन्। कम्तीमा सामाजिक रुपमा सक्रिय जीवन बाँच्नु भयो भने छोराछोरी आफ्नो करिअर विकासमा घर छोडेर हिँडेको दिन पनि आमाहरुका लागि आफूले गरेका सामाजिक तथा आर्थिक उपार्जनका काम साथी हुन्छन्।’
Shares
प्रतिक्रिया